११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

रोट्र्याक्टको ब्याडमिन्टनले मच्च्यायो हलचल, राति ११ बजे ‘झुँगा’ बन्यो च्याम्पियन



मायादेवी अनलाइन, चार नम्बर ।
रोट्र्याक्ट क्लव अफ कपिलवस्तु मिडटाउनले पहिलोपटक आयोजना गरेको बाणगंगा नगरपालिकास्तरीय ब्याडमिण्टन प्रतियोगिताको उपाधि वडा नम्बर ४ स्थित झुँगाले उचालेको छ । झुँगाबाट प्रतिनिधित्व गरेका अमर रेश्मी मगर र लाल बहादुर श्रेष्ठको जोडीले शनिबार राति संघर्षपूर्ण जित निकाल्दै उपाधि उचालेको हो । पहिलो चरणदेखि नै शशक्त प्रदर्शन गरेको झुँगाले फाइनल प्रतिस्पर्धामा सुन्दर पहराईको जोडी उप्टहवामाथि २–१ को सेटमा जित गरी नगद १० हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भयो भने उप्टहवा उपविजेतामा सिमिति हुँदै ५ हजारमा चित्त बुझाउन बाध्य भयो ।

रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारी, भूतपूर्व अध्यक्ष वीरेन्द्र खाँण, रोटर्याक्ट बर्ष २०१९ २० का अध्यक्ष गणेश कार्की लगायतले विजेता र उपविजेता टोली र रेफ्रीलाई ट्रफी, मेडल, प्रमाण पत्र र नगद् पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । सवारी दुर्घटना न्यूनिकरणको लागि प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।

विहान ९ बजेबाट सुरु भएको खेल राति साढे ११ बजे बल्ल सकिएको थियो । ओदारीस्थित कभर्ड हलमा राति ११ बजेसम्म पनि दर्शकहरुको बाक्लो सहभागिता थियो । रोचक सेमिफाइनल भीडन्तमा प्रतियोगिताकै प्रमुख दाबेदार जोडी मानिएका खड्क आले–अमृत (४ नम्बर) र राजेश चौधरी – आदित्य चौधरी (ओदारी) बाहिरिएपछि खेलको फाइनल भीडन्त अनुमानभन्दा बाहिर गई थप रोचक बन्यो । दुवै टोली शशक्त भएकाले कसले जित्छ आंकलन गर्न सकिएको थिएन । त्यसपछि खेल सुरु भयो ।

उत्कृष्ट खेल पस्केर दर्शकको मन जित्दाजित्दै चारनम्बर र ओदारी सेमिफाइनलबाट बाहिरिँदा दर्शकहरु फाइनल भीडन्त सोँचेजस्तो हुँदैन निरास थिए । तर फाइनल भीडन्त पनि रोचक बन्यो । सुरुको सेटमा लगभग अन्तिम अवस्थामा झुँगाले हरायो भने दोश्रो सेटमा उप्टहवाले बदला लियो । त्यसपछि दुवै टोलीको लागि तेश्रो सेट गर या मरको स्थितिमा थियो । यसमा झुँगा सफल बन्यो । दोश्रो सेटमा उत्कृष्ट कमब्याक गरेको सुन्दको जोडी फाइनल सेटमा लय गुमाउन बाध्य भयो । लाल बहादुर श्रेष्ठ र अमर रेश्मीले त्यसको फाइदा उठाउँदै सेट आफ्नो कब्जामा पारी च्याम्पियन बने । खेलको वेष्ट प्लेयर झुँगाकै लाल बहादुर श्रेष्ठ बने ।

प्रतियोगितामा भाग लिएका २४ टोली एक दुईवटा बाहेक कोही कमजोर थिएनन् । सुरुमा विहान ठाकुरापुरको पीस हिमालय रिसोर्टमा प्रतियोगिता सुरु भए पनि हावाले खेल प्रभावित बनेपछि ओदारीस्थित कभर्ड हलमा सारिएको थियो । कार्यक्रम हुने स्थान बदलिँदा केही समय ढिला भएपछि खेल रातिसम्म धकेलिएको थियो । ओदारी गएपछि भने मापदण्ड अनुसार निर्माण भएको कभर्ड हलमा खेल्न पाउँदा सबै खेलाडी पनि औधि खुसी देखिन्थे ।

चन्द्रकान्त न्यौपानेको संचालन, क्लवका अध्यक्ष बेदुराम पोख्रेलको स्वागतमा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि रोट्र्याक्टका जेडआरआर प्रकाश शर्मा रहनु भएको थियो । कार्यक्रममा रोटरीका वर्तमान अध्यक्ष नरेश पौडेल, पूर्व अध्यक्ष बासुदेव पौडेल, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष छवि रेश्मी, रोटर्याक्टका संस्थापक अध्यक्ष माधव पौडेल लगायतको सहभागिता रहेको थियो ।

यो प्रतियोगिताले ब्याडमिन्टन खेलमा नगरमै एकप्रकारको हलचल मच्चाएको छ । नगरमा आयोजना भएको ब्याडमिन्टनमा यो नै अहिलेसम्मकै ठुलो र रोचक भीडन्त भएको खेलप्रेमीले बताएका छन् । यस प्रतियोगिताले धेरै खेलप्रेमीहरुलाई ब्याडमिन्टन खेलप्रति आकर्षित गर्न सफल भएको शिक्षक एवम् खेलप्रेमी विनोद नेपालले बताउनु भयो । उहाँ विहान ८ बजदेखि राति ११ बजेसम्म नै खेल हेरेर बस्नु भएको थियो । ओदारी कभर्ड हलमा भएको प्रतियोगताले बाणगंगामा ब्याडमिन्टनको क्रेज बढेको देखिन्छ ।

प्रकाशित मिति : २१ असार २०७७ आइतबार ००:००  ७ : १० बजे