६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

अपडेटः वाणगंगाका तीन जना कोरोना संक्रमितलाई रातारात पटना लगियो, बालिका भने अझै घरमै



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु वाणगंगाका तीन जना कोरोना संक्रमितलाई गएराती पटना स्वास्थ्य चौकी लगिएको छ । दिनभर संक्रमित राख्ने स्थान खोज्नमा व्यस्त रहेको वाणगंगाले राति अन्तः पटना लगेको हो ।

यसभन्दा अगाडी जनता मावि पिपरा, सिद्धार्थ क्याम्पस लगायतको स्थानमा राख्ने छलफल भएको थियो ।

कोरोना संक्रमित मध्ये तीन जनालाई पटना स्वास्थ्य चौकी लगिएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले मायादेवीलाई जानकारी दिनुभयो । सिद्धार्थ क्याम्पसको क्वारेनटाइनमा रहेका तीन जनालाई त्यहाँ लगिएको पौडेलले मायादेवीलाई जानकारी दिनुभयो ।

यता नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले पटना स्वास्थ्य चौकीमा आइसोलेशन तयार पारेर लगेको बताउनुभयो । ठाकुरापुरकी ८ बर्षीया बालिकालाई भने गएराति घरमै व्यवस्थापन गरिएको थियो । बालिका घरपरिवारबाट एक्लै बस्न नसक्ने भएकाले घरकै कोठामा आइसोलेशन बनाएर राखेको नगर प्रवक्ता पौडेलले बताउनुभयो । यता सञ्चारकर्मीलाई भने शुक्रबार साँझ नै तौलिहवाको आइसोलेशनमा लगिएको थियो ।

यसैबीच वाणगंगा नगरपालिकामा रहेका पाँचै जना कोरोना संक्रमितलाई शनिबार बुटवलस्थित कोरोना अस्थायी अस्पताल लैजाने नगरपालिकाले तयारी थालेको छ ।

यस क्षेत्रका प्रदेश सांसद विष्णु पन्थीको पहलमा प्रदेश सरकारले बनाएको आइसोलेशनमा लैजाने तयारी भएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । नगरपालिकामा व्यवस्थित आइसोलेशन नभएको र बनाउन समय लाग्ने भएपछि संक्रमितलाई वुटवल पठाउन लागिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  ६ : १० बजे