रेडियो   टिभी

भरोसा टुटेका हरि, जसले दाजु र बुबा गुमाएपछि दुवै मृगौला गुमाएः कृपया बचाऔँ !



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
समाजमा सबैका केही न केही पीडा र दुख हुन्छन् । दुख नभएको मान्छे सायद संसारमा कोही पनि छैन । यत्ति फरक हो सबैको दुखको गहिराईको धरातल फरक फरक हुन्छ । भए पनि कुनै न कुनैको एक न एक साहारा त पक्कै हुन्छ । प्रायः सबैका कोही न कोही हुन्छन् ।

कोही विरामी हुन्छन्, तर उसको अभिभावक हुन्छ । कसैको आमाबुबा हुँदैनन् तर घर जग्गा हुन्छ । सम्पत्ति हुन्छ । कतिपयको खेत जग्गा पनि हुँदैन्, पैसा पनि हुँदैन् तर शरीर स्वस्थ हुन्छ, काम गर्ने हिम्मत हुन्छ । जाँगर हुन्छ । जोश हुन्छ । कमसेकम बाँच्ने आशा कुनै न कुनै रुपमा जिवित हुन्छ । कतिपयको कोही नभए पनि ठुलाबडा नेता हुन्छन्, मन्त्री हुन्छन, चिनेजानेका हुन्छन् । झिनो आशाका त्यान्द्रा झुण््याउने ठाउँ त हुन्छ । तिनले परेका समस्या समाधान गरिदिन्छन् ।

तर, कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगामा एक यस्तो न्यौँपाने परिवार छ, जसको कुनै भरोसा छैन । भरोसाहरु सबै टुटेका छन् । चुँडेका छन् । टुक्रिएका छन् । अभिभावकविहिन न्यौपाने परिवार । घरखेत छैन् । आम्दानीको श्रोत छैन । घरमा भएको सबै विरामी मात्रै । न चिनेजानेका पहुँचवाला ठुलाबडा मान्छे छन् न उनको पासमा नेता मन्त्री छन् । जिउने आशा पनि छैन् । केवल छ त पीडैपीडा, छट्पटाहट र टुटेको भरोसा मात्रै

बाणगंगा–४ झुँगाको स्कूल खेतमा एक न्यौपाने परिवार छ । त्यो न्यौपाने परिवारको दुख र पीर थाहा पाउने मान्छे नरोएका कमै होलान् । मनकला न्यौपाने, मनकलाका छोरा हरि न्यौपाने र बुहारी सिमा न्यौपाने, छोरी कमला न्यौपाने अनि एकजना वृद्ध आमा त्यो घरमा बस्नु हुन्छ ।

करिब १५ बर्ष हुन लाग्यो त्यो घरका सदस्यको मुहारबाट खुसी हराएको । अहिले बस्ने घर पनि सानो झुप्रो छ । कुनै घर जग्गा र आर्थिक श्रोत नभएपछि उनीहरु अहिले स्कुलको खेत बटैया(आधिया) गर्दै जीवनको जोहो गरिरहेका छन् । यही दुखी परिवारमा अहिले अर्को ठुलो विपत्ति आइलागेको छ ।
हरि न्यौपानेका दुवै मृगौलाले काम गर्दैन
हरि न्यौपाने । उमेरले २७ बर्ष पुगेका । हेर्दा मोटाघाटा । चिल्ला पिरा देखिने । केही गरौँ भनेर आफू भन्ने र अरुलाई पनि हौसला दिने न्यौपाने अहिले केही गर्न नसक्ने अवस्थामा छन् । डेढ बर्षको अन्तरालमा बुबा खिम प्रसाद न्यौपाने र दाजु ज्ञान प्रसाद न्यौपाने गुमाएका उनले अहिले फेरि दुवै मृगौला गुमाएका छन् अर्थात् दुवै मृगौला फेल भएको अवस्थामा दिन काटिरहेका छन् ।

२०६३ र २०६५ सालको बीचमा बुबा र दाजुलाई गुमाएका उनी हराएको परिवारको खुसीको खोज्न भन्दै १० कक्षा पास गरेको केही समयपछि विदेश हानिए । मध्यमस्तरको पढाई भएका हरिमा पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिक अवस्था जर्जर भएपछि विदेश नगई नहुने बाध्यता आयो । श्रीमान् र जेठो छोराको मृत्युपछि भाह्वविह्वल बनेकी आमालाई वैदेशिक रोजगारीमा गएर खुसी त कहाँ दिन सक्थे र हरिले ? तर पनि २ रुपैयाँ नभएर हातमुख जोर्न धौधौँ भएपछि बाध्य भएर उनी ५ बर्ष अघि खाडी मुलुक दुवई (युएई) लाग्नै पर्ने बाध्यता आयो ।

अभिभावक गुमाएको त्यो परिवारको एक मात्र अभिभावक मात्र हरि नै भए । यो भएपछि हरिको काँधमा घर मिलाउने, आर्थिक अवस्थाको जोहो गर्ने, ब्यवहार मिलाउने सबै जिम्मा थपियो । त्यो पनि २१ बर्षीय कलिलो उमेरमा । त्यो कलकलाउँलो, रहरलाग्दो र साथीसंग रमाउने उमेरमा परिवारको पीडा र बोझ थाम्दै विदेश गएर केही जोहो गर्छु सानो सोँच र साहस भएको मान्छेले गर्दैन् । तर हरिले गरे २१ बर्षमा पनि विदेश जान्छु । पैसा कमाउँछु । ऋण तिर्छु । आमा, बहिनी, श्रीमती र वृद्ध दिदीको मुहारमा खुसी ल्याउँछु भन्ने सोचे ।


तपाई हामी आफै सोचौँ न २१ बर्षमा हामी के गरिरहेका छौँ ? कस्ता छौँ ? के हरिलाई रमाइलो गर्न, पढ्न, साथीभाइसंग घुमघाम गर्न मन थिएन होला र ? तर के गर्नु उनलाई यो सबै गर्न छुट थिएन । उनलाई बाध्यता थियो । यति सानो उमेरमा विदेश जानु र थोरैधेरै पैसो कमाएर ल्याउनु कम्ती साहस र चुनौतीको कुरा पनि होइन् । तर पनि हरि ठुलो साहस बोकेर दुवई गए । बुबा र दाजुको मृत्युको मनभरी पीडा बोकी विदेश हानिएका हरिले ५ बर्षसम्म बिभिन्न कम्पनीमा काम गरे । २ पटक आउँ जाउँ गरे ।

निकै अनुशासित, मेहिनेती, इमान्दारी, जाँड, रक्सी, चुरोट नखाने उनले दुवैमा राम्रै जागीर पाए । काम गरे । पहिलोपटक गएर आएपछि विहे गरे । अलिकति भए पनि ऋणको भारी कम गरे । हरिले दुखदुःखै सहेर भए पनि पैसो जोहो गर्न थालेपछि विस्तारै यो परिवार ब्युँतदै थियो । पहिलोपटक साढे तीन बर्ष र दोश्रोपटक २ बर्ष गरी विदेशी भूमिमा साढे ५ बर्ष अडिएका उनी दोश्रोपटक ३ महिने छुट्टीमा नेपाल आएका थिए ।

उनले अब एकपटक गएर नेपाल आउने र केही गर्ने सोँच भएको बताउँदै आएका थिए । गत बर्ष घर आएको केही दिनपछि उनी एक्कासी विरामी भए । उनी हर्टअट्याकजस्तो भए । उपचारको लागि पहिले चार नम्बरको सामुदायिक अस्पताल, नभएपछि बुटवलको क्रिमसन अस्पताल र त्यसपछि काठमाडौँको अस्पतालमा पुगे । त्यो बेला हरि सन्चो हुन्छन् भनेर कसैले पनि सोँचेका थिएनन् । परिवार थप पीडामा भयो ।

तर भगवान्ले त्यतिबेला उनलाई बचाउनु भयो । काठमाडौं करिब १ महिना डेरामा बसेर उनको थप उपचार भएपछि उनी घरमा आए । बिभिन्न औषधी पनि खाइरहेका थिए । त्यतिखेर नै मृगौलामा हल्का समस्या थियो । तर पछि फ्लोअप गर्दै जाँदा डाक्टरले मृगौलामा थप समस्या भएको बताए । पछिल्लो जेठ महिनाको रिपोर्टपछि हरिको स्वास्थ्य अवस्था जटिल छ ।

अर्थात् दुवै मृगौलाको खराबीको अवस्था नराम्रो छ । त्यसैकारण डाक्टरले अहिले हरिलाई निकै महंगो औषधी चलाइरहेका छन् । यो औषधी जम्मा एक महिनाको लागि हो । त्यसपछि हरिले दुवै मृगौला प्रत्यारोपण नगरी नहुने स्थिति छ ।

तर हरि एक्लै यो रोगको उपचार थेग्न सक्ने अवस्थामा छैनन् । उनको आर्थिक अवस्था निम्न मात्रै छैन दयनीय छ । घर छैन् । खेत छैन् । कमाउने मान्छे कोही छैन् । उनी तलमाथि भएपछि त्यो परिवार बाँचेर पनि मरेजस्तो अवस्थामा हुने निश्चित छ । ती आमा, विहे नभएकी बहिनी, श्रीमती र वृद्ध दिदीको विचल्ली निश्चित छ ।

उनको लागि अहिले मात्र १५ लाख जति मोटो रकम चाहिएको छ, साउन १० गतेदेखि १५ गतेसम्म । तर यो सम्भव नभएपछि परिवार रात दिन निदाउन सकेको छैन । रातदिन रकम कसरी जुटाउने छट्पटीबाहेक केही छैन् । आमाले छोरो बचाउन घर, खेत र जग्गा भए बेच्ने बताइन् । तर नभएपछि उहाँ छोरोको पीरले सताउँदा निकै दुब्लाउनु भएको छ ।

श्रीमती र बहिनी पनि रात दिन हरिकै पीरले छट्पटिएका छन् । परिवारमा हरिको उपचार गर्ने कुनै विकल्प छैन तपाई हाम्रो सहयोग बाहेक । आमाले आफ्नो स्वास्थ्य अवस्था ठिक र मिल्ने भए आफ्नो मृगौला दिएर भएपनि छोरो हरिलाई बचाउँने भनेर लागि रहेकी छिन् ।

हरिको घर जग्गा यसरी बेचिन पुग्यो ।
आजभन्दा १३ बर्ष अघि हरिका बुबा खिम प्रसाद न्यौपानेको देहान्त भयो, अकालमै । सामाजिक सेवा र सामाजिक काममा निकै खटिएर लाग्ने अरिका बुबा यति चाँडै संसारबाट विदा हुनहुन्छ भनेर कसैले कल्पना गरेका थिएनौँ । समाजलाई जे पर्दा पनि काँध थाप्ने ।

सबैलाई हिम्मत दिने । समाजमा यसो गरौँ उसो गरौँ काँध थाप्ने हरिका बुवा अचानक विरामी हुनुभयो । जाँच गराउँदा उहाँलाई क्यान्सर भएको रहेछ । त्यो पनि टाउँकाको । अर्थात् हरिका बुबालाई ब्रेन ट्यूमर भयो । यसपछि निरन्तर उपचार गराउँदा गराउँदै लाखौँ रुपैयाँ सकियो । उहाँ हुँदासम्म परिवार राम्रो थियो ।

खिम प्रसाद निकै टाठोबाठो र सामाजिक ब्यक्ति हुनुहुन्थ्यो । तर भनिन्छ नि ‘काल पनि राम्रै ब्यक्तिका लागि चाँडो आउँछ ।’ हो त्यस्तै भयो, उहाँलाई पनि । भएको पैसाले नपुगेर घर खेत बेचर परिवारले हरिको बुबाको उपचार त भयो तर उनलाई बचाउन सकेन परिवारले । घर जग्गा बेचेपछि पनि त्यही उपचार गराउँदा परिवारमा ऋण थुप्रिएको परिवार बताउँछ । यो २०६४ । ०६५ सालको कुरा हो । त्यसपछिबाट यो परिवारमा सुख र चैन हराएको हो ।

दाजुको निधन यसरी भयो ।
बुबाको मृत्युपछि दाजु ज्ञान प्रसाद न्यौपाने र हरिको काँधमा परिवारको सबै बोझ थपियो । भाइ सानै थियो । उनीहरु यस्तै तीन चार बर्षको अन्तरालका थिए । दाजु एसएलसी पास गरेपछि पैसा कमाउन भन्दै भारत छिरे । उनी भारतको युद्धग्रस्त क्षेत्र जम्बु कस्मिरमा गएर होटल सम्बन्धि काम सिक्न खौज्दै थियो ।

त्यतिखेर भारतको महाराष्ट्र र त्यस ठाउँमा स्वाइन प्लू फैलिएको थियो । यो थाहा पाएपछि परिवार निकै चिन्तित थिए । जाडोको समय पनि थियो । एक्कासी ज्ञान प्रसाद विरामी भए उतैतिर । उनीसंगै गएका झँुगाका केही साथीले यो खबर घरसम्म पठाए । उनलाई परिवारले यतै आऊ यही गरी खाउँला भनेर बोलाए । उनले पनि आउने कुरा गर्दै थिए । उनलाई निमोनिया भएको रहेछ । त्यही निमोनियाले च्यापेर उनको त्यहीँ निधन भयो । साथीहरुले नै यो खबर सुनाए । त्यसपछिको यो परिवारको दुखको कुरा लेखिसाध्य छैन ।

त्यसलगत्तै घरमा रहनुभएकी हरिकी हजुर आमा पनि वृद्ध हुनुहुन्थ्यो । वित्नुभयो । पीडैपीडा । पीडा पनि कति हो कति ? कति बज्रपात यो घरमा । भगवान् छन् भने कहाँ छन् ? अब यो परिवार के को आशामा कसरी बाँच्ने । हरिकी आमा पनि विरामी भएर पटकपटक औषधी सेवन गरिरहनु भएको छ । हरिकी फुपू दिदी पनि विधवा भएदेखि त्यही घरमा बस्दै आउनु भएको छ । उहाँ पनि निकै विरामी हुनहुन्छ ।

अहिले हरिको यो विजोग्पछि उहाँ झनै विरामी हुनहुन्छ । उनकी बहिनी पनि छिन् कमला । तर यिनै दुख र विपन्नताका कारण उमेर पुगेकी कमलाको चाहेर पनि विहे हुन सकेको छैन । यो विपत्ति छोडेर विहे गर्ने सोँचाइमा छैनिन कमला । उनले दाजुलाई सहयोग जुटाएर, निको गराएर मात्र आफ्नो भविष्य सोच्ने बताउँछिन् । घरकी टाठीबाठी भन्नु नै अहिले कमला हुन् ।

उनी दाजुको उपचारको लागि घाम पानी नभनी दौडिरहेकी छन् । नगरपालिकाको वडा नम्बर ४ ले हरिको उपचारको लागि एक प्रमाण पत्र बनाइदिएको छ । त्यसैको साहारामा अहिलेअलि रकम जुटाउँदै संघसंस्था गुहार्दै दौडिरहेकी छिन् कमला ।

उनले भनिन् ‘सुन्छु ठुलोबडो मान्छे चिनेको । मन्त्री नेता चिनेको भए पनि राज्यबाट पूर्ण उपचार पाइन्थ्यो होला । ठुला मान्छेहरुले नेताहरुले यस्ता रोगको राज्यकोशबाटै त्यसैगरी उपचार गरेको सुन्न पाइन्छ । तर हामीजस्ता निमुखालाई सहयोग गर्ने को रहेछ र यो मरेको देशमा ? तर परिवारले आशा गरे अनुसारको सहयोग भने पाएको छैन् ।

उनीहरुलाई उपचार खर्च जुट्दैन कि भन्ने डर छ । बेच्ने सम्पति खेत पनि केही छैन । कसरी परिवार एक्लैले यो पार लगाउन सक्छ । उपचार पछि उत्तिकै रकम खर्च हुनेवाला छ । सके उपचारमा सहयोग हुने गरी नभए पनि तत्कालको लागि हरिको ज्यान बचाउन सहयोग जुटाउन माध्यम भनेकै तपाई हामी हौँ । त्यसैले अब हरिलाई बचाउनेकी उनको ज्यान जान दिने यो हाम्रो काँधमा छ ।

हामसिंग जतिजति छ कृपया उठाएर सहयोग गरौँ । हरिलाई बचाऔँ । यो हाम्रो कर्तव्य हो । सबैले प्रत्येक दिनको खर्च कम गरेर भए पनि देशविदेशबाट सहयोग गरौँ । भोली हामीलाई पनि यो समस्या आइलाग्न सक्छ भन्ने सबैले बुझौँ ।

सहयोगको लागि ।
हरिको सहयोगको लागि अहिले ग्लोबल आइएमई बैङ्क चार नम्बरमा हरिकै नाममा खाता छ । हरि प्रसाद न्यौपाने ८६०७०१०००३५१७ मा सहयोग रकम जुटाउन सकिन्छ । साथै उनलाई फोन गरेर घरमै गएर पनि सहयोग रकम हस्तान्तरण गर्न सकिन्छ ।

यसको लागि ९८६७३१०४७०, ९८२१५२०४६८ मा पनि सम्पर्क गर्न सकिन्छ या मायादेवी रेडियोको कार्यालय चार नम्बर आएर अथवा ०७६५५०३५९ मा सम्पर्क गरी पनि सहयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस