१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुका सीमामा सेना परिचालन, भारतबाट आएकाहरु सिधै होल्डिंग क्याम्पमा



मायादेवी अनलाइन, चार नम्बर ।
नेपालमै कोरोना भाइरसको उच्च जोखिममा रहेको कपिलवस्तुमा अन्ततः सेना परिचालन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सीमावर्ती जिल्लाहरुमा नेपाली सेना परिचालन गर्ने सरकारको नीति अनुसार बुधबारबाट जिल्लामा सेना परिचालन गरिएको प्रशासनले जनाएको छ ।

यद्यपि यस विषयमा विहान करिब एक घण्टा रेडियो मायादेवीसंग अन्तर्वार्ता दिदै प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी गराइसक्नुभएको थियो ।

अब जिल्लाको कृष्णनगर सीमा नाका र मर्यादपुर सीमा नाकामा होल्डिंग क्याम्प राख्ने गरी सेनालाई परिचालन गरिएको पौडेलले पुनः बताउनुभयो । उहाँका अनुसार अब जिल्लाका दुई स्थानहरु मर्यादपुरको सुठौली र कृष्णनगर नाकामा सेना परिचालन भएका छन । सेनाले अब सीमा नजिकै होल्डिंग क्याम्प स्थापना गरि भारतबाट आएकाहरुलाई व्यवस्थापन गर्नेछन । साथै उनीहरुको स्वास्थ्य चेकजाँच पनि हुनेछ ।

१ सय दशमलव ४ डिग्री फरेनहाइट ज्वरो आएकाहरुलाई तत्कालका लागि त्यहि व्यवस्थापन गरिने छ भने लक्षण नदेखिएका र सामान्य व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको पालिकाकाको जिम्मा लगाइने पौडेलले बताउनुभयो । होल्डिंग क्याम्प संचालनका लागि नेपाली सेनाका मेजरको कमाण्डमा २० जना खटाईएको छ ।

सीमामा सेना परिचालन भएपछि अब नाकाबाट लुकीछीपि भागेर समुदायमा कोरोना फैलाउनक्रमको अन्त्य हुनेछ भने कोरोनाको त्रास पनि कम हुने विश्वास लिइएको छ । यस कार्यलाई समुदायस्तरबाट पनि स्वागत भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ७ : २३ बजे