१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई कांग्रेसको सम्मान



काठमाडौं ।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो । कांग्रेस खेलकुद विभागले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले स्वर्ण पदक विजेतालाई प्रति खेलाडी १० हजारका दरले सम्मान गर्नुभएको हो ।

एकभन्दा बढी पदक जित्ने खेलाडीहरुलाई थप पाँच हजार दिइएको छ । जसअनुसार सागमा चार वटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गरिन् । यस्तै दुई वटा पदक जित्ने तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङलाई १५ हजार रुपैयाँले सम्मान गरिएको छ ।

नेपालले सागमा स्वर्ण, रजत र कास्य गरी दुई सय ६ पदक प्राप्त गरे पनि कांग्रेसले स्वर्ण पदक विजेतालाई मात्रै सम्मान गरेको हो । यद्यपि रजत र कास्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल पदक २०६ जितेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ९ : २५ बजे