१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अमेरिकामा गएको २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि



एजेन्सी ।
अमेरिकामा गएको २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा भएको सङ्क्रमणमध्ये यो अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ । फ्लोरिडा राज्यमा मात्रै झन्डै ९ हजार नयाँ सङ्क्रमित थपिएका छन्, जुन अघिल्लो दिनको तुलनामा ६२ प्रतिशतले बढी हो । कोरोना सङ्क्रमित व्यक्तिहरूको सँख्या बढेसँगै फ्लोरिडा र टेक्सस दुवै राज्यले फेरि लकडाउन लगायतका प्रतिबन्ध लगाउन थालेका छन् ।
अमेरिकामा हालसम्म २५ लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने एक लाख २७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।
यसैबीच सरकारका एक प्रमुख सल्लाहकार डा। एन्थोनी फाउचीले अमेरिकामा गम्भीर समस्या रहेको बताउनुभएको छ । १६ राज्यहरुमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या लगातार बढ्दो क्रममा रहेका बेला डा। फाउचीले चिन्ता व्यक्त गर्दै अमेरिकामा रहेको ‘गम्भीर समस्या’ का कारण सङ्क्रमण नियन्त्रणमा आउन नसकेको बताउनुभएको हो ।
अमेरिकी स्वास्थ्य अधिकारीहरूका अनुसार देशमा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या अहिले भनिँदै आएकोभन्दा कैयौँ गुना बढी हुनसक्छ।
बिहीवार सेन्टर्स फर डिजीजेज कन्ट्रोल (सीडीसी) ले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमणभन्दा दश गुना बढी हुनसक्ने बताएको थियो।

प्रकाशित मिति : १३ असार २०७७ शनिबार ००:००  १२ : २३ बजे