७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

डब्लुएचओसँग अमेरिकाको सम्बन्ध समाप्तः ट्रम्प



एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग अमेरिकाको सम्बन्ध समाप्त गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस महामारीलाई लिएर डब्लुएचओले चीनलाई जिम्मेवार बनाउन नसकेको आरोप ट्रम्पको छ । उनले लगातार डब्लुएचओले चीनको पक्ष लिएको अभियोग लगाउँदै आएका छन् ।

महामारी नियन्त्रणमा डब्लुएचओले गरेको प्रयास पर्याप्त नभएको र बेलैमा सचेत नगराएका कारण आफ्नो देशमा महामारी अहिलेको स्तरमा फैलिएको अभियोग ट्रम्पको छ । तर ट्रम्पले महामारी नियन्त्रणमा नआउनुमा डब्लुएचओको कमजोर प्रयास कारक रहेको अभियोग लगाए पनि अमेरिकामा उनको प्रशासनले गरेको प्रयास पर्याप्त नभएको भन्दै गम्भीर आलोचना हुँदै आएको छ ।

डब्लुएचओसँगको सम्बन्ध समाप्त गर्ने घोषणा गर्दै ट्रम्पले भनेका छन्, ‘डब्लुएचओमाथि चीनको पूर्ण नियन्त्रण रहेको छ ।’अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रकम अब अरु संस्थालाई प्रदान गर्ने उनले बताएका छन् ।

डब्लुएचओका लागि अमेरिकाले अरु कुनै देश वा दातृ निकायले भन्दा धेरै सहयोग गर्दै आएको छ । सन् २०१९ मा अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन डलर भन्दा बढी सहयोग प्रदान गरेको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ८ : ५८ बजे