२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

अपडेटः वाणगंगाका भनिएका संक्रमित नवलपरासीका, शिवराजका सबै भारतबाट आएका



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा मंगलबार थपिएका १७ जना संक्रमित मध्ये एक जना नवलपरासी जिल्लाका रहेको पाइएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले १७ जना संक्रमित मध्ये एक जना वाणगंगा-वडा नं. ४ का १६ बर्षीय पुरुष रहेको जनाएको थियो । तर, उनलाई पत्ता लगाउँदा नवलपरासी जिल्लाको रहेको पाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।उनलाई अहिले नवलपुरको बुलिङटारस्थित कवारेनटाइनमा राखिएको छ ।

यद्यपि ती संक्रमित वाणगंगाको क्वारेनटाइनबाट हालै मात्र आफ्नो गृह जिल्ला गएका थिए । वाणगंगा घर भएकाहरुसंगै भारतबाट आएका उनलाई नगरपालिकाले क्वारेनटाइनमा राखेर स्वाब संकलन गराएको थियो । पछि नवलपुरका जनप्रतिनिधिले ती व्यक्तिलाई आफ्नै क्वारेनटाइनमा लगेर गएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । नगरपालिकाबाट स्वाब संकलन गरी पठाएका अधिकाशंको रिपोर्ट अझै नआइसकेको उहाँले बताउनुभयो ।

यता शिवराज नगरपालिकाका पन्ध्र जना संक्रमित नै भारतबाट आएको खुलेको छ । नगरका ७ वडाका तीन महिलासहित थपिएका पन्ध्र संक्रमित भारतबाट सिधै क्वारेनटाइनमा आएको नगर प्रमुख नेत्रराज अधिकारीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । उनीहरु सबैको स्वास्थ्य अवस्था ठिकै रहेको आफुले सुनेको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिकाका १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा वडा नं ३ का २०, २३ र २४ बर्षीय तीन जना पुरुष रहेका छन ।

यस्तै वडा नं. ४ का १८ र ४२ बर्षका दुई पुरुष रहेका छन । वडा नं. ५ का २४ र २८ बर्षका दुई महिला र २१ र ३० बर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं. ६ का १९ बर्षीया १ महिलामा पनि कोरोना देखिएको छ ।

वडा नं. ८ का २८ बर्षीय एक जना पुरुष, वडा नं. १० का १७ बर्षीय एक जना पुरुष पनि संक्रमित भएका छन ।

यसैगरी वडा नं. ११ का १७, २३ र २९ बर्षीय तीन जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै महाराजगञ्ज नगरपालिकाको वडा नं १० का १२ बर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । मंगलबार १७ जना संक्रमित थपिएसंगै जिल्लामा कुल संक्रमितको संख्या ३ सय ३४ पुगेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ३ : ३० बजे