५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

कपिलवस्तुः केन्द्र सरकारको आसै हराए पछि स्थानीय तहले आफैं किने किट



कपिलवस्तु ।
कपिलवस्तुका स्थानीय तहले आफैं कोरोनाको पीसीआर जाँच्ने भीटीएम किट खरिद गरेका छन् । उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलनसमेत आफैं सुरु गरेका छन् ।

संघीय र प्रदेश सरकारसँग क्वारेन्टाइनमा भएकाहरुको कोरोना जाँचका लागि पटक पटक माग गर्दासमेत किट अभाव देखाएर पन्छिएपछि जिल्लाका स्थानीय तहले आफैं किट खरिद गरेका हुन् ।
जिल्लाका विभन्न १ सय ८८ क्वारेन्टाइनमा बसेका ७ हजार ५ सय ४७ जनाको परीक्षणका लागि ढिलो हुने भएपछि स्थानीय तह आफैं तात्तिएका हुन् ।

जिल्लाका कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिकाले एक एक हजार थान भीटीएम किट किनिसकेका छन् । कार्यपालिका बैठकबाट बजेट छुट्याएर डब्लुएचओले प्रमाणित गरेको किट खरिद गरिएको नगरपालिकाहरुले जनाएका छन् ।

महराजगञ्ज नगरपालिकाले १ हजार २ सय थान, बुद्धभूमि नगरपालिकाले एक हजार थान, कृष्णनगर नगरपालिकाले २ हजार थान र यशोधरा गाउँपालिकाले १ हजार २ सय थान किट किन्ने प्रकृया अघि बढाएको छ ।

जिल्लाका अन्य पालिकाले समेत किट किन्ने तयारी अघि बढाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

समयमै जाँच नगरिए क्वारेन्टाइनमै संक्रमण फैलने डरले यहाँका स्थानीय तहहरु आफंै किट खरिद गर्न तात्तिएका हुन् ।

शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले भ्याट सहित ३९० रुपैयाँ पर्ने भीटीएम किट खरिद गरी सय जनाको स्वाबसमेत संकलन गरिएको बताउनुभयो । जाँचका लागि काठमाण्डौ पठाइएको उहाँले जानकारी दिनुभयो । आजपनि झण्डै २ सय जनाको स्वाब संकलन गरिएको उहाँले बताउनुभयो ।

कपिलवस्तु नगरपालिकाले पनि १ सय ५ जनाको स्वाब आफ्नै खरिद गरिएको किटबाट जाँच अघि बढाइसकेको छ । महराजगञ्ज नगरपालिकामा जिल्लाको सबैभन्दा बढी १ हजार ६३० जना क्वारेन्टाइनमा छन् ।

किट अभाव हुँदा क्वारेन्टाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन सकेको छैन । विहीबारसम्म यहाँ ६० संक्रमित भेटिएका छन् ।

यता केन्द्र र प्रदेश सरकारले कपिलवस्तुका क्वारेन्टाइनमा रहेका ७ हजार ५ सय जनाको जीवनसँग खेलवाड गरेको मानवअधिकारकर्मीहरुको आरोप छ ।

मधेस मानवअधिकार गृहका अध्यक्ष रवि ठाकुरले संघ र प्रदेशले क्वारेन्टाइन बसेकाहरुको समयमै जाँच नगर्दा भित्रैबाट कोरोना फैलन सक्ने बताउनुभयो ।

स्थानीय तहमा स्रोत अभाव भएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या सिर्जना भएको छ । ७ दिन क्वारेन्टाइन राखेर जाँच पछि घर पठाउनुपर्नेहरुलाई २० दिनसम्म राख्दा व्ययभार बढेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : ५३ बजे