२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

कसरी मिल्यो राजपा र सपाबीच कुरा ?



काठमाडौं ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले नेताहरुको वरियता मिलाएको छ । निर्वाचन आयोगमा दल दर्ताको म्याद आइतबार सकिनै लाग्दा दुवै दलबीच एकिकृत दलको वरियता र कार्यकारी अधिकारमा कुरा मिलेको हो । यी दुई पार्टीले १० वैशाखमा एकिकरणको घोषणा गरेका थिए ।

वरियता विवाद मिलेसँगै जनता समाजवादी पार्टी, नेपालको दल दर्ताको तयारी थालेको छ । दुवैघटक आ आफनो तर्फको कागजहरु तयार पारेर आयोग कार्यलय जाने तयारीमा जुटेका छन् ।

शनिबार अबेरसम्म र आइतबार विहान पुन बसेको बैठकले ५३ सदस्यीय कार्यकारी समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादवलाई समान अधिकारसहित राख्ने सहमती भएको छ ।

वरियतामा ठाकुर पहिलो नम्बरमा रहने छन् । पुर्वप्रधानमन्त्री डा बाबुराम भटराई संघीय परिषद अध्यक्ष रहने सहमती भएको छ । यसैगरि ५३ सदस्यीय कार्यकारी समितिमा राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेता तथा अन्य सबै सदस्य रहने छन् ।

समितिमा २७ जना राजपाको तर्फवाट र समाजवादीको तर्फवाट २६ जना रहने छ । यसैगरि एकिकृत पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई ल्याउने समेत दुवै पक्षबीच सहमति भएको छ ।

दल दर्ताका लागी निर्वाचन आयोग जाने तयारी भइरहेको नेता लक्ष्मणलाल कर्णले बताए । उनले आयोगमा जानका लागि चाहिने कागज पत्रहरु तयार पार्ने काम भइरहेको जानकारी दिए ।

अब दल दर्ताका लागि निर्वाचन आयोगसँग थप माग्ने नेताहरुको तयारी छ । राजपा र समाजवादीका नेताहरूले १० वैशाखमा पार्टी एकीकरण गरेर जसपा बनाउने सहमति गरेका थिए ।

त्यसको भोलिपल्ट ११ वैशाखमा दुवै पार्टीका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र शरत्सिंह भण्डारी निर्वाचन आयोग पुगेर लिखित जानकारी दिएका थिए ।

आयोगमा लिखित जानकारी गराएको ४५ दिनभित्र दर्ता गराउनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  ३ : १३ बजे