६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

दर्शकबिना खेल्न अनौठौ हुनेछः मेसी



एजेन्सी ।
बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आफू ला लिगाका लागि तयार रहेको बताएका छन् । उनले आफू खेल्न तयार भए पनि बन्द रंगशालामा आफ्ना समर्थकबिना खेल्दा अनौंठो महसुस हुने बताए ।

“हामी दिन प्रतिदिन प्रशिक्षणमा फर्कएका छौं । लिग सुरु भए सुरुवाती केही खेलहरू खेल्न पक्कै पनि अनौठो हुनेछ । तर, म फेरि पनि प्रतिस्पर्धा गर्नका लागि तयार छु,” मेसीले भने, “बन्द रंगशालामा खेल्न कोही पनि खुसी हुने छैनन् । यो नै पहिलो चुनौती हुनेछ । टिम तयारी हुनभन्दा पहिले हामीले व्यक्तिगत रूपमा आफूलाई तयारी गर्नुपर्छ । किनकि हामीले समर्थकबिना खेल्न मानसिक रूपमा तयार हुनुपर्छ ।”

उनले थपे, “लिग फेरि सुरु हुँदै छ । तर, प्राविधिक रूपमा यो त्यही पुरानै सिजन हो । मलाई लाग्छ कि सबै टोली र खेलाडीहरूले यसलाई विभिन्न रूपमा अनुभव गर्नेछन् ।”

छ पटकका बालोन डि’ओर विजेता मेसी यस वर्ष कोलम्बियामा आयोजना हुने तय भएको कोपा अमेरिकामा अर्जेन्टिनाको नेतृत्व गर्न तयार थिए । तर, प्रतियोगिता कोरोनाभाइरस महामारीका कारण अर्को वर्षसम्मका लागि स्थगित गरिएको छ ।

“कोपा अमेरिका स्थगित गर्नु ठूलो निराशा थियो । तर, पक्कै पनि यो व्यावहारिक र सबै भन्दा तार्किक पनि थियो । किनकि मैले यसलाई राम्ररी बुझेको छु,” मेसीले भने, “कोपा यस वर्ष मेरा लागि ठूलो कार्यक्रम हुने थियो र म फेरि यसमा खेल्ने आशा गर्दै थिएँ । तर, प्रतियोगिता स्थगित हुन पुग्यो ।”

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ९ : १६ बजे