१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

किशोर किशोरीको सशक्तिकरणमा सम्वाद केन्द्र प्रभावकारी बन्दै



मायादेवी अनलाइन, चार नम्बर ।
वाणगंगा नगरपालिकाका किशोर किशोरीको सशक्तिकरणमा सम्वाद केन्द्र प्रभावकारी बन्दै गएको छ । गतवर्षदेखि नगरपालिकाका ३ वटा वडाहरुमा बृहत रुपमा सम्वाद केन्द्रहरु संचालनमा आएपछि किशोर किशोरीको सशक्तिकरणमा प्रभावकारी हुदै गएको हो । वाणगंगा नगरपालिकामा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रमको मंगलबार स्थलगत अनुगमनका क्रममा उक्त कुरा प्रष्ट भएको छ ।

वाणगंगा नगरपालिकाको सहकार्यमा स्ट्रोम फाउण्डेशन तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारीमा नगरपालिकाको ३ वटा वडामा संचालन भएको कार्यक्रमको प्रभावकारीता देखिएको छ । किशोर किशोरीको सशक्तिकरण मार्फत संवाद केन्द्रले समाज रुपान्तरणमा प्रभावकारी भूमिका खेलेको पाइएको छ । नगरका वडा नम्बर ३, १० र ११ मा संचालित उक्त कार्यक्रमले किशोर किशोरीको व्ययक्तिक विकास संगै समाज रुपान्तरणमा सम्वाद केन्द्र प्रभावकारी भएको अनुगमन टोलीले पाएको छ ।

वाणगंगाको ओदारी र सिउटीमा संचालित संवाद केन्द्रका किशोर किशोरीले ४ महिनाको अवधीमा आफुहरुमा धेरै सकारात्मक परिवर्तन ल्याएको बताएका छन् । वाणगंगा ११ ओदारीको मनकामना किशोरी सम्वाद केन्द्रकी अर्चना आचार्यले जीवनमा आइपर्ने समस्या र चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे सिप सिकाउदै व्यवहारिक शिक्षा पाएको बताइन् । त्यस्तै उनले किशोर किशोरीलाई कुलत तथा विकृतिबाट जोगाउन जीवन उपयोगी सिपको माध्यमबाट परिवार र समाजमा सचेतना गर्न सहयोग पुगेको बताइन् । त्यस्तै सिउटीको सूर्य उत्थान किशोर सम्वाद केन्द्रका सुरज विकले आफनो बोल्ने क्षमता विकास संगै सकारात्मक परिवर्तन भएको बताए ।

यसवर्ष वाणगंगा नगरपालिकाका ३ वटा वडामा २० वटा सम्वाद केन्द्र संचालन भइरहेको बताउदै कार्यक्रम संयोजक आरटि खानले समग्र बालबालिकाको सशक्तिकरण र बाल अधिकारको क्षेत्रमा नगरमा राम्रै योगदान पु¥याएको जानकारी दिनुभयो । वाणगंगा नगरपालिका १० शान्ति चोक स्थित मदरसा अल इस्लाह र वाणगंगा ११ स्थित ओदारी मा.वि.को बालविकासको लागि सामग्री तथा शैक्षिक गुणस्तरमा विद्यालयमा सहयोग गरेको बताइएको छ ।

अनुगमनका क्रममा वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले नगरपालिकासंग सहकार्य गरी सामाजिक आर्थिक रुपान्तरणको क्षेत्रमा संस्थाले गरेको सहयोगको प्रसंशा गर्नुभयो । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बालबालिकाहरुको लक्ष्य निर्धारण संगसंगै क्षमता विकासमा सम्वाद केन्द्रले प्रभावकारी भूमिका खेल्नसक्ने बताउनुभयो । त्यस्तै वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, अधिकृत केशव भट्टराई, खिम बहादुर जिसी लगाएतले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा कार्यक्रमले जोड दिनुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष तेजप्रसाद आचार्य, उपाध्यक्ष सूर्य कुमारी शाही, सचिव रोमकान्त घिमिरे लगाएतले नगरपालिकाको समग्र विकास साझेदारी गर्दै समृद्ध नगरपालिका बनाउन संस्थाको तर्फबाट आवश्यक भूमिक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमले सम्वाद केन्द्र मार्फत १५ सय किशोर किशोरीलाई प्रत्यक्ष समेटेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  ९ : ३६ बजे