८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लिपुलेकको विषयमा कांग्रेसले भन्योः सडक विस्तारबारे वक्तव्य मात्रै निकालेर पुग्दैन



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै कुटनैतिक रुपमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिपुलेक बारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै कांग्रेसले यसबारे सरकारको धारणा माग गरेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे सरकारको धारणा माग गर्दै उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न, सरकारको दायित्व पुनः स्मरण गराएको थियो ।’

विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालकै हुन् । सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छँदा यी भू–भागबारे कांग्रेसले सदैव प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ ।’

विज्ञप्तिमा भनिएको छ , ’नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद् छ । राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ ।

नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा कांग्रेस सरकारको साथमा रहनेछ ।’

प्रकाशित मिति : २८ बैशाख २०७७ आइतबार ००:००  १ : २९ बजे