२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

तिलक थापाको काँधमा कपिलवस्तु फुटवल संघ, ६ महिनापछि स्थायी हुने



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु जिल्लामा फुटबलका गतिविधिलाई सक्रिय बनाउन भन्दै कपिलवस्तु फुटवल संघ गठन प्रकृया अगाडी बढेको छ । सुरुको ६ महिनासम्मको लागि तदर्थ समिति गठन गरी पछि स्थायी बनाउने प्रकृया अनुसार बुधबार तदर्थ समिति गठन गरेर स्थायी हुने प्रकृया अगाडी बढाइएको हो ।
२ मनोनित गरी १५ जना सदस्य रहेको संघको तदर्थ समितिको नेतृत्व तिलक थापाको काँधमा परेको छ ।

अखिल नेपाल फुटवल संघका उप महासचिव प्रकाश पंगेनी, केन्द्रिय सदस्य कुमार केसीको सहभागितामा बाणगंगा चार नम्बरमा भएको प्रथम भेलाले तिलक थापालाई नेतृत्व प्रदान गर्यो । समितिको उपाध्यक्षमा दिनेश सेन, रविन्द्र सेन र सरोज डफाली गरी तिन जना छन् भने सचिवमा गोविन्द प्रसाद आर्चाय तथा सदस्यहरुमा पंकज सेन, प्रेम राना, दुुर्गा थापा, रमेश मल्ल, झविन्द्र मल्ल, प्रदिप थापा, मैना कुमार थापा, राज कुमार श्रेष्ठ रहनु भएको छ ।

भेलापछि बुधबार नै बसेको समितिको पहिलो वैठकले ईश्वर थापालाई महासचिवमा र गणेश बहादु् सिंह ठकुरीलाई कोषाध्यक्ष तथा राजन अर्याल र केशव थापालाई सदस्यमा मनोनित गरेको छ । थापाले अब ६ महिना तदर्थ समितिको नेतृत्व गर्नु हुने छ । यो बीचमा फेरबदल आवश्यक भएमा त्यही समयभित्र हुनुपर्ने संघको प्रावधान छ । त्यसपछि संघको केन्द्रिय समितिले स्थायी रुपमा कपिलवस्तु फुटबल संघलाई मान्यता दिने छ ।

बाणगंगा स्पोर्ट्स एण्ड वेलफेयर सोसाइटीले भेलाको आयोजना गरेको थियो । उक्त भेलामा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक नारायण खनालले जिल्लामा अब फुटवल लगायतका खेलकुदका गतिविध बढ्ने आशा राख्नु भयो । साथै उहाँले जिल्लाका १० वटै पालिकाका क्लवलाई सहभागी बनाउन सके पछि समस्या सिर्जना नहुने बताउनु भयो ।

विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले समितिलाई अग्रिम बधाई दिँदै जिल्लाको फुटबल विकासमा थप उर्जाशिल भएर काम गर्न समितिलाई सुझाउनु भयो । विशिष्ट अतिथिद्धय संघका उप महासचिव प्रकाश पंगेनी र केन्द्रिय सदस्य कुमार केसीले संघको गठनको प्रकृया र गर्नु पर्ने कामको बारेमा जानकारी गराउनु भएको थियो ।

बेलफेयरका अध्यक्ष राज कुमार खाँणको अध्यक्षता, इश्वर थापाको संचालन तथा चन्द्रकान्त पोख्रेलको स्वागतमा सम्पन्न कार्यक्रममा वडा नः १ का वडा अध्यक्ष बाल कुमारी अधिकारी, वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख मिन प्रसाद पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैबीच तदर्थ समितिका अध्यक्ष थापाले सबैलाई मिलाएर अगाडी बढ्ने बताउनु भएको छ । मायादेवी अनलाइनसंग कुराकानी गर्दै आफूलाई तदर्थ समितिको अध्यक्षमा सर्वसम्मत स्विकारेकोमा धन्यबाद दिनुभयो । समिति गठनपछि केही असन्तुष्टि आउनु स्वभाविक रहेको भन्दै यो ६ महिनामा सबैलाई समेटेर स्थायी संघ गठनको लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  १ : ०५ बजे