२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेकपाले लगायो शुद्धोधन गाउँपालिकाको पतरिया वडा कार्यालयमा ताला



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वडा कमिटीले शुद्धोधन गाउँपालिका वडा नं. १ पतरियास्थित वडा कार्यालयमा तालबान्दी गरेको छ । वडाध्यक्ष तिलकराम यादवले हेण्ड पाइप जडान गर्दा सम्बन्धित गाउँबासीलाई कुनै खबर नगरी एकलौटी उपभोक्ता समिति गठन गरेको भन्दै नेकपा वडा कमिटीले वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

उपभोक्ता समिति कसरी गठन गरियो ? कस कसको सहभागीतामा समिति गठन गरियो भन्ने बुज्न वडा कार्यालयमा जाँदा उल्टै वडा अध्यक्षका छोरा दिनेश यादव कुमार (बब्लू)ले गालीगलौज गरेको भन्दै नेकपा वडा कमिटीले तालाबन्दी गरेको हो ।

नेकपा शुद्धोधन गाउँ कमिटीले यसबारे विहीबार विज्ञप्ति निकालेर उक्त घटनामा गम्भीर आपत्ति जनाउँदै वडाध्यक्षको छोरामाथि कारबाही नभएसम्म ताला नखोल्ने चेतावनी दिएको छ ।
गाउँपालिका कमिटी अध्यक्ष विनोद प्रसाद कुर्मी र सचिव लाला कुर्मीद्धारा हस्ताक्षरित विज्ञप्तिमा विना अनुमती कसैले ताला तोडे सम्बन्धित व्यक्ति जिम्मेवार बन्ने चेतावनी दिइएको छ ।

वडा कार्यालयमा तालाबन्दी स्वरुप विरोध कार्यक्रममा प्रदेश कमिटी सदस्य नेत्र खनाल, गाउँपालिका कमिटी इन्चार्ज लिला खनाल, वडा कमिटी अध्यक्ष नुरुलहक शेष, सचिव रफिक मोहम्मद, जिल्ला कमिटी सदस्य तथा पूर्व गाविस अध्यक्ष अब्दुल मोजिव खाँ, मायादेवी साझेदारी बनका अध्यक्ष अजिज खाँ, पार्टीका सल्लाहकार नरबहादुर सुनार, रोकश यादव, केश नारायण यादव लगायत गएको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

नेकपाले हेण्ड पाइप जडानमा वडाध्यक्षले भ्रष्ट्रचार गरेको प्रतिपनि शंका व्यक्त गरेको छ । गत माघ २९ गते वडाध्यक्ष यादवले आफ्ना नातेदार राखेर उपभोक्ता समिति गठन गरेको नेकपाले आरोप लगाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ८ : ५५ बजे