२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

नेपालमा कोरोना संक्रमितको संख्या ८ सय २५ पुग्यो, रौतहटमा थपिए ३५ जना



काठमाडौं ।
बुधबार रौतहटमा एकैपटक ३५ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले जानकारी दिनुभयो ।

संक्रमितहरूमा गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई नगरपालिकाका ७, देवाही गोनाही र कटहरिया नगरपालिकाका दुई दुई जना छन् ।

उनीहरूलाई जिल्लाकै आइसोलेसनमा राख्ने तयारी गरिएको छ । योसँगै संक्रमितको संख्या ८ सय २५ पुगेको छ । बुधबार बिहानै बाग्लुङका ६ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङमा देखिएका संक्रमितहरू पनि भारतबाट आएको खुलेको छ । हेटौंडाकी २५ वर्षीय संक्रमित युवती भने चितवनबाट घर पुगेको भन्ने छ । उनलाई भरतपुर अस्पतालको आइसोलेसन पठाइएको छ ।

अहिलेसम्म संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ । मंगलबार राति मात्र वीरगन्जमा उपचाररत २१ जना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  १ : ५५ बजे