रेडियो   टिभी

हामी किन उद्यमी बन्न सकेनौं !


गोपाल घिमिरे ।
अहिले संसारभर महामारीको रुपमा फैलिएको (कोविड–१९) को नकारात्मक प्रभाव विश्वको अर्थ व्यवस्थामा अवश्य पनि पर्ने छ । त्यसबाट हाम्रो देश पनि अछुतो रहने कुरै भएन । हाम्रो जस्तो सानो आकारको अर्थतन्त्र र कुल ग्राहस्थ उत्पादनको धेरै प्रतिशत कृषिको योगदान भएको देशको लागि उद्यमी जन्माउनु र उद्यमशिलताको विकास गर्नु अत्यन्तै महत्वपूर्ण छ र हुनुपर्छ । अमेरिकामा सन १९८० को आर्थिक संकुचनको समयमा करिब ३४ मिलियन रोजगारीहरु गुमेको थियो । त्यो समयमा करिब ३२ मिलियन नयाँ ब्यबसायहरु शुरु गरियो जसले गर्दा करिब ४५ मिलियन नंया रोजगारी सिर्जना गर्न सफल भयो । रोचक कुरा के छ भने ती सबै साना तथा मझौला ब्यबसायहरु थिए । बर्तमान अवस्थामा करिब ७ लाख नेपाली युवाहरुले विदेशबाट आफ्नो रोजगारी गुमाउने सम्भावना छ । ती युवाहरुको लागि नेपालमा रोजगारी सिर्जना गर्नु वा तिनीहरुलाई स्वरोजगार बनाउनको लागि सरकारले साना तथा मझौला ब्यबसाय स्थापना गर्न र युवाहरुलाई उद्यमी बनाउने दिशामा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ ।

समयको प्रवाहसंगै मानव सभ्यतामा पनि क्रमिक विकास भएको पाइन्छ । मानवले संसारमा आफ्नो अस्तित्व स्थापित गर्नको लागि समयसंगै कहिले कलाकारिता गर्नु पर्यो, कहिले दार्शनिक, कहिले सम्राट, कहिले सामन्त त कहिले उद्यमी । उद्यमशिलताको आफ्नै ऐतिहासिक विकासक्रम छ । सामन्ती युग पछि युरोपमा ब्यापारीहरुको बीचमा एउटा छुट्टै विशेषता भएका व्यक्तिहरु जसले नयाँ सिर्जनाहरु सृजित गरे जसका नयाँ विचारहरुको कार्यान्वयनले समग्र मानव जातिको जीवन गुणस्तरीय बनाउन सहयोग गर्नेलाई उद्यमी भन्न थालियो । चाहे त्यो ब्रिटिश औद्योगिक क्रान्तिको पूर्व सन्ध्यामा अविष्कार गरेको टेक्स्टाइल मेशिन होस् वा १९३० तिर अमेरिकामा अटोमोबाइल एसेम्बल लाइनको शुरुवात नै किन नहोस त्यो उद्यमशिलताको कारण नै सम्भव भएको थियो ।

आजको दिनमा नेपालको अर्थतन्त्रको सैद्धान्तिक आधार भनेको मिश्रित अर्थतन्त्र नै हो जहाँ केहि कुरा पूजीबादी अर्थ व्यवस्थाका सैद्धान्तिक पक्षहरु समेटिएको हुन्छ भने केहि समाजबादी अर्थतन्त्रका सैद्धान्तिक पक्षहरु समाबेश गरिन्छ । यद्यपी आजको विश्व अर्थतन्त्र आधारभूत रुपमा बजार अर्थतन्त्र मै अडिएको छ । पूजीबादी अर्थ व्यवस्थामा बजारतन्त्र प्रणालीले सम्बन्धित अर्थ व्यवस्थालाई दिशा निर्देश गर्दछ । बजारमा आफ्नो पकड बलियो बनाउनको लागि उत्पादित वस्तुको गुणस्तर, वस्तुको मूल्य, वस्तुको नयाँपन आदि जस्ता पक्षले प्रभाव पार्दछ ।

नवप्रवर्तनात्मक विचार, सृजनशील क्षमता, लगानी गर्न सक्ने सक्षमता, जोखिम बहन गर्न सक्ने साहस, नयाँ आविष्कार गर्न सक्ने अथाह धर्यता आदि जस्ता गुणहरुले मात्र एउटा व्यक्ति उद्यमी बन्न सक्छ ।

हाम्रो मुलुकले पनि उद्यमशिलताको उच्चतम विकासले मात्र आजको विश्व अर्थतन्त्रमा अरु मुलुकहरुसंग संगसंगै हिड्न सक्छौ । यद्यपी हाम्रो मुलुकमा सक्रिय रुपमा काम गर्न सक्ने युवा मानव संसाधन, अनुकुल प्राकृतिक वाताबरण, उपयुक्त बजार आदि हुँदा हुँदै पनि किन हामीले अपेक्षाकृत उद्यमशिलताको विकास गर्न सकेनौ उद्यमी जन्माउन सकेनौ ?

भौगोलिक तथा राजनैतिक कारण

भौगोलिक रुपमा हाम्रो देश ‘ल्याण्ड लक्ड’ हो । हाम्रो कुनै सीमाले पनि समुन्द्रलाई छोएको छैन । समुन्द्रको सामिप्यता नहुनु भनेको बस्तु उत्पादनको लागि चाहिने कच्चा पदार्थको सहज आवागमन नहुनु साथै उत्पादित बस्तुको बजारसम्मको पहुँचको लागि पारबहन सुबिधा नहुनु हो । जसका कारणले पनि हामी बाहिरी विश्वको संस्कृति, विकास र उनीहरुको साम्राज्यबाट कम प्रभावित भयौं । नराम्रा कुराहरुबाट प्रभावित हुनु त राम्रो नै भयो तर केहि राम्रा कुराहरु सिक्नबाट पनि बन्चित भयौ । अहिलेसम्म हामी अपेक्षाकृत उद्यमशील बन्न नसक्नुको थुप्रै कारणहरु मध्ये यो पनि एउटा महत्वपूर्ण कारण हो ।

संसार भरि आफ्नो साम्राज्य स्थापित गर्न विश्वका शक्तिशाली मुलुकहरुले विभिन्न मुलुकहरुमा आक्रमण गरे र आफ्नो अधिनमा राख्न सफल पनि भए तर शासकीय रुपमा हामी नेपाली बिदेशी साम्राज्यको अधिनमा बस्नु परेन । हाम्रै छिमेकी देश भारत पनि ब्रिटिश साम्राज्यको अधिनमा बस्नु पर्यो । ब्रिटिशहरुले भारतमा राज्य गर्दा आफ्नो स्वार्थको लागि निर्मित रेल सेवा होस् केहि उद्योगहरु साथै उनीहरुले छोडेको सांस्कृतिक, भाषिक, मनोबैज्ञानिक आदि प्रभावले गर्दा उद्यमी जन्माउने प्रक्रियामा हामी भन्दा अगाडी छन् ।

बिराटनगर जुट मिलको स्थापना पछि मात्र औपचारिक रुपमा हाम्रो देशमा उद्योगको शुरुवात भएको पाइन्छ । त्यस पछि जुन रुपमा उद्यमशिलताको विकास हुनुपर्ने हो त्यो गतिमा भएन । देशमा एकतन्त्रीय शासन प्रणाली पंचायती व्यवस्था होस् वा त्यो भन्दा पुर्व राणा शासन किन नहोस जसको प्रत्यक्ष प्रभाव उद्यमशिलताको बिकासमा पर्‍यो । यस्तो शासन प्रणालीमा लगानीको सुरक्षा, सम्पतिको सुरक्षा, आम्दानीको सुरक्षा जस्ता महत्वपूर्ण कुराहरु असुरक्षित हुन्छन ।

बहुदलिय व्यवस्थाको शुरुवातसंगै देश नयाँ युगमा नयाँ शासन प्रणालीमा प्रवेश गर्‍यो । तर पनि स्थिर सरकार निर्माण गर्नको लागि राजनीतिक दलहरु सक्षम हुन सकेनन । सरकारसंगै नीतिहरुमा परिवर्तन हुँदै गए । अस्थिर सरकार अस्थिर नीतिहरुको कारणले गर्दा अपेक्षा अनुसार उद्यमशिलताको विकास हुन सकेन । साथै कर्मचारीतन्त्रमा आधारभूत रुपमा गर्नुपर्ने सुधार गर्न नसक्नु पनि एउटा कारण हो । देशमा १० बर्षसम्म हिंसात्मक द्वन्द चल्यो जसले गर्दा सम्पूर्ण आर्थिक क्रियाकलापहरु ठप्प भए अझ ग्रामिण क्षेत्रका मानवीय बस्तिहरु बसाई सराइ गर्ने क्रम बढ्यो ।
सरकारले उपयुक्त उद्यमी मैत्री नीति निर्माण गर्न नसक्नु । सम्भावित उद्यमीले आफ्नो उद्यम दर्ता गर्ने देखि कर तिर्ने जस्ता जटिल सरकारी औपचारिकताले सामान्य उद्यमिलाई निराश मात्रै बनाउन सक्छ । लगानीको क्षेत्र निर्धारण गरि धेरै रोजगारी सिर्जना हुने नयाँ खालका उद्योगहरु र युवा उद्यमीलाई प्रोत्साहन गर्ने खालको नीतिको अभाव हुनु ।

अन्त्यमा

उच्च जोखिम बहनकर्ता, नवप्रवर्तानात्मक विचार भएको, सृजनशील, वस्तुको मूल्य सिर्जना गर्ने, रोजगारी सिर्जना गर्ने साथै प्रतिफल प्राप्त गर्न सक्ने लगानीकर्तालाई उद्यमी भनिन्छ । उद्यमशिलताको विकासको लागि राज्यले उचित वातावरण सिर्जना गरिदिनु पर्दछ । उपयुक्त पूर्वाधारहरुको निर्माण गरिदिनु पर्दछ । लगानीको उचित प्रतिफल प्राप्त गर्ने स्थिति सिर्जना गरिदिनु पर्दछ अनि मात्र उद्यमीहरु लगानी गर्न आकर्षित हुन्छन् । नेपालमा उपलब्ध बैंक हरुले आजसम्म गरेको परम्परागत प्रणालीमा सुधार ल्याउनु जरुरी छ र सरकारले त्यसको उचित नियमन र नियन्त्रण गर्नु पर्दछ । आज पनि बैंकको धेरै जसो लगानी अनुत्पादक क्षेत्रमा छ त्यसले न त रोजगारीमा बृद्धि गर्दछ न त राजस्वमै बृद्धि गर्छ । ग्रामीण उद्यमीहरुलाई प्राथमिकता दिनु पर्दछ । पर्यटन उद्योगको बिकासको लागि उपयुक्त नीति निर्माण र कार्यान्वन गर्न आबश्यक छ ।

साना तथा मझौला उद्यमीहरुको जन्म र तिनीहरुको विकासले मात्र विदेशबाट फर्किएका युवाहरुको रोजगारीको सम्बोधन हुन सक्छ । उनीहरुको मनोबैज्ञानिक स्थिति मजबुद बनाउनको लागि सकारात्मक उप्रेरणा दिने खालका तालिम उपलब्ध गराउने । कृषिमा आधारित उद्यमसंग कसरी युवाहरुलाई जोड्न सकिन्छ अध्ययन गर्ने र उचित तालिम दिने । सबैभन्दा महत्वपुर्ण कुरा लगानीको उचित व्यवस्थापन गरिदिने काममा सरकारले अभिभावकको भूमिका निर्बाह गर्नु जरुरी छ ।

निर्वाहमुखी हाम्रो कर्मलाई उद्यमसम्म जोडनको लागि, लाखौं बिदेशिएका युवाहरुलाई देश निर्माणमा सहभागी बनाउनको निम्ति, लाखौं ग्रामिण महिलाहरुलाई उत्पादनमा सामेल गर्नको निम्ति यो भन्दा राम्रो अवसर सरकारको लागि अरु कुनै हुने छैन । यसले सरकारलाई ५० औं बर्षसम्म स्थिर पनि राख्ने छ ।

प्रतिक्रिया दिनुहोस