एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोभिड–१९ सङ्क्रमणबाट बच्नको लागि २० लाख खोप उत्पादन भइसकेको दाबी गरेका छन् । ट्रम्पका अनुसार ती खोप तयारी अवस्थामा छन्, अब वैज्ञानिकहरुले खोप सुरक्षित र प्रभावकारी भएकोरनभएको जाँच गर्न बाँकी छ ।
ट्रम्पले शुक्रबार भएको पत्रकार सम्मेलनमा यो दाबी गरेका हुन् । उनले खोप तयार भइसकेको बताउँदै सुरक्षित भएको पुष्टि गर्नको लागि वैज्ञानिकले जाँच गर्न बाँकी रहेको बताएका हुन् । ठूलो सङ्ख्यामा मानिसमाथि परीक्षण गर्नुअघि वैज्ञानिकहरुले मञ्जुरी दिनुपर्ने हुन्छ ।
यद्यपि ट्रम्पले कुन कम्पनी वा कुनै खास खोपको बारेमा कुरा भइरहेको हो भन्नेबारेमा प्रस्ट पारेका छैनन् । साथै उनले यो खोपको प्रयोग कहिलेदेखि सुरु हुन सक्छ भन्नेबारेमा पनि केही बताएका छैनन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पको यो पत्रकार सम्मेलनपछि अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डाक्टर एन्थनी फाउचीले यसबारेमा कुनै टिप्पणी गर्न नसक्ने र राष्ट्रपतिको बयानको बारेमा कुनै जानकारी नभएको बताए । तर गएको मङ्गलबार डा। फाउचीले एक मेडिकल सेमिनारमा आउँदो वर्षसम्म लाखौँ खोप तयार हुने विश्वास व्यक्त गरेका थिए ।
न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकी प्रशासनले खोप उत्पादन गर्नको लागि पाँच वटा कम्पनीलाई जिम्मेवारी दिएको छ । ती कम्पनीहरुमा मोर्डना, नोभाभ्याक्स र फाइजरजस्ता कम्पनी समावेश छन् ।
डाक्टर फाउचीले मङ्गलबारको पत्रकार सम्मेलनमा यी कम्पनीमध्ये ‘मोर्डना’ सबैभन्दा अघि रहेको बताएका थिए ।
विश्वव्यापी रुपमा कोभिड–१९ को खोप उत्पादन गर्ने प्रयासमा अमेरिकी कम्पनी मोर्डनाले यसअघि नै ठूलो सफलता हात पारेको दाबी गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनको स्वीकृतिमा खोपको अनुसन्धान गरिरहेका विश्वका आठ वटा कम्पनीमा मोर्डना पनि हो ।







प्रतिक्रिया