२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बाणगंगाको वडा नं. ७ मा ‘फुसको छानो हटाऔँ, कर्कट पाता लगाऔँ’ अभियान



मायादेवी अनलाइन, चार नम्बर ।
बिभिन्न लोकप्रिय र जनप्रेमी कामहरु गरेर बाणगंगा मै चर्चामा आएको वडा नम्बर ७ ले अर्को लोकप्रिय कामको थालनी गरेको छ ।

कोरोनाको कारण मुलुकमा लक डाउन भएको अवस्थामा वडा नम्बर ७ ले ‘फुसको छानो हटाऔँ, कर्कट पाता लगाऔँ’ अभियान चलाएको हो ।

वडा कार्यालयले ४ लाख ५० हजारको रंगीन कर्कट पाता खरिद गरी खरले घरको छानो छाएर बसेका वडाका अति गरीब, विपन्न १५ घर परिवारलाई छानो छाउन रंगीन कर्कट पाता वितरण गरिएको वडाध्यक्ष विष्णु गिरीले बताउनुभयो । जस्ता वितरण गर्नुभएका उहाँले जस्ता लगाउन चाहिने प्लेन सिट, काटी र कब्जा पनि बाँडिएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो “जस्ता दिने तर कतिपयले तिनै काँटी र कब्जासमेत नभएर घरमा जस्ता नलगाउने हुन् कि भन्ने आशंकाले जस्तासंगै काँटी, कब्जा र प्लेनसिट बाँडेको हुँ । उहाँले अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तर अघि बढाएर छिट्टै वडाका सबै फुसका छाना हटाइने बताउनु भयो ।”

खिया लागेर चाँडै जस्ताहरु जिर्ण नहोऊन् र लामो समय टिकून् भनेर रंगिन जस्ता नै बाँडिएको उहाँको भनाई छ । वडालाई सुन्दर, स्वच्छ र हराभरा बनाउने काम भइरहेको भन्दै रंगीन जस्ताले ती वस्तीहरु थप सुन्दरता पनि थप्ने आशाले पनि यसो गरिएको गिरीले बताउनु भयो ।

कोरोनाको डर भएका कारण भीँडभाँड नगरी सामाजिक दुरी कायम गर्दै काम गरिएको उहाँको भनाई छ । लक डाउन भए पनि भीँडभाँडरहित तरिकाले गर्न सकिने बाँकी लक्षित वर्गका काम गर्ने उहाँले मायादेवी अनलाइनलाई बताउनु भयो ।

प्रकाशित मिति : ३ असार २०७७ बुधबार ००:००  ९ : १० बजे