१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नेपालमा कोरोनाबाट थप २ वर्षीया बालिकाको मृत्यु



धनगढी ।
बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाभाइरसबाट मृत्यु भएको पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

‘बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनका बुवाको भने रिपोर्ट नेगेटिभ छ,’ अवस्थीले भने ।

बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको १६ गते नै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो ।

ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन् । चार दिनअघि बालिकाका आमाबुवाले उनलाई अस्पताल ल्याएका थिए ।

बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख रूपचन्द्र विश्वकर्माले जानकारी दिए ।

‘अस्पताल ल्याउँदा उनी बेहोस थिइन्,’ उनले भने ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । यीमध्ये ७ जनामा मृत्युपछिमात्र कोरोना पुष्टि भएको हो ।

सेतोपाटीबाट साभार

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  २ : ३९ बजे