२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

‘शौचालयमा लडेर घाइते छु, मिडियाले जनतामा भ्रम छरे’



काठमाडौं ।
प्रतिनिधिसभाका सांसद हरिबोल गजुरेलले बुझ्दै नबुझी संविधान संशोधन प्रस्ताव पारित गर्ने दिन संसदमा उपस्थित नभएको भनेर प्रचार गरिएको भन्दै दुःखमनाउ गरेका छन् ।

निशाना छाप परिवर्तन गर्ने संविधान संशोधन प्रस्ताव पारित गर्ने दिन शनिबार गजुरेल संसद्मा उपस्थित हुन सकेका थिएनन । गजुरेलले आफू शौचालयमा लडेर घाइते भएकाले हिँडडुल गर्ने अवस्थामा नरहेको र संसद्मा उपस्थित हुन नसक्ने कुरा प्रमुख सचेतकमार्फत् सभामुखलाई जानकारी गराएको बताए ।

“२९ गते मध्यरात अचानक शौचालयमा लडेर घाइते भएँ । हिँडडुल गर्न नसक्ने अवस्थामा छु,” गजुरेलले भने, “शनिबार संविधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची आएपछि मैले प्रमुख सचेतक देव गुरुङलाई जानकारी गराएको थिएँ,” उनले भने ।

प्रमुख सचेतक गुरुङले प्रस्तावको पक्षमा दुईतिहाइ रहेकाले जबरजस्ती संसदमा उपस्थित नहुने भनेको गजुरल बताउँछन् । “उहाँले मत नपुग्ने अवस्था छैन । सुतेरै आउनुपर्दैन भनेर भन्नुभयो,” उनी भन्छन्, “तर, यहाँ अनेक हल्ला भइसकेछ ।”

उनले प्रमुख सचेतकले सभामुखलाई जानकारी गराएर संसदमै रुलिङ गरिदिएको भए भ्रम निवारण हुने पनि विचार व्यक्त गरे । “सभामुखले परिणाम घोषणा गर्ने बेलामा अनुपस्थित हुनाको कारण खुलाइदिएको भए भ्रम निवारण हुन्थ्यो । त्यसो नहुँदा मिडियाले खेलेछन् । मलाई, प्रमुख सचेतकलाई समेत नसोधी समाचार सम्प्रेषण हुँदा नागरिकमा भ्रम पर्न गयो । जवाफ दिँदादिँदा हैरान छु । नयाँ नक्सालाई वैधानिकता दिने, संविधानमा अंकित गर्ने प्रस्तावको पक्षमा मतदानमा आफू छुट्दा अत्यन्त दुःख लागेको छ,” गजुरेलले भने ।

“जनतालाई भ्रममा पार्ने मिडिया के काम,” उनी भन्छन्, “मैले अहिलेसम्म कुनै एजेन्सीलाई सम्पर्क गरेको छैन । गर्नुपर्ने कारण पनि छैन । अरू साथीहरू भेटघाट, राजदूतावास जान्छन्, मेरो त्यता कुनै रुचि छैन ।” बाह्रखरीबाट

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  ८ : २२ बजे