१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘लिग वानको निर्णय मूर्खतापूर्ण कदम’



एजेन्सी ।
लियोनका अध्यक्ष जीन–मिचेल औलासले फ्रान्सेली लिग वानको निर्णयको आलोचना गरेका छन् । उनले सिजनका बाँकी खेल स्थगित गर्ने निर्णयको आलोचना गर्दै मूर्खतापूर्ण कदमको संज्ञा दिएका छन् ।

कोरोना भाइरसका कारण स्थगित भएको लिग वानलाई गत महिना पूर्ण रूपमा स्थगित गरिएको थियो । महामारीको कारण देखाउँदै फ्रान्सेली सरकारले सेप्टेम्बरसम्म देशमा कुनै पनि खेल गतिविधि गर्न नमिल्ने घोषणा गरेपछि लिग कमिटीले पूर्णरूपमा स्थगित गरेको थियो । स्थगितपछि लिग लिडर पेरिस सेन्ट जर्मन ९पीएसजी० लाई च्याम्पियन घोषणा गरेको थियो ।

युरोपेली शीर्ष पाँच लिगमध्ये यो एक मात्र त्यस्तो कदम थियो जुन पूर्वरूपमा स्थगित भएको थियो । यता महामारीकै बीच जर्मन बुन्डेसलिगा फेरि सुरु भएको छ भने स्पेनिस ला लिगा जुनमा सुरु हुने तयारीमा छ । त्यस्तै इटालियन सिरी ए र प्रिमियर लिगले पनि पुनः सुरु गर्न सरकारलाई आग्रह गरिरहेको छ ।

लिग वान अधिकारीहरूले सिजनका बाँकी खेलको विषयमा गरेको निर्णयले उनीहरूमा धैर्यताको अभाव रहेको देखिएको लियोनका अध्यक्ष औलासले बताएका छन् । “जब हामी देख्छौं कि हाम्रा नेताहरूको विभिन्न निर्णय र निष्कर्षहरूले कति घाटा हुन्छ भनेर अनि हामी भन्छौं कि हामी वास्तवमै एकदम मूर्ख छौं । यो शब्दका लागि मलाई माफ गर्नुहोस्,” औलासले भने ।

उनले यस निर्णयमा पुनर्विचार गर्नैपर्ने समेत बताएका छन् । स्पेनमा फेरि फुटबल फर्किने तयारी भइरहेका बेला फ्रान्समा पनि त्यसो गर्न सकिने उनको धारणा छ । स्पेन महामारीको सन्दर्भमा फ्रान्सभन्दा बढी प्रभावित छ । जुन विषय सबै फ्रान्सेली उच्च पदाधिकारहरूले बुझ्‍न जरुरी छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  १ : ५३ बजे