४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

विदेशमा कोरोना सङ्क्रमित ७० प्रतिशत नेपाली निको, खाडीमा जोखिम कायमै



काठमाण्डाै ।

विदेशमा कोरोना सङ्क्रमित नेपाली मध्ये ७० प्रतिशत निको भएको गैरआवसीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । एनआरएनको स्वास्थ्य समितिका अनुसार, जुन २७ सम्ममा खाडी र मलेसियासहित विभिन्न देशमा रहेका २६ हजार २२७ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये १८ हजार ७८८ जना अर्थात ७० प्रतिशत नेपाली निको भएका छन् । मलेसियामा त सङ्क्रमित नेपाली सबैजना निको भएका छन् ।

खाडीका देशले पछिल्लो समय सङ्क्रमित नेपालीको राष्ट्रियता नखुलाउँदा कति नेपाली छन् भनेर यी देशमा रहेका नेपाली दूतावासले तथ्याँक दिएका छैनन् । तर एनआरएनएको स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्याँक अनुसार अहिलेसम्म खाडीकाे देश साउदीमा १६ सय ५०, बहराइनमा ४५१, यूएईमा १६ सय , कुवेतमा ७५०, कतारमा १८ हजार , मलेसियामा ८१ जना गरी जम्मा २२ हजार ५ सय ३२ जना  नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । 

विश्वका दुई सय १३ देशका एक कराेड ४ लाख ९५ हजार ८१ जनामा सङ्क्रमण फैलिसकेको छ । ५ लाख ८ हजार ९१ जनाको ज्यान गएको छ भने ५६ लाख ६४ हजार ५६९ जना निको भएका छन् ।  

यस्तै खाडीका ६ देश र मलेसियामा ४ लाख ४९ हजार २५० जनामा काेराेना सङ्क्रमण देखिएकाे छ । जसमध्ये ३ लाख ३२ हजार ३६१ जना निकाे भइसकेका छन् भने १ लाख १४ हजार १२९ जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ । यी देशमा काेराेनाका कारण २ हजार ७५० जनाले ज्यान गुमाइसकेका छन् ।

तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् । अहिले समस्यामा रहेका नेपालीकाे स्वदेश फिर्तीकाे भइरहेकाे छ । टिकट काट्नका लागि दूतावासले ताेकेकाे र भनेकाे ठाउँबाट मात्र काट्नुहाेस् । टिकट काट्नुअघि दूतावासमा सम्पर्क गरेर आफू प्राथमिकतामा परेको हो होइन निश्चित गर्नुहोस् नत्र ठगीमा पर्न सकिन्छ ।

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :

कतारमा रहेकाे नेपाली दूतावासले समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीलाई दूतावासमा यसअघि फारम भरेकाे भए पनि फेरि भर्न अनुराेध गरेकाे छ । समस्या अनुसार सम्पर्क गर्ने व्यक्ति पनि ताेकेकेा छ ।

फारम भर्न र सम्पर्कव्यक्तिबारे जान्नयहाँ क्लिक गर्नुहाेस्

कतारमा सङ्क्रमितको राष्ट्रियता खुलाउदैन । त्यसैले सङ्क्रमित ​नेपालीकाे यकिन तथ्याँक दूतावासलाई पनि जानकारी छैन । माथि समावेश गरिएकाे तथ्याँक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिकाे हाे ।

सङ्क्रमित सङ्ख्या : ९५ हजार १०६ जना । ( १८ हजार नेपाली नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ८० हजार १७० जना ।(निको हुने नेपालीको सङ्ख्या उल्लेख्य रहेको कतार सरकारको भनाइ छ ।)

अस्पतालमा उपचाररत : १४ हजार ८२३ जना ।

मृतकको सँख्या : ११३ जना । 

दूतावासकाे सल्लाह:

– अनलाइनमार्फत फारम भर्न कुनै समस्या भएमा दूतावासको फेसबुक पेजमा गएर म्यासेज गर्न अथवा दूतावासमा फोन गरेर आफ्नो विवरण टिपाउन सकिनेछ । दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ । 

– कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न कतारले ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरेकाे छ । याे नम्बरमा सर्म्पक गरेर समस्या राख्ननुहाेस् ।

– कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।

– कतार सरकारले स्वदेश फर्कने नेपालीकाे काेराेना जाँच नगर्ने भएकाे छ । त्यसैले ज्वराे मात्र नापेर पठाउनेगरी दूतावासले तयारी गरेकाे छ । साथै “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा उक्त एप संचालनमा ल्याउन दूतावासले अनुराेध गरेकाे छ । एप डाउनलोड गरी त्यसमा कतारी परिचय पत्र नम्बर, भिसा नम्बर दर्ता गरेर एप सञ्चालनमा ल्याउन सकिन्छ । 

भिसाकाे म्याद सकिएमा

कतारको श्रम मन्त्रालयका अनुसार, बिदामा गएका तर कोरोनाका कारण कतार फर्कन नपाएका श्रमिकको यो अवस्थाको अन्त्य भएपछि स्वतः कतारको भिसा नवीकरण हुने र कतार फर्कन पाउने व्यवस्था गरेको छ ।

– यो समयमा भिसाको म्याद थप्न वा भिसाको अवस्था htpps://portal.moi.gov.qa/visitvisaextension  बाट थाहा पाउन सकिन्छ ।

– कतार आइडीको म्याद थप्न वा अवस्था थाहा पाउन metrash 2 एप्लिकेसन प्रयोग गर्न र थप नयाँ सूचना तथा जानकारीका लागि कतारको आन्तरिक मन्त्रालयको वेवसाइट हेर्नुहोस् ।

सङ्क्रमित सङ्ख्या : ४८ हजार २४६ जना । ( १६ सय नेपालीसहित) 

निको भएर घर फिरेकाहरु : ३७ हजार ७६ जना ।

अस्पतालमा उपचाररत : १० हजार ८५६ जना ।

मृतकको सँख्या : ३१४ जना ।

नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । यूएईले सङ्क्रमितको राष्ट्रियता नखुलाउदा यूएईमा रहेको नेपाली दूतावासले पछिल्लो समय सङ्क्रमित नेपाली र कोरोनाका कारण ज्यान गुमाउने नेपालीको पुष्टि गर्न छाडेको छ । 

दूतावासकाे सल्लाह:

खान बस्न लगायत काेराेनाका कारण समस्या परेकाे छ भने दूतावासमा अनलाइन फारम भरेर जानकारी गराउनुहाेस् । दूतावासका अनुसार अहिले स्वदेश फर्कने नेपालीकाे काेराेना जाँच विमानस्थलमा यूएई सरकारले नै निशुल्क गरिदएकाे छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

यूएईको Ministry of Health and Prevention (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् । 

 आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ । 

कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् । 

भिसाकाे म्याद सकिएमा

यूएईले भिसाको म्याद सकिएका र भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई मार्च १ अघि नै भिसा सकिएकालाई पनि लाग्ने जरिवाना माफ गर्ने भएकाे छ । तर यसरी स्वदेश फर्कन चाहनेहरुले मे १८ देखि तीन महिनाभित्र यूएई छाड्नु पर्नेछ ।

यूएईको आईडीको म्याद सकिएको र श्रम अनुमति (वर्क परमिट)मा सकिएकाको पनि जरिवाना माफ हुने छ ।

सङ्क्रमित सङ्ख्या : एक लाख ८६ हजार ४३६ जना (१६५० जना नेपालीसहित) ।

निको भएर घर फिरेकाहरु : एक लाख २७ हजार ११८ जना ।

अस्पतालमा उपचाररत : ५७ हजार ७१९ जना । 

मृतकको सँख्या : १५ सय ९९ जना । 

उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे ।

दूतावासकाे सल्लाह:

साउदीमा अहिले कर्फ्यु केही खुकुलाे भएकाे छ । तर केही साउदी सरकारले खुकुलाे लकडाउनमा पनि विभिन्न नियमहरु बनाएकाे छ । ती नियमहरु पालना गर्नुहाेस् ।

सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् । 

  •  काेराेना जाँच गराउन र घर फिर्तीका लागि

स्वदेश फर्कनका लागि अनिवार्य रुपमा काेराेना परीक्षण गर्ने पर्ने हुन्छ । त्यसैले दूतावासले सकेसम्म आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध गरेकाे छ । सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गराउन सकिन्छ। त्याे पनि सम्भव नभएमा अनिरूद्र पाठकलाई ०५४६३५६०२३ मा, कृष्ण भूषाललाई ०५९८२५६७१८ मा परीक्षणका लागि सम्पर्क गर्न सकिन्छ । 

अत्यावश्यक सहयोग, सल्लाह र स्वदेश फिर्तीका लागि साउदीमा रहेको नेपाली दूतावासको  ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा (whatsapp समेत यसै फोनमा उपलव्ध छ) सम्पर्क गर्नुहुन अनुरोध छ । 

भिसाकाे म्याद सकिएमा

– कोरोनाको कारण भिसाको म्याद समाप्त भएका नेपालीलाई साउदीले जरिवानाबिनै स्वदेश फर्कन दिने भएकाे छ।

– कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुन: प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सकिने छ ।

– त्यसैले यस्तो छाप आफ्नो पासपोर्टमा लागेको भएमा साउदीको आन्तरिक मन्त्रालयको वेवसाइट Absher वा Muqeem बाट यो छाप हटाउने प्रक्रिया अघि बढाउनुहोस् ।

– यो पोर्टलबाट सेवा लिन समस्या भएमा दूतावासको हटलाइन ०५५९३८९६०० नम्बरको ह्वाट्एपमार्फत आफ्नो विवरण पठाउनुहोस् । प्रक्रिया अघि बढाउन तपाईँलाई दूतावासले सहयोग गर्छ ।

७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । 

सङ्क्रमित सङ्ख्या : २६ हजार २३९ जना । ( ४५१ जना नेपालीसहित) 

निको भएर घर फिरेकाहरु : २० हजार ९२८ जना ।

अस्पतालमा उपचाररत : ५ हजार २२७ जना।

मृतकको सङ्ख्या : ८४ जना ।

उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे ।

दूतावासकाे सल्लाह: 

काेराेनाका कारण समस्या परेकाे छ र स्वदेश फर्कन चाहनुहुन्छ या समस्या समाधानका लागि दूतावासकाे सहयाेग चाहिएकाे छ भने अनलाइन फारम भरेर र फाेन गरेर पनि जानकारी गराउन सकिन्छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता काेराेनासँग मिल्दोजुल्दा लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

बहराइनबाट फर्कन टिकट किनेका र दूतावासकाे सूचीमा परेर फर्कने तयारीमा रहेकाले काेराेना जाँचकाे कपी नाम र नम्बर देखिने गरी राजदूतावासमा उपलब्ध गराउन अनुराेध गरेकाे छ ।

काेराेना जाँच गराउने ठाउँबारे जान्न यहाँ क्लिक गर्नुहाेस् । बहराइनले निशुल्क काेराेना जाँच गरिदिन्छ ।

कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३, ४१६११३६, ३५४२७७१७, ३५५४७९५१, ३६७८१५८८, ३७११४५७० मा सम्पर्क गर्न सकिन्छ ।  

काेराेना सङ्क्रमित सङ्ख्या : ४५ हजार ५२४ जना ।  (एनआरएनएका अनुसार, ७५० जना नेपालीसहित)

काेराेना निको भएर घर फिरेकाहरु : ३६ हजार ३१३ जना । 

अस्पतालमा उपचाररत : ८ हजार ८६१ जना ।

काेराेनाबाट मृत्यु हुनेको सङ्ख्या : ३५० जना ।

नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । कुवेतले निकाे हुनेकाे राष्ट्रियता नखुलाएको त्यहाँ रहेको नेपाली दूतवासले जनाएको छ । 

कुवेत सरकारले त्यहाँ आममाफी सहभागी नेपालीलाई निशुल्क रुपमा काठमाण्डाैसम्म ल्याइदिइरहेकाे छ भने अन्य समस्याका कारण स्वदेश फर्कने नेपालीकाे स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन्छ । स्वदेश फर्कन काेराेना जाँच गराउन पर्छ ।

काेराेना जाँचका लागि दूतावासमा फाेन गरेर जानकारी  लिनुहाेस् । त्यहाँ सरकारले नै पठाइदिने हाे भने सरकारले नै काेराेना जाँच गरिदिन्छन् । तर अन्य समस्यामा परेर स्वदेश फर्कनेले भने आफ्नो कम्पनीमार्फत गर्न र सम्भव नहुनेले आफूलाई जानकारी भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्न सकिने दूतावासले जनाएकाे छ । 

स्वदेश फर्कनका लागि स्वघाेषणाकाे एक फारम भर्न पर्छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस् ।

  • टिकट कहाँ किन्ने 

हिमालय एअरलान्समार्फत स्वदेश फिर्तीका लागि :

अरूणा महर्जन, मोबाइल नंः ००९७७ ९८४९५२२१७३; इमेलः[email protected]

रमेश पराजुली, मोबाइल नंः ००९७७ ९८४१७८८१५६; इमेलः[email protected]

अजिता श्रेष्ठ, मोबाइल नंः ००९७७ ९८०१९६६९७३; इमेलः[email protected]

– कुवेतमा विभिन्न पाँच चरणामा लकडाउन खुकुलाे बनाउँदै सामान्य अवस्थामा फर्कने याेजना बनाएकाे छ । अहिले  दोस्रो चरण सुरु भएकाे छ । 

– यो समयमा राती ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्नेछ । यो समयमा सरकारी र निजी कार्यलयहरु ३० प्रतिशत कर्मचारीसहित खुल्नेछन् ।  मलहरु बिहान १० बजेदेखि राति ६   बजेसम्म खुल्नेछन् । पैसा साट्ने ठाउँ, वित्तीय क्षेत्र, व्यापार र रेस्टुरेन्ट क्याफेहरु पनि सेवा दिन पाउनेगरी खुल्नेछन् । 

– कुवेतमा तेस्रो चरण जुलाई १२ देखि सुरु हुनेछ । यो अवधिमा कर्फ्यु लाग्ने छैन । निजी र सरकारी कार्यालयहरु ५० प्रतिशत कर्मचारीको उपस्थितिसहित खुल्न पाउनेछन् । होटल र रिसोर्ट लागयत पनि खुल्नेछन् । यो फेजमा ट्याक्सी पनि चल्नेछन् । तर एक जना मात्र यात्रु चढाउन पाइनेछ । 

– चौथौ चरण अगष्ट दुईदेखि सुरु गर्ने कुवेत सरकारको योजना छ । यस अवधिमा सरकारी र निजी कार्यालयहरु ५० प्रतिशतभन्दा धेरै कर्मचारीसहित खुल्न पाउनेछन्। होटल, रेस्टुरेन्ट र क्याफेहरुले आफ्ना ग्राहकलाई सेवा दिन सक्नेछन् । र सार्वजनिक यातायातसमेत चल्नेछन् । यात्रीले दूरी भने कायम गर्नुपर्नेछ ।

– पाँचौं चरण अगष्ट २३ पछि सुरु हुनेछ । यो समयमा मानिसको दैनिकी सामान्य अवस्थामा चल्ने कुवेतको दावी छ । तर भौतिक दुरी र सरसफाइमा भने ध्यान दिनुपर्नेछ । 

दूतावासकाे सल्लाह:

काेराेनाका कारण समस्या परेकाे छ र स्वदेश फर्कन चाहनुहुन्छ या दूतावासबाट सहयाेग चाहिएकाे छ भने दूतावासमा सम्पर्क गर्नुहाेस् ।

कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । 

स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् । कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् । 

भिसाकाे म्याद सकिएमा

कुवेतमा रहेका विदेशी नागरिकले ३१ मे पछि ३ कुवेती दिनार शुल्क तिरेर थप तीन महिला भिसाको म्याद थप्न सकिने भएकाे छ । थप जानकारी र सहयाेगका लागि दूतावासलाई सम्पर्क गर्नुहाेस् ।

भिसाकाे म्याद थप गर्नको लागि आफ्नो स्पोन्सर (रोजगारदाता)सँग सम्पर्क गर्ने र https://eres.moi.gov.kw/individual/ar/auth/login  मा गइ  रजिष्टर नगरेका स्पोन्सरले रजिष्टर गर्नुपर्ने हुन्छ । पहिले रजिष्टर भइसकेका स्पोन्सरले लगइन मात्र गरे पुग्छ । 

रजिष्टर अथवा लगइन गरिसकेपछि स्पोन्सरले आफ्नो नाम र फोन नम्बर भरेर ग्यारेन्टी नोटमा क्लिक गर्नुपर्ने र त्यसपछि रिन्युअलमा क्लिक गर्नुपर्ने दूतावासले जनाएको छ ।

सङ्क्रमित सङ्ख्या : ३९ हजार ६० जना ।

निको भएर घर फिरेकाहरु : २२ हजार ४२२ जना ।

अस्पतालमा उपचाररत : १६ हजार ४६९ जना ।

मृतकको सँख्या : १६९ जना ।

ओमानले सङ्क्रमितको राष्ट्रियता खुलाउदैन । त्यसैले कति नेपाली सङ्क्रमित छन् भन्ने तथ्याँक सार्वजनिक भएको छैन । ।  

दूतावासकाे सल्लाह:

खान बस्न लगायत काेराेनाका कारण समस्या परेकाे छ र स्वदेश फर्कन चाहनुहुन्छ  भने दूतावासमा अनलाइन फारम भरेर जानकारी गराउनुहाेस्

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

ओमानमा हुने विदेशी नागरिकलाई कोरोना सङ्क्रमण देखिएमा ओमानकै नागरिक सरह नि:शुल्क उपचार हुनेछ । तर स्वदेश फर्कनेले भने आफ्नै खर्चमा कोरानोना जाँच गराउन पर्छ ।

काेराेनाकाे लक्षण देखापरमा सिधै कोभिड १९ को परीक्षण नभई चिकित्सकको सिफारिसपछि मात्र राष्ट्रिय प्रयोगशालामा यसको निःशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ । कोरोनाबारे थप बुझ्न परेमा हटलाइन १२१२ वा २४४४१९९९ मा सम्पर्क गर्न सकिन्छ ।

सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् ।  ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

भिसाकाे म्याद सकिएमा

ओमानमा रहेका र घरबिदामा गएर भिसा सकिएको भएमा रोयल ओमान पोलिस ROP मार्फत अनलाइन आवेदन दिन सकिन्छ । त्यसैले भिसा सकिएमा यही वेवसाइटमार्फत आवदेन दिन दूतावासले आग्रह गरेको छ । अथवा दूतावासमा फाेन गरेर पनि थप सहयाेग लिन सकिन्छ ।

मलेसियामा रहेकाे नेपाली दूतावासले नियमित काम सुरु गरेकाे छ । पासपाेर्टसँगै कन्सुलर सेवा दूतावासबाट लिन सकिन्छ । तर दूतावास जानुअघि फाेन गरेर समय लिन अनुराेध गरिएकाे छ ।

सङ्क्रमित सङ्ख्या :  ८ हजार ६३७ जना । (दूतावासका अनुसार, ८१ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ८ हजार ३३४ जना । (दूतावासका अनुसार, ८१ जना नेपालीसहित)

अस्पतालमा उपचाररत : १८२ जना । 

मृतकको सङ्ख्या : १२१ जना ।

(मलेसियामा नेपालीमा थप सङ्क्रमण देखिएकाे छैन । सङ्क्रमित ८१ जना  निकाे भइसकेकाे दावी गरिएकाे छ ।)

दूतावासकाे सल्लाह:

​मलेसियामा काेराेना सङ्क्रमितकाे उपचार निशुल्क भए पनि स्वदेश फर्कनेले भने आफ्नै खर्चमा कोरानोना जाँच गराउन पर्छ । दूतावासले मलेसियामा रहेका विभिन्न क्लिनिक तथा अस्पतालमा कोरोना परीक्षणका लागि छनोट गरेको छ । 

​काेराेना जाँच गराउने ठाउँबारे थाहाँ पाउन यहाँ क्लिक गर्नुहाेस् ।

टिकट काट्ने ठाउँ र नम्बरबारे थाहाँ पाउन यहाँ क्लिक गर्नुहाेस् ।

कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्न  अनुराेध गरेकाे छ ।

सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । 

– मलेसियामा आवश्यक कागजपत्र नभएर अवैधानिक भएका विदेशी श्रमिकहरु वैधानिक बन्न पाउने भएका छन् । ​इमिग्रेसन डिपोमा रहेका अवैधानिक कामदारलाई रोजगारदाताले काममा राख्न पाउने योजना अगाडि बढ्यो भने त्यस्ता कामदारलाई काममा राख्न सकिने मलेसियाका गृहमन्त्री दातुक सेरी हमजा जैनुद्यीनले बताएका छन्। 

भिसाकाे म्याद सकिएमा

– मलेसियाबाट स्वदेश फर्कने चेकआउट मेमाे पाइसक्नुभएकाे छ भने दूतावासमा सम्पर्क गर्नुहाेस् । अहिले दूतावासले समस्यामा परेकालाई प्राथमिकताको आधारमा स्वदेश फर्काइरहेको छ । स्वदेश फर्कने  प्राथमिकतामा पर्नुभएकाे छ भने राेजगारदातालाई भनेर चेकआउट मेमाे लिएर मात्र टिकट काट्नुहाेस् ।

– फर्कंदा चेक चेकआउट मेमाे वा बिदामा फर्कंन लाग्नुभएकाे हाे भने साथमा बिदा दिएकाे कागज साथैमा राख्नुहाेला । मलेसियाको अध्यागमनमा यी दुईमा एक कागजात अनिवार्य रुपमा देखाउँन पर्छ ।

– लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा लकडाउन सकिएकाे एक महिनाभित्र कार्यालय समयमा नवीकरण गर्न सकिनेछ । भिसा नवीकरण अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै powerq एप मार्फत समय लिनु पर्नेछ ।

यो एप मोवाइलमा भएको प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । पुत्रजया बाहेक अन्य राज्यमा आवेदन दिन परेमा https://sto.imi.gov.my/ गएर अगाडि नै समय बुक गर्नु पर्नेछ । त्यसका लागि सबैले आफ्नो कम्पनीको सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्नुपर्छ ।

सबै विदेशी नागरिकले भिसा सम्बन्धि सबै काम अनलाइनमार्फत अगाडि नै अपोइन्टमेन्ट लिएर गर्नुपर्ने हुँदा अनलाइन अपोइन्टमेन्ट नलिइ सिधै गएमा आवेदन दिन नपाइने मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

काेराेनाकाे महामारीका कारण समस्यामा परेका नेपालीकाे स्वदेश फिर्ती सुरु भइसकेकाे छ । सरकारले ताेकेकाे प्राथमिकताकाे अनुसार नै अहिले दूतावासहरुले समस्यामा रहेकालाई स्वदेश पठाइरहेका छन् ।

पहिलाे चरणमा स्वदेश फिर्तीका लागि यी नेपाली  प्राथमिकतामा ?

सरकारले प्राथमिकतामा पर्ने नेपालीको १५ वटा सूची नै बनाएको छ । सरकारले आममाफी पाएका, भिसाको अवधि सकिएका, घरफिर्ती केन्द्रमा रहेका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य समस्यामा रहेका, बालबालिका ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका तर कोरोनाको कारण फर्कन नपाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाली तर नेपाल फर्कन पर्ने अवस्थामा रहेकालाई प्राथमिकतामा राखेको छ ।

यस्तै पर्यटन भिसामा, बिजनेश भिसामा गएर उतै रोकिएका, अध्ययन लगायतका सिलसिलामा गएका सरकारी कर्मचारी, कलेज बन्द भएर फर्कन पर्ने विद्यार्थीलाई पनि प्राथमिकतामा राखेको छ ।

तर यसरी फर्कनेले आफैंले यातायात खर्च व्यर्होनुपर्ने र कोरोना जाँचको रिपोर्ट हुनुपर्ने प्रावधान अनिवार्य गरिएको छ । 

समस्या राख्न आप्रवासी श्रोत केन्द्रहरुमा सम्पर्क गर्नुहाेस्

आफूलाई सोध्न मन लागेको प्रश्न र जिज्ञासा तपाईँको जिल्लामा रहेका आप्रवासी श्रोत केन्द्रहरुमा राख्न सक्नुहुन्छ । 

तपाईको जिल्लाको आप्रवासी श्रोत केन्द्रको फोन नम्बर सुरक्षित आप्रवासन परियोजनाको फेसबुक पेज Safer Migration Project Phase 3 मा गएर हेर्नुहोस् र फोन गरेर आफ्ना जिज्ञासा र प्रश्नहरु राख्न सक्नुहुन्छ । 

आप्रवासी श्रोत केन्द्र मात्र हैन अहिले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर पनि प्रश्न सोध्न सक्नुहुन्छ । कल सेन्टरले तपाईँले राखेका प्रश्न  र जिज्ञासाको समाधान विभिन्न सम्बन्धित निकायसँग समन्वय गरेर गर्नेछ ।

विदेशमा हुनुहुन्छ भने आप्रवासी श्रोत केन्द्र बाहेक कल सेन्टरको ००९७७ १ ५९७ ००८ नम्बर मा फोन अथवा ००९७७ ९८, ०१८ ०००१३ मा भाइवरमा फोन गरेर पनि प्रश्न सोध्न सकिन्छ । 

कलसेन्टर र आप्रवासी स्रोत केन्द्रले तापाईँका प्रश्नको उत्तर र समाधानका उपाय खोजेर सहयोग र समन्वय गर्ने कोशिस गर्छन् । 

अहिले कोरोनाको कारण मनमा उत्पन्न डर, तनाब र विभिन्न मानसिक समस्यामा परेमा पनि यी दुई केन्द्रले मनोसामाजिक परामर्श सेवासँग जोड्न पनि सहयोग गर्नेछन् भने र आवश्यक परेको खण्डमा कानूनी सहयोगका लागि पनि सहयोग गर्नेछन् ।उज्यालोबाट साभार ।

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  ११ : ०३ बजे