१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जेठ ३२ पछि लकडाउन थपे सरकार इतिहासकै असफलः शेखर गोल्छा (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्याय शेखर गोल्छाले कोरोना नियन्त्रणको विकल्प लकडाउन नभएको बताउनु भएको छ । लक डाउनका कारण दुई महिना बढी उद्योग ब्यवसाय बन्द रहेर मुलुकको अर्थ ब्यवस्था नै तहस नहस भएकोले असार १ गतेबाट सबै खुलाउनु पर्ने बताउनु भएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जसंग विहीबार करिब ४० मिनेट अन्तर्वार्ता दिदैँ वरिष्ठ उपाध्यक्ष गोल्छाले बढी भिडभाड हुने क्षेत्र पहिचान गरेर तिनलाई ब्यवस्थित गर्नु पर्ने र अरु उद्योग, बजार र ब्यवसाय संचालन गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो भयो, “जेठ ३२ गतेपछि पनि लकडाउन बढायो भने सरकार इतिहासकै असफल सावित हुन्छ । नेपालको अर्थ ब्यवस्था पुरै ध्वस्त हुन्छ । उद्योग ब्यवसायी कहिल्यै उठ्न नसक्नेगरी टाँट पल्टन्छन् ।”

कोरोना अन्य रोग जस्तै सामान्य रोग भएकाले डराउनु पर्ने अवस्था नभएको भन्दै अब सबैले सावधानी अपनाएर आर्थिक गतिविध चलायमान गराउनु पर्ने बताउनु भयो । विश्वको स्थितिलाई मध्यनजर गरेर सरकारले वातावरण सिर्जना गर्नु पर्ने उहाँको भनाई छ ।

गोल्छाले अब नीजि तथा सार्वजनिक सवारी पनि संचालन गर्नु पर्ने बताउनु भयो । “अब यसरी जनतालाई थुनेर राख्नु हुँदैन, आर्थिक गतिविधि बढाउन सवारी पनि चलाउनु पर्दछ । यसको लागि बरु मापदण्ड बनाऔँ । हामी छलफल गर्न तयार छौँ । यसो गर्दा संक्रमितको संख्या बढ्न सक्छ । सावधानी अपनाउन जरुरी छ । कोरोना बढ्छ भनेर बन्द भइरहने हो भने रोगले भन्दा भोकले मानिस मर्छन् ।” उहाँले थप्नु भयो ।

कर तिर्ने समय जेठ २५ बाट बढाएर असार ७ सम्म पुर्याए पनि त्यो पर्याप्त नभएको उहाँले बताउनु भयो । आफूहरुको माग असार मसान्त्त सम्म भन्ने रहेको बताउँदै यसले थोरै भए पनि राहत दिएको बताउनु भयो ।

महासंघको भावि अध्यक्ष समेत रहनु भएका उहाँले कोरोनाका कारण सबै सक्कियो भनेर नआत्तिन देशभरका ब्यवसायीलाई अनुरोध गर्नुभयो । नीजि क्षेत्र र सरकार मिलेर अब मुलुकलाई उठाउनु पर्ने आजको आवश्यकता रहेको भन्दै सरकारसमक्ष काम गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

समस्यासंगै अवसर पनि सिर्जना हुने भएकाले कोरोनाको कहरलाई नीजि क्षेत्रले अवसरको रुपमा लिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “अब लगानीको अवसर पर्याप्त छ, विदेशबाट धेरै युवाहरु आउँदैछन् । उनीहरुलाई रोजगार चाहिएको छ । हामी प्रशस्त उद्योग ब्यापार खोलेर रोजगारी दिन सक्छौँ ।”

उहाँले सरकारले जिम्मा दिए देशको मुहार फेर्ने ल्याकत आफूहरुसंग रहेको बताउँदै नीतिगत ब्यवस्था गरी वातावरण सिर्जना गर्न अनुरोध गर्नुभयो । यस अघि बुधबार पनि मायादेवीसंग कुरा गर्दै महासंघकी अध्यक्ष भवानी राणा, अर्का उपाध्यक्ष किशोर प्रधान, कपिलवस्तु उद्योग बाणिज्य संघ कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेलले पनि सम्पूर्ण ब्यवसायीलाई नआत्तिन आग्रह गर्नुभएको थियो ।

गोल्छासंगको सम्पूर्ण कुराकानी तलको लिँकमा सुन्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ३० बजे