मायादेवी अनलाइन, चार नम्बर ।
नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले बाणगंगा नगरपालिकाको भनेजति विकास हुन नसक्नाको कारण सबैको खराब चरित्र रहेको बताउनु भएको छ ।
राजनैतिक दल, जनप्रतिनिधि, पत्रकार आदिमा खराब चरित्रले डेरा लिएर बसेको भन्दै यही नै विकासको बाधक भएको उहाँको भनाई छ । बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७७ । ०७८ को लागि असार १० गते पेश गर्ने नीति तथा कार्यक्रममा नदीजन्य पदार्थको दोहनको प्रसंग कोट्याउँदै सो कुरा बताउनु भयो ।
नगरको प्रमुख आम्दानीको श्रोत नदी भए पनि यसको दोहन र चोरी तस्करीमा कसैको ध्यान नगएको उहाँले बताउनु भयो । यस विषयमा सम्बन्धितको गम्भिर ध्यानाकर्षण जनाउनु भयो ।
उहाँले नदीजन्य पदार्थको दोहनबारे ब्यङ्ग्य गर्दै भन्नुभयो, “अब कसले कसलाई दोष दिने हामी सबै चारै चोर छौँ । कोही ठेकदार तपाइँका, कोही मेरा ! कुनै नेकपाका, कुनै कांग्रेस । कोही कसका ?”
प्रष्ट वक्ता पोख्रेलले अब कसैले पनि चोरी तस्करी गर्नेलाई संरक्षण गर्न नहुने बताउनु भयो । स्थानीय तहमा रहेका नदीमा सम्पूर्ण निर्णय गर्ने अधिकार तत् पालिकाको भए पनि जिल्लालाई नै सोध्नु पर्ने अवस्था किन आयो ? के यही हो त संघीयता ? मेरो प्रश्न छ । उहाँले भन्नुभयो ।
साथै उहाँले नगरको शिक्षा निकै खस्किएको बताउनु भयो । ‘म पनि कुनै बेला प्रअ नै थिएँ, त्यति बेला यस्तो थिएन । सरकारी विद्यालयलाई सुधार गर्नै पर्छ । काम नगर्ने हेड मास्टरलाई कारबाही गर्न किन डराएको ?’ उहाँले भन्नुभयो ।
पोख्रेलले स्थानीय विकासमा पनि प्रश्न खडा गर्नुभएको छ । बनेका पिचहरु एक बर्षमै किन भत्कन्छन् ? कस्ता ठेकेदारले काम गर्छन् ? भन्दै नगरले कडा मापदण्ड बनाएर गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारबाही गर्न पनि सुझाउनु भयो ।







प्रतिक्रिया