६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कपिलवस्तुमा लकडाउन भन्दा खुकुलो सिल !



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेपछि जेष्ठ २० गतेसम्म सिल गरिएको छ । तर, सिल गरिएपछिका बजारका दृश्यहरुलाई हेर्दा लकडाउनभन्दा खुकुलो देखिएको छ । बुधबार तौलिहवाको भीड देख्दा लकडाउन (बन्दाबन्दी) खुलेको जस्तो भान हुन्थ्यो । सर्वसाधारणहरु विदेशबाट आएको पैसा लिन सयौंको संख्यामा रेमिट्यान्स सेन्टर अगाडि भिड गरेर उभिएका थिए । यस भीडमा कसैले पनि सामाजिक दुरी कायम गरेको देखिएको थिएन । यो भीड पछि थप कोरोना फैलने हो कि भनेर सर्वसाधारण थप त्रसित बनेका छन् ।

भीड मध्येका एक जनाले हातमुख जोर्न पैसा अभाव भएपछि छोराले पठाएको पैसा लिन बाध्य भएर रेमिट्यान्समा आएको मायादेवी अनलाइनलाई बताए ।

त्यस्तै अरुले पनि लकडाउनले गाँस, बास नै खोसेको भन्दै पैसा झिक्न विहानै तौलिहवा आएको बताए । भीड गर्नेहरु प्रायगरी तौलिहवा आसपासकै रहेका थिए । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तौलिहवा नै भएपनि बुधबार विहानको भीडमा कुनै एक्सन लिन सकेनन् । सर्वसाधारणको ‘सेन्टिमेन्ट’लाई बुझेर केहि गर्न नसकिएको स्रोतले बतायो ।

एक सुरक्षा स्रोतका अनुसार प्रशासनले अनूमति दिएको विहानको तीन घण्टाको समयमा सामाजिक दुरी कायम गरेर सर्वसाधारण बसेको दाबी छ । मिडियामा आएजस्तो बेवास्था गरिएको कुरा सत्य नभएको बताउँदै अनुमानित भन्दा बढी भीड भएको कुरा उक्त सुरक्षा स्रोतले मायादेवीलाई बतायो ।

आजको दिन बैंक र रेमिट्यान्स खुल्ने भन्ने समाचारका कारण पनि सर्वसाधारणले ठूलो भीड गरेका थिए । एकाविहानै यति धैरै संख्यामा भीड देखिएपछि तितरवितर गर्दा अवस्था झन तनावग्रस्त हुन सक्ने भन्दै केहि गर्न नसकिएको बुझिन्छ ।

यसअघि लकडाउनको अवस्थामा वाणगंगा नगरपालिका–४ गजेहडामा सयौंको संख्यामा सर्वसाधारणको भीड देखिएको थियो भने जिल्ला सिल भएपछि यतिका धेरै संख्यामा सर्वसाधारणको भीड भएको यो पहिलो घटना हो । जिल्ला सिल भएको अवस्थामा यतिका धेरै सर्वसाधारणहरु कहाँबाट आए सरोकारवालाहरुले प्रश्न गरेका छन् ।

प्रशासनले हप्ताको तीन दिन (सोमबार, बुधबार र शनिबार) विहान ७ देखि १० बजेसम्म अत्यावश्यकीय सामग्री बेचविखन गर्ने पसल खुल्ला गर्न अनुमती दिएको छ । त्यसै कारण पनि बुधबार तीन घण्टा बजार खुल्ने थाहा पाएपछि तौलिहवामा सयौं सर्वसाधारणको भीड देखिएको बताइन्छ । तर, सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटाहरुले भने प्रशासनमाथि प्रश्न चिह्न खडा गरेको छ ।

मुलुकलाई जेष्ठ २० गतेसम्म लकडाउन गरिएको अवस्थामा कोरोनाको उच्च जोखिम बढेपछि यस जिल्लामा प्रशासनले कडा कदम चाल्दै सिल नै गर्ने निर्णय गर्यो । तर, त्यो सिल लकडाउन भन्दा खुलुलो भएपछि प्रशासनको कार्य क्षमतामाथि प्रश्न चिह्न खडा भएको हो ।

बन्दाबन्दीभन्दा सिल कठोर शब्द हो । सिल भएको अवस्था बन्दाबन्दी भएको अवस्था भन्दा थप कडा हुनुपर्नेमा जिल्लामा खुकुलो देखिएको छ । जिल्ला सिल भएपछि आवातजावत ठप्प हुनेपर्ने र अत्यावश्यकीय सेवामा पनि कडाई हुनुपर्नेमा चहलपहल देखिदा लकडाउन भन्दा सिल खुकुलो भएको प्रष्ट हुन्छ । यद्यपि सिल होइन भने तुरुन्त प्रशासनले निर्णय परिवर्तन गरेर सर्वसाधारणलाई जानकारी गराउनुपर्ने सरोकारवाला बताउँछन् । तथापी मंगलबार साँझ प्रदेश सांसदहरुको अनौपचारिक बैठक बसि लकडाउन खुकुलो पार्ने एक प्रकारको निर्णय भएको सूचना चुहिएपछि सर्वसाधारण बाहिर निस्कन थालेका हुन् ।

रेडियो मायादेवीको विहानी कार्यक्रम कोरोना विशेष संवादमा अन्तर्वार्ता दिनुहुँदै प्रदेश नं. ५ का सामाजिक विकास समिति सभापति दीर्घ नारायण पाण्डेयले पनि लकडाउनका बीचमा आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने, निर्माण सम्बन्धि कामहरु बन्द गर्न नहुने, किसानका लागि आवश्यक ट्याक्टर लगायतका कृषि साधनहरु चल्न दिनुपर्ने बताउँदै जिल्ला प्रशासन र सुरक्षा निकायलाई यो सर्कुलर गर्ने तयारी भएको बताउनुभयो । यस कारणपनि बजारमा बुधबार चहलपहल बढेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  १२ : १० बजे