१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कोरोनाबाट थप ४ जनाको मृत्यु



काठमाण्डौ ।
नेपालमा थप चार जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मृतक चारै जना पर्साका हुन् ।
पर्साको वीरगञ्ज महानगरपालिका ११ घर भइ ललितपुरको थसिखेल बस्ने ६५ वर्षीया एक महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै वीरगञ्ज महानगरपालिका ११ का ५६ वर्षीय पुरुषको बिहीबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुटुको रोगी उहाँको आईसीयू र भेन्टिलेटरमा राखेर गण्डक अस्पतालमा उपचार भइरहेको थियो । उहाँलाई गएको ६ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय अर्का पुरुषको बिहीबार राति ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । गएको ५ गते उहाँ अस्पताल भर्ना हुन भएको थियो । उहाँलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

वीरगञ्ज महानगरपालिका २ को छपकैयाका ६५ वर्षीय अर्का एक पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उहाँको निधनपछि कोरोनाको परीक्षण गरिएको थियो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ५ : ०५ बजे