५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सरोकारवाला भन्छन्ः क्यूएएले मात्र पुग्दैन, सिद्धार्थलाई ‘प्रदेशस्तरीय विश्वविद्यालय’ बनाऔँ



चन्द्रकान्त न्यौपाने , चार नम्बर ।
सिद्धार्थ क्याम्पसको ऐतिहासिक छलाङपछि सरोकारवालाले यस क्याम्पसलाई अझै उचाइमा पुर्‍याउनु पर्ने बताएका छन् । सोमबार विश्व विद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तरीय सुनिश्चितता प्रत्यायान (क्यूएए) प्रमाणपत्र प्राप्त समारोहमा सहभागी भएका सरोकारवालाले अब क्याम्पसलाई प्रदेश ५ कै विश्व विद्यालय बनाउनु पर्नेमा जोड दिएका हुन् ।

विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष डाक्टर भीम प्रसाद सुवेदीले अनलाईन समारोहमार्फत् क्याम्पसलाई प्रमाण पत्र हस्तान्तरण गरेपछि संविधान सभा सदस्य, प्रदेश सांसद, नगर प्रमुख र अन्यले दोहोर्‍याई-दोहोर्‍याई सो कुरा बताए ।

प्रमुख अतिथि संविधान सभा सदस्य डोर प्रसाद उपाध्यायले क्यूएए प्राप्त गर्नु क्याम्पसको ऐतिहासिक उपलब्धि भएको हुँदा यसलाई संरक्षण गर्नु चुनौतिपूर्ण रहेको बताउनु भयो । क्याम्पसको यो सफलतालाई उहाँले परम्परागत निरन्तरतामा क्रमभङ्गता भएको बताउनु भयो । अवसरसंगै चुनौति पनि थपिने भएको हुँदा अब सबै चुनौतिलाई सामना गर्दै क्याम्पस विश्व विद्यालयको दौडमा रहनु पर्ने बताउँदै आफूले त्यसमा पूर्ण सहयोग गर्ने बताउनु भयो ।

विशिष्ट अतिथि प्रदेश सांसद विष्णु पन्थीले पनि यो क्याम्पस प्रदेशको विश्व विद्यालयले बनाउने खालको भएकाले अब यसतर्फ अगाडी बढ्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो “यो सफलताको लागि आजसम्म दौडिएका थियौँ । अब पायौँ अब थप अर्को सफलतातिर हामी अगाडी बढ्नु पर्दछ ।” यसको लागि अब अत्याधुनिक भवन आवश्यकता परेको हुँदा प्रदेशले १२ देखि १४ करोड बजेट विनियोजन गर्ने र यसमा आफूले सहयोग गर्ने पन्थीले बताउनु भयो । उहाँले प्रदेश विश्व विद्यालयको लागि यो क्याम्पसको सम्भावना प्रबल रहेको बताउनु भयो ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले पनि क्यूएए पाएर नगरको मात्र नभई जिल्लाको नै गौरव बढेको बताउनु भयो । यस उपलब्धिलाई संस्थागत गर्दै प्रदेश विश्व विद्यालय बनाउन आफूले पनि आवश्यक रकम विनियोजन गर्ने उहाँको भनाई छ ।


क्याम्पस प्रमुख खेमराज शर्माले क्यूएए प्राप्त गर्न क्यामपसले धेरै मिहिनेत गरेको भन्दै यत्तिले मात्र नपुग्ने बताउनु भयो । क्याम्पसका लागि थप अगाडी बढ्न यो प्रमाण-पत्र निकै महत्वपूर्ण भएको भन्दै यो सफलतामा खट्ने सबैलाई धन्यबाद दिनुभयो ।

कार्यक्रममा अत्यन्तै खुसी मुद्रामा भनाई राख्दै क्याम्पस संचालक समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष झविलाल पोख्रेलले यो ऐेतिहासिक सफलतामा अथक मिहिनेत गर्ने सबैलाई धन्यबाद दिनुभयो ।” प्रदेश ५ का अन्य जिल्लाको लागि यो उपलब्धि त्यति महत्पूर्ण नहोला तर, कपिलवस्तुको लागि यो निकै ठुलो उपलब्धि हो । किनकि कपिलवस्तु यस्तो जिल्ला हो जहाँ शिक्षाको स्तर निकै कमजोर छ, पहिलेपहिले एसएलसी पास हुन कपिलवस्तु टाढा-टाढाका विद्यार्थी आउँथे । हामी त्यो स्तरमा थियौँ” उहाँले भन्नुभयो । अब सबैजना प्रदेशको विश्वविद्यालय बनाउन लाग्नु पर्ने उहाँले बताउनु भयो ।

उपाध्यक्ष रविराज काफ्लेले पनि धेरै खुसी मिलेको बताउनु भयो । काम गर्दा चुनौति आउने भन्दै अब क्याम्पसले जस्ता चुनौति पनि सामना गर्न सक्छ भन्ने कुराको उदाहरण क्यूएए प्रमाण पत्र प्राप्त गर्दाको मिहिनेतले देखाएको बताउनु भयो ।

कार्यक्रममा पूर्व अध्यक्ष कृष्ण पौडेल, पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगायतले बोल्दै क्याम्पसलाई बधाई दिनु भयो । उहाँहरुले पनि क्याम्पसमा थप चुनौति बढेको भन्दै हरेक चुनौतिलाई काम गरेर सामना गर्नु पर्ने बताउनु भयो ।

क्याम्पसका क्यूएए कार्यक्रम संयोजक तथा प्रमाण पत्र ग्रहणका संचालक समेत रहनुभएका प्राध्यापक गोविन्द खनालले प्रदेशस्तरीय विश्वविद्यालयको लागि क्याम्पसको सम्भावना प्रबल रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “बुटवलमा प्रदेश विश्वविद्यालय बन्दैन, नवलपरासीमा बन्ने कुरो भएन, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङमा सबैको पायक पर्दैन । सबैको लागि साझा गन्तव्य कपिलवस्तु नै हो । यसको लागि सिद्धार्थको विकल्प छैन ।”

कार्यक्रममा सहभागी अरुले पनि क्याम्पसको सफलताले निकै खुसी भएको बताउनु भयो । क्याम्पसले गत वैशाख २४ गते नै क्याम्पसले सो प्रामणपत्र पाए पनि बल्ल आज प्रदान गरिएको हो । वि.सं २०४८ सालमा स्थापना भएको यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा गरी करिब १२ सय बढी विद्यार्थीले अध्धयन गर्दछन् । कोभिड-१९ का कारण क्याम्पसलाई अनलाइनबाट प्रमाण पत्र वितरण गरिएको उहाँले बताउनु भयो ।

सो प्रमाण पत्र वितरणको अनलाइन समारोहमा बोल्ने सबैले विश्व विद्यालय अनुदान आयोग काठमाण्डौँ र समकक्षी पुनरावलोकन समुह (पिआरटी) संयोजक प्राध्यापक डा.जयराज अवस्थी लगायतको ५ जनाको टोलीलाई विशेष धन्यबाद दिएका थिए ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  ५ : ४४ बजे