२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

पुर्खाले लडेर बचाएको नेपाल, हामी अडिए जोगिन्छः प्रधानमन्त्री



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको भूमि फिर्ता अभियान नेपाल र नेपालीको साझा भावना भएको बताएका छन् । बुधबार बसेको संसद बैठकमा प्रधानमन्त्रीको कार्यालय अन्तरगतको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

ओलीले नेपाललाई पुर्खाले लडेर जोगाएको बताउँदै अब यो पुस्ताले अडिन सकेमा सार्वभौमिकता र भौगोलिक अखण्डता जोगिने उल्लेख गरे । ‘पुर्खाले यो देश लडेर बचाएका हुन्, हामी आज अडे मात्रै हाम्रो भौगोलिक अखण्डता जोगिन्छ, त्यसैले हामी अडिनु जरुरी छ’, उनले भने, ‘भूमि फिर्ता अभियान हाम्रो साझा भावना र साझा अभियान हो । कसले जस लिने, कसले श्रेय लिने विषय हुँदै होइन ।

कसैलाई देवत्वकरण गर्ने कुरै होइन ।’ ओलीले अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने कुनै सपना नरहेको पनि बताएका छन् । उनले शक्ति केन्द्रित गर्ने आफ्नो सोच पनि नरहेको स्पष्ट पारेका छन् । उनले संसद अहिले फराकिलो भावनाका साथ अगाडि बढिरहेको भन्दै खुसी पनि व्यक्त गरे । ओलीले राष्ट्रिय एकताका लागि सर्वदलीय बैठक, सर्वपक्षीय बैठकको राय सल्लाह र परामर्श लिएर नै अघि बढेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७ बुधबार ००:००  १२ : २८ बजे