४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

कपिलवस्तुबाट बेच्न लगिएको तरकारी अर्घाखाँचीको डम्पिङ साइटमा मिल्काइयो (भिडियोसहित)



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोनाको त्रासमा कपिलवस्तुका किसान अर्घाखाँचीमा अपमान खेप्न बाध्य भएका छन । जिल्लाबाट बेच्नका लागि अर्घाखाँची लगिएको तरकारी सन्धिखर्कको एक डम्पिङ साइटमा मिल्काइएको छ ।

कोरोना संक्रमणको त्रास भएको भन्दै अर्घाखाँचीका प्रहरी प्रशासनसहितको संलग्नतामा तरकारी डम्पिङ साइटमा मिल्काइएको हो । अर्घाखाँचीका पत्रकार अशोक खनालले सामाजिक सञ्जालमा उक्त कुरा उल्लेख गरेपछि बल्ल थाहा भएको हो ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ मा बिगत लामो समयदेखि खाद्यान्न तथा तरकारी फलफूल बिक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका संचालक किशोर बानियाँले कपिलवस्तुका किसानबाट खरिद गरेको तरकारी डम्पिङ साइटमा फालिएको जनाइएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १० बाट बिक्रीवितरणको लागि पठाइएको हरियो तरकारी बोडी, करेला, लौका, घिरौला, भेन्डी टमाटर र खुर्सानी प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्ने भन्दै डम्पिङ साइटमा फालिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निर्देशनमा खटिएको प्रहरी टोलिले सदरमुकामको डम्पिङ साइडमा तरकारी नष्ट गरेको हो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  २ : १४ बजे