२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

वीरगञ्ज महानगरपालिकाका मेयरलाई कोरोना, फेसबुकमार्फत जानकारी



विरगंज ।
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सरावगीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ संक्रमित हुन पुगेको बताएका छन् ।

’विगत ५ महिनादेखि कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जवासीलाई बचाउन मैले हर सम्भव प्रयासहरू गरेँ । संघीय र प्रदेश सरकारको दायित्व अन्तर्गत रहेको क्वारेन्टाइन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरूले नलिएपछि मैले नै लिएर नागरिकको जीवनरक्षाको लागि अथक प्रयत्न गरेँ,’ सरावगीले उल्लेख गरेका छन्, ’वीरगञ्जलाई बचाउन पीसीआर मेसिन, परीक्षणका लागि आवश्यक पर्ने किटहरूको समेत व्यवस्थापन गरेँ । क्वारेन्टाइन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरूसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र वस्नेको व्यवस्था मिलाएँ ।’

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि मेयर सरावगी काठमाडौं आएका थिए । परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो । उनी अहिले होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ९ : ४९ बजे