२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

कपिलवस्तु वाणगंगा नगरपालिकाको पछिल्लो कोरोना रिपोर्ट सबै नेगेटिभ



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु वाणगंगा नगरपालिकाको पछिल्लो कोरोना रिपोर्ट सबैको नेगेटिभ आएको छ । नगरपालिकाले स्वाब संकलन गरेर राष्ट्रिय प्रयोगशाला काठमाडौंमा परिक्षणका लागि पठाएको मध्ये पछिल्लो रिपोर्ट सबैको नेगेटिभ आएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले ६६ जना भारतबाट आएर क्वारेनटाइनमा बसेकाको स्वाब संकलन गरेको थियो । यस्तै ठाकुरापुरबासी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधि गरेर ३५ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि काठमाडौं पठाएको थियो ।

जसमध्ये १३ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको छ । शुक्रबार ५ जना र शनिबार ८ जनामा कोरोना पुष्टि भएको थियो । जसमा एक जना कपिलवस्तु नगरपालिकाका थिए भने दुई जना बुद्धभूमि नगरपालिकाका रहेका थिए ।

नगर प्रबक्ता पौडेलका अनुसार क्वारेनटाइन भित्र रहेका ६६ जना मध्ये ६ जनामा मात्र कोरोना देखिएको छ । ५० जनालाई सोमबार घर पठाइएको छ । बाँकी १० जना कोरोना संक्रमितसंगै बसेका भएकाले घर पठाउन नमिल्ने भएको कारण क्वारेनटाइनमै राखिएको उहाँले बताउनुभयो । यी १० जनाको पुनः स्वाब परिक्षण गरिने उहाँले बताउनुभयो ।

यता ३५ जना समुदायमा गरिएको स्वाब मध्ये कपिलवस्तु नगरपालिकाका गरी तीन जना पत्रकार, एक जना जनप्रतिनिधि र एक जना बालिकालाई कोरोना देखिएको थियो ।

भारत हुँदै आएका २ सय ५० जना अझै नगरको क्वारेनटाइन रहेको नगर प्रवक्ता पौडेलले बताउनुभयो । यिनीहरुको स्वाब तुरुन्तै संकलन गरिने उहाँले जानकारी दिनुभयो ।

यता समुदायमा देखिएका ४ कोरोना संक्रमितको सम्पर्क व्यक्ति पहिचानको काम भोलि देखि सुचारु गरिने उहाँले जनाउनुभयो । उहाँको स्वाब पनि तुरुन्तै हुने उहाँले जनाउनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ६ : ०४ बजे