५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

१४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तनः नेता सिंह



काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्। समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेकोले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरू लागिपरेको उनले बताए।

बुधबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वमहामन्त्री सिंहले समृद्धि अभियान अब कांग्रेसले पूरा गर्छ भन्ने विश्वासका साथ महाधिवेशनमा होमिन लागेको बताए ।

‘हाम्रो महाधिवेशन फागुनमा छ। नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने, ‘कम्युनिष्टले समृद्धिको अभियान अगाडि बढाएनन्। अब कांग्रेसले समृद्धि अभियान अगाडि लैजान्छ भन्ने विश्वासका साथ महाधिवेशनमा लाग्छौं। त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ।’

उनले कोरोना महामारीमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप समेत लगाए ।

कोरोना परीक्षणको दायरा वृद्धि गर्न नसकेको र चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा समेत भ्रष्टाचार भएर लेखा समितिले छानविन गरिरहेको उनले बताए।

प्रकाशित मिति : ३१ असार २०७७ बुधबार ००:००  १ : ४३ बजे