२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

युनियन सम्बद्ध पत्रकारको कोरोना दुर्घटना विमा



बिष्णु कुमार आले, अर्घाखाँची ।
नेपाल प्रेस युनियन अर्घाखाँचीले आफ्ना सदस्यहरुका लागि कोरोना दुर्घटना बिमा गरेको छ । युनियनले कोरोना (कोभिड–१९) को बढ्दो जोखिममा रहेका नागरिकलाई सुसुचित गराउन समाचार संकलनको लागि फिल्डमा खटिने पत्रकारहरुको लागि रु १ लाख बराबरको कोरोना विमा गरेको छ ।

त्यस्तै फिल्ड रिपोटिङ गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै युनियनका सबै सदस्यहरुको लागि प्रतिव्यक्ति रु २ लाख रुपैयाँको दुर्घटना विमा गरेको हो ।

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलकी सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, प्रदेश–५ कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री र नेपाली कांग्रेस ढिकुरा गाउँ कार्यसमितिका सभापति उमेश घिमिरेको विशेष सहयोगमा फिल्डमा खटिनुपर्ने ३६ जना पत्रकारको लागि कोरोना विमा र ६२ जना युनियनकर्मीका लागि दुर्घटना विमा गरिएको नेपाल प्रेस युनियन अर्घाखाँचीका सभापति वीरेन्द्र केसीले बताए ।

कांग्रेस नेत्री पुष्पा भुसालले कोरोना संक्रमणको जोखिममा रहेर जनतालाई सुचना प्रवाहको काममा खट्ने पत्रकारको स्वास्थ्य सुरक्षामा सबै निकाय गंभिर हुनुपर्ने बताईन् । उनले जनतालाई सही सुचना दिने काममा सतर्कता अपनाउदै समाचार संकलन गर्न आग्रह गरिन् ।

प्रदेश सांसद निर्मला क्षेत्री र कांग्रेस ढिकुराका सभापति उमेश घिमिरेले कोरोनाको बिषम परिस्थितिमा पनि आम नागरिकलाई सुसुचित गर्न पत्रकारले खेलेको भूमिका प्रति उच्च प्रशंसा गरे ।
पहिलो चरणमा कोरोनाको जोखिमलाई छल्दै विभिन्न सञ्चारमाध्यममा काम गर्ने ३६ जना पत्रकारको कोरोना विमा गरिएको र चरणबद्ध रुपमा कोरोना बिमा कार्यक्रमलाई जारी राखिने युनियनले जनाएको छ ।

जोखिमका बेला फिल्डमा पुगेर समाचार संकलन गरि जनताको मन मष्तिस्कमा सुचना पुर्याउने पत्रकारको सरकार कोरोना दुर्घटना बिमा गर्न चुकेको युनियनका केन्द्रीय पार्षद प्रेमनारायण आचार्यले बताए ।

सन्धिखर्कमा शाखा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीमा कोरोना तथा दुर्घटना विमा गरिएको युनियनले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ५ : ३१ बजे