४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दशगजामा अलपत्र नेपालीलाई तत्काल नल्याउने हो भने जनविद्रोहको खतरा छः अध्यक्ष कुर्मी



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले दशगजामा अलपत्र नागरिकलाई तत्काल ल्याउन नसके जनविद्रोह हुने चेतावनी दिनुभएको छ । सयौं नेपाली नागरिक दशगजामा अलपत्र परेको र उनीहरुलाई खान, बस्न समस्या भएको भन्दै यिनीहरुको तत्काल व्यवस्थापन तर्फ संघीय सरकार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिसंग सोमबार विहान कुराकानी गर्दै गाउँपालिका अध्यक्ष कुर्मीले रोगले भन्दा भोकले मर्ने खतरा भए सबै विद्रोहमा उत्रिने खतरा रहेको उहाँले चेतावनी दिनुभयो ।

‘५ दिन देखि दशगजामा सयौं नागरिक अलपत्र छन । उनीहरु नेपाल आउँन पाएका छैनन् । मौसमले बेला-बेला च्यालेन्ज गरिरहेको छ । खाना खान पाएका छैनन् । गोजीमा कतिपयको एक रुपैयाँ पैसा छैन् । खुला आकाश मुनि बस्दा अन्य रोगको जोखिम उत्तिकै छ । यो बेला सरकारले तत्काल व्यवस्थापन नगरे विद्रोहमा उत्रिनुको विकल्प बाहेक अरु के हुन सक्छ ? उहाँले भन्नुभयो’, ‘सरकार यो विषयमा गम्भीर बनोस । नत्र सम्हाल्न गाह्रो हुनेछ । ’

दशगजामा रोकेर राखेका छौं भनेपनि कतिपय लुकिछिपि नेपाल प्रवेश गरेको भन्दै यसले अर्को खतरा निम्त्याईरहेको उहाँले बताउनुभयो । सरकारले दशगजामा रोकेर राखे भनेपनि लुकिछिपि आउँने बढेको बढैँ गरेको भन्दै उहाँले गाउँ गाउँमा कोरोनाको संक्रमण झन बढीरहेको उहाँले बताउनुभयो । दशगजामा रहेका नेपालीलाई बरु छुट्टै क्वारेनटाइनमा व्यवस्थापन गरे कोरोना संक्रमण कम हुने र नेपाली नागरिकले दुःख नपाउने भन्दै गाउँपालिका अध्यक्ष कुर्मीले यस विषयमा केन्द्र र प्रदेश सरकार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्थानीय सरकारले दशगजामा अलपत्र परेकालाई खानासम्म खुवाउने गरेपनि अब सम्भव नहुने उहाँले बताउनुभयो । दैनिक दशगजामा आउने बढी रहेका र खाना पकाएर खुवाउने व्यक्ति नै कोरोनाको डरले नजाने गरेको भन्दै अब अधिकांश अलपत्र नागरिक भोकले मर्ने खतरा बढेको उहाँले सुनाउनुभयो ।

पहिला नेपाल आएकाहरु घरमै लुकेर बस्ने गरे पनि अहिले आउनेहरु अनिवार्य क्वारेनटाइनमा बस्न थालेको भन्दै उनीहरुलाई क्वारेनटाइनमा राख्नुको विकल्प नभएको उहाँले जनाउनुभयो । ‘दशगजामा अलपत्र नागरिकले हामीलाई नेपाल ल्याएर क्वारेनटाइनमा राख्न भनिरहेका छन् उहाँले भन्नुभयो, उनीहरु घर आउँन खोजेका होइनन, देश आउँन खोजेका हुन्, यो कुरा बुज्न जरुरी छ ।’
गाउँपालिका अध्यक्ष कुर्मीसंगको अन्तर्वार्ता सुन्न यहाँ क्लीक गर्नुहोला ।

प्रकाशित मिति : २९ बैशाख २०७७ सोमबार ००:००  १० : ४२ बजे