८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एक प्रेरणादायक अनुभूति–कोभिड १९ आतङ्क !



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना भाइरस अर्थात् कोभिड–१९ को आतंकका कारण विश्व समुदाय अहिले शताब्दीकै संकटको घडीमा छ । १ सय १५ मुलुक प्रभावित भएको यस अवस्थामा नेपाल पनि कोरोनाको चपेटामा चपेटिएको छ । नेपालका ५३ जिल्ला अहिले कोरोनाबाट प्रभावित भइरहेका छन् । शनिबारसम्म नेपालमा ७ जनाको मृत्यु भएको छ भने १४ सय १ जना संक्रमित रहेका छन् । कोरोनाको संक्रमणको यस महामारीमा नेपालमा सर्वसाधारणसंगै फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुक्षाकर्मी, संचारकर्मी पनि परेका छन् ।

यसैबीच कपिलवस्तु बाणगंगा नगरपालिकाका एक जना जनप्रतिनिधि पनि कोरोनाको संक्रमणमा पर्नु भएको छ । वडा नम्बर ५ का वडाध्यक्ष भिष्मराज भुसाल कोभिडको संक्रमणमा परेपछि अहिले एन्फा टेक्निकल सेन्टर बुटवलको आइसोलेसनमा हुनहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको नाम गोप्य राख्नु पर्ने जनाए पनि आत्मविश्वासी भुषालले भने आफू संक्रमित हुँदाको दिन देखि नै आफूलाई सार्वजनिक गर्नुभयो ।

आफ्नो नाम र ठेगाना गोप्य राख्दा समुदाय स्तरमा त्रास सिर्जना हुने भएकाले आफू सार्वजनिक भएदेखि नै उहाँले आइसोलेसन सेन्टरको एकान्त कोठाबाटै सामाजिक संजालमा बिभिन्न प्रेरणात्मक कुराहरु लेखिरहनु भएको हुन्छ । साथै कोरोनालाई आत्म विश्वासले जित्न सकिदो रहेछ भन्ने अनुभूति बाँडिरहनु भएका भुसालप्रति मायादेवीको तर्फबाट नमन र सलाम अर्पण गर्दै उहाँले सामाजिक संजालमा पोष्ट गर्नुभएको कोभिड–१९ अनुभूति, जसले हामीलाई कोरोनाबाट बच्न र यसमाथिका भ्रमहरु मेटाउन धेरै मद्धत मिल्नेछ भन्ने लागेर त्यो सामग्रीलाई यहाँ हुबहु साभार गरिएको छ ।

भिष्मराज भुसाल ।
मानवसङ्गको संसर्गबाट मानवलाई सर्ने सरुवा रोगहरु अरु पनि छन् । तर यति धेरै आतंक थाहा पाइएन । सुनिएन । पढिएन । कोभिड–१९ र यसको असरको बारेमा सिङ्गो मानव जातिलाई अत्यन्तै त्रसित बनाउने र यसको सामान्य प्रभावलाई पनि भयावहको रूपमा प्रस्तुत गर्न डब्लुएचओ ले नै सुरु गरेको हो । र, विभिन्न देशहरुले त्यही सिको गरेर मानिसलाई थुनेर मात्र नै संक्रमण नियन्त्रण गर्न सकिन्छ जस्तो गरे । लकडाउन भनेको बिनासित्ती मान्छे नडुलोस् । भीडभाड नगरोस् भनेर सचेतनाको लागि हुनुपर्नेमा मानिसलाई भयभित बनाउनको लागि भयो ।

हुँदा हुँदा अहिले त कोहि इन्डियाबाट आए कोरोनानै लिएर आएजस्तो, कसैलाई कुनै कारणले संक्रमण पोजेटिभ देखिएमा पुरै गाउँ नै संक्रमित भएजस्तो त्रासदी फैलाउन खोज्ने र पोजेटिभ रिपोर्ट आएको मान्छे मानौं कि अपराधी हो जस्तो गरि हेरिने, अनि कन्ट्र्याक्ट ट्रेसिङ्गमा परेको ब्यक्ति पनि कोरोना भाईरस बोकेरै हिडेको छ जस्तो गर्ने लगायतका नकारात्मक पाटो पक्षहरुमा सबैले ध्यान दिन जरुरी छ । सजगता जरुरी छ । सामाजिक दुरी जरुरी छ ।

हात धुने लगायतका सरसफाइ जरुरी छ । भीडभाड रोक्नु जरुरी छ । सकेसम्म मास्क प्रयोग गरेर हिड्नु जरुरी छ । भारत लगायत जोखिम युक्त स्थान र देसबाट आएका हरुलाई केही दिन सुरक्षित क्वारेन्टाइनमा बस्न बसाल्न जरुरी छ । संक्रमित देखिएमा सुरक्षित आइसोलेसनमा बस्न र खानपिनमा ध्यान दिन जरुरी छ ।

रिपोर्ट पोजेटिभ आउने बित्तिकै बित्यासै परेजस्तो गरि अस्पताल दौडाउन के जरुरी छ ? कुनै लक्षण चिन्ह बिना, कुनै समस्या बिना बिरामीहरुसंग मित लगाउन के जरुरी छ ? यस्ता अनुत्तरित प्रश्न धेरै छन् । यसबाहेक अनावश्यक अफवाह फैलाएर पुरै जनजीवन त्रसित र भयभीत बनाउन कुनै जरुरी छैन ।

पुनः एकपटक अनुरोध छ कि बाहिरबाट आउनेहरु सबैले कोरोना बोकेर आएका हँुदैनन् र कोरोना पोजेटिभ रिपोर्ट आएकाहरु अपराधी होइनन् । मसहित हामी सबैलाई चेतना होस् । त्रसित मानव जिवनलाई सहजतातर्फ लैजाऔँ । सजगता र सतर्कता सहित संक्रमण पनि रोकौँ । जनजीवन पनि सामान्य बनाऔँ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ७ : ४१ बजे