४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लेस्टरका प्रशिक्षणले जिते कोरोना



एजेन्सी ।
इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोडसले कोरोना भाइरसलाई जितेका छन् । रोडर्ससँगै उनकी श्रीमतीलाई गत मार्चमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । लामो समय होम क्वारेन्टाइनमा बसेपछि आफूहरुले कोरोना भाइरसलाई जितेर नयाँ जीवन पाएको रोडसले बीबीसीसँग बताए ।

४७ वर्षीय रोडर्सले आफूलाई कोरोना भाइरसको संक्रमण भएको खुलासा कोरोनालाई जितेपछि गरेका हुन् । स्थगित प्रिमियर लिग फुटबल जुलाई १६ बाट सुरु गर्ने तयारी भएपछि रोडसले आफूले कोरोना भाइरसलाई जितेको बताएका हुन् ।

४७ वर्षीय प्रशिक्षकले कोरोना भाइरसको संक्रमण हुँदा तान्जेनियाको सर्वोच्च शिखर ‘किलिमञ्जरो’ चढ्दाभन्दा बढी कठिन भएको बताए। ‘कोरोना भाइरसको संक्रमण भएपछि मलाई हिंड्दै कठिन भयो । जसले मलाई किलिमञ्जरो शिखर चढ्दाको सम्झना गरायो’, उनले भने, ‘तीन हप्तासम्म मैले कुनै गन्ध र स्वाद पनि थाहा पाइन । म निकै गलेको थिएँ । एक हप्तापछि मेरी श्रीमतीको अवस्था पनि उस्तै भयो । परीक्षणमा हामी दुवैलाई कोरोना भाइरसको संक्रमण भएको पत्ता लाग्यो ।’ प्रशिक्षक रोडर्सले च्यारिटीका लागि सन् २०११ मा किलिमञ्जरो हिमालको सफल आरोहण गरेका थिए । उनले स्वान्सी सिटीलाई पहिलो पटक प्रिमियर लिगमा पुर्‍याएपछि किलिमञ्जरो हिमाल आरोहण गरेका थिए ।

कोरोना भाइरसको संक्रमण देखिने रोडर्स दोस्रो प्रिमियर लिगका प्रशिक्षक हुन् । यस अघि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । प्रिमियर लिग फुटबल आगामी जुलाई १७ बाट सुरु हुँदैछ । गत मार्च १३ मा स्थगित भएको लिग जुलाई १७ बाट सुरु गर्ने सहमति जुटेको छ । प्रिमियर लिगमा लिभरपुल उपाधि नजिक पुगेको छ । लिभरपुलले २९ खेलबाट ८२ अंक जोडेको छ। २८ खेल सकाएको म्यानचेस्टर सिटीको ५७ र २९ खेल खेलिसकेको लेस्टर सिटीको ५३ अंक छ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७ सोमबार ००:००  १० : २५ बजे