काठमाडौं ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
प्रतिनिधि सभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित भएको नेकपाले जनाएको छ । नेकपा महासचिव विष्णु पौडेलले संसदको छलफल लम्बिएकाले बैठक सरेको र दुई अध्यक्षले नयाँ मिति तय गर्ने बताउनुभयो ।
आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बोलाइएको थियो ।
संसदको यसै अधिवेशनमा एमसीसी पारित गर्ने वा नगर्ने भन्ने टुङ्गो लगाउन नेकपामाथि दबाब छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।
एमसीसीबारे छलफल गरेर पारित गर्ने वा नगर्ने निर्णयमा पुग्न बोलाइएको सचिवालय बैठक समय नमिलेका कारण स्थगित भएको नेताहरूले बताएका छन् ।
सचिवालयको अर्को बैठकको मिति तोकिएको छैन । दुई अध्यक्षबीच एउटा समझदारी भएर त्यसलाई पार्टी बैठकका ल्याउन कतिपय नेताले सुझाव दिएका छन् ।







प्रतिक्रिया