१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कोरोनाका कारण नेपालमा चौथो व्यक्तिको निधन



काठमाडौं ।
नेपालमा थप एक जनामा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन । वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । मृतक वृद्धको त्यहाँ पनि पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो । अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् । थाहाखबरबाट साभार

तस्बीरः फाइल

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  १२ : १३ बजे