मायादेवी अनलाइन, चार नम्बर ।
बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले रोजगारीलाई प्राथमिकतामा राखेर आर्थिक बर्ष २०७७ । ०७८ को बजेट ल्याउन लागेको बताउनु भएको छ । १५ बर्षे दिर्घाकालिन गुरुयोजना र ५ बर्षीय आवधिक योजनासहित नगरपालिका अगाडी बढेकोले स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर २ अरब बराबरको बजेट ल्याउने तयारी भएको बताउनु भएको हो । कोभिडका कारण रोजगारी गुमाएर फर्केका र स्वदेशमा पनि रोजगारी गर्न चाहनेहरुका लागि विशेष योजनासहित बजेट आउँन लागेको हुुँदा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो ।
सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको विहानी कार्यक्रम बजेट बहसमा बोल्दै उहाँले क्वारेनटाइनमा रहेकाहरुको लगत लिइरहेको बताउनु भयो । उहाँले क्वारेनटाइनमै बसेकाहरुले विदेशमा गरेको काम, सिप, क्षमता, अनुभव, इलम आदिको बारेको एक फर्म भरिसकेको भन्दै त्यसै अनुसार कृषि उद्योग लगायतका अन्य क्षेत्रमा रोजगारीको अवसर दिने बताउनु भयो ।
नगरपालिकामा भूमि बैङ्क र श्रम बैङ्क स्थापना गरी कार्य अघि बढेको भन्दै यस बर्षको बजेटमा त्यसलाई कार्यान्वयन गर्न विशेष प्राथमिकता दिने र त्यसैबाट अन्यको युवाहरुको लागि रोजगारी सिर्जना गर्ने बताउनु भयो । साथै उहाँले स्वास्थ्य, शिक्षा, कृषि आदिलाई पनि प्राथमिकताको आधारमा बजेट विनियोजन हुने बताउनु भयो । सबै तिरबाट आम्दानीका श्रोत कम भएकाले भनेजति आउन नसक्ने भएको उहाँले बताउनु भयो ।
उहाँले बर्तमान शिक्षाले मानिसलाई बुद्धिजिवी बनाए पनि ब्यावहारिक नबनाएको भन्दै कोभिडपछि मुलुकको शिक्षा पद्धतीलाई परिवर्तन गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो । बजेटमा पनि सोही अनुसार शिक्षालाई प्राथमिकतामा राखी स्थानीय पाठ्यक्रमको कार्यान्वयनलाई जोड दिने उहाँको दावी छ ।
साथै उहाँले ‘असारे विकास मुर्दाबाद’ भन्नुभएको छ । उपमहानगरमा पद लिएको दिनदेखि नै विकासलाई प्राथमिकतामा राखेको बताउँदै असारमा बजेट सक्ने काम कहिल्यै नभएको उहाँको भनाई छ । कोभिडको महामारीको बीचमा पनि गत बर्ष विनियोजन गरिएको बजेटमध्ये ५० प्रतिशत बढी खर्च भइसकेको बताउँदै बाँकी काम पनि असार १५ भित्र सक्ने दाबी सुवेदीको छ ।
“जेठ मसान्तसम्म खर्च गरिसक्ने गरी काम गरेको भए पनि अहिले कोभिडले असर गरेको छ । असारमा विकास गर्ने तरिका बन्द गर्नुपर्दछ । चैत, वैशाख र जेठ काम गर्ने पिक हावर भए पनि यस बर्ष चैत्रबाट लकडाउन भएको हुँदा भनेजति काम हुन सकेन” उहाँले भन्नुभयो ‘असारको १५ सम्म ६० प्रतिशत खर्च भइसक्छ ।’
उहाँले देशभरका प्रत्येक पालिका प्रमुखहरु क्यापेबल हुनु पर्ने बताउँदै भनसुनले देश कहिल्यै नबन्ने जिकिर गर्नुभयो । कोभिडले समस्या मात्र नभएर अवसर पनि सिर्जना गरेकाले आत्तिहाल्नु पर्ने अवस्था नभएको सुवेदीको भनाई छ । उहाँले सम्भावना धेरै भएकाले लगानी गर्न पनि ब्यावसायीलाई आग्रह गर्नुभयो ।
उहाँसंग गरिएको पूरा अन्तर्वार्ता सुन्न तल क्लिक गर्नहोला ।
प्रतिक्रिया