१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

एकैदिन थपिए १ सय ६६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १५ सय नाघ्यो




मायादेवी अनलाइन, चार नम्बर ।

नेपालमा पुनः १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको प्रेस ब्रिफ्रिङको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सो कुराको जानकारी दिनुभयो ।

यससंगै जम्मा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । संक्रमित मध्ये १४ सय ५० जना पुरुष र १ सय १७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तीनजना पुरुषमा संक्रमण पाइएको छ। जसमा तनहुँका एकजना र स्याङ्जाका दुईजना रहेका छन् । नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साकै ५ जना संक्रमित भेटिएका छन् । उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जना नयाँ संक्रमित थपिएका छन् । जसमा कालिकोटको शुभमालिका गाउँपालिकाका १३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी कालिकोटकै महावैका ६ जना संक्रमित थपिएका छन् । जुम्लामै गरिएको परीक्षणमा दैलेखका ५ जना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २६ जना संक्रमित भेटिएका छन् । जसमा सल्यानका २५ जना र सुर्खेत बराह तालका एकजना रहेका छन् ।

धुलिखेलको ल्याबमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजनामा पोजेटिभ देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जना पोजेटिभ भेटिएका छन् । जसमा बाँके नरैनापुरका २ जना, खजुराका १ जना, नेपालगञ्जका ४ जना र बाँकै बैजनाथपुरका १ जनासहित छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ देखिएको छ। उनीहरु सबै सप्तरी राजगढका रहेका छन् ।

सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा ५ जना पोजेटिभ देखिएका छन् । जसमा बाजुरा अस्पतालमा ज्यान गुमाएकी २ वर्षीया बालिका र उनकी आमा पनि छन् । कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा झापा गौरीगञ्जका चारजना र विराटगरकी एकजना महिलामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा गरिएको परीक्षणमा धनुषाको मुखियापट्टीका २१ जनामा संक्रमित भेटिएका छन् । कपिलवस्तु महाराजगञ्जका ४ जना नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै रौतहतका २९ जना र सर्लाहीका १० नयाँ संक्रमित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ४ : २७ बजे