१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुका तीन पालिकामा थपिए २३ जना कोरोना संक्रमित



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका तीन स्थानीय तहका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणबाट कोरोना संक्रमित पुष्टि भएका हुन ।

संक्रमित भेटिनेहरुमा विजयनगर गाउँपालिकाका ९ जना, कपिलवस्तु नगरपालिकाका १३ जना र महाराजगन्ज नगरपालिकाका एकजना छन् । यद्यपि कृष्णनगर नगरपालिकाबाट गरिएको कोरोनाको स्वाब परिक्षणमा अर्घाखाँचीका एक पुरुषमा संक्रमण पुष्टि भएको छ । उनको कृष्णनगरमा मृत्यु भएको थियो । भारतबाट अर्घाखाँची घर आउँदै गर्दा एक्कासी बेहोस भएर ढलेका उनको कोरोनाको कारण मृत्यु भएको हो । उनीसहित जिल्लामा विहीबार २४ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लाको विजयनगरको वडा नं ३ का २३ र ३० वर्षका पुरुष, वडा नं. ५ का वर्ष २६ का एक पुरुष, वडा नंं. ७ का २७ देखि ५२ वर्ष उमेरका ६ पुरुष रहेका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांङको प्रयोगशालामा स्वाब परीक्षण भएको हो । उनीहरु रामनरेश मावि क्वारेन्टाइनमा बसेका थिए ।

यस्तै कपिलवस्तु नगरपालिका वडा नंं. ७ का वर्ष २७ का पुरुष, वडा नंं. ८ का १७ वर्षदेखि ४४ वर्ष उमेरका १३ जना पुरुष रहेका छन् । यस्तै महाराजगन्ज नगरपालिका वडा नंं. ७ वर्ष ३० का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको सैनामैनाको क्वारेन्टाइनमा बसेका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको आरटी पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । संक्रमित सबैजना भारतका विभिन्न शहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३१ जना पुगेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  १० : २७ बजे