१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

चिरोले जिते युरोपियन गोल्डेन बुट, रोनाल्डो तेस्रो स्थानमा



एजेन्सी ।
लाजिओका स्ट्राइकर चिरो इमोबिलेले इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट जितेका छन्।सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको लाजिओका लागि चिरोले एक गोल गरे । उनले २२ औँ मिनेटमा गरेको गोल सिजनमा लिगमा गरेको ३६ औँ गोल बन्यो ।

योसँगै उनले सिरी ए फुटबलमा एकै सिजन सर्वाधिक गोल गर्ने गोन्जालो हेगुइनको कीर्तिमानसँग बराबरी गरे । चिरोले गोल गर्नुअघि नापोलीका लागि फाबिएन रुइजले गोल गरेका थिए ।चिरोको गोलपछि लोरेन्जो इनसिग्न र मातेओ पोलितानोले गोल गरेर नापोलीलाई जित दिलाएका हुन् । लाजिओ चौथो स्थानमा रहेर लिग टुंग्याउन सफल भयो ।

टिम पराजित भए पनि चिरोले घरेलुसँगै युरोपियन गोल्डेन बुट जिते । युभेन्टसका क्रिष्टियानो रोनाल्डो सिरी ए को यो सिजनमा सर्वाधिक गोलकर्ताको सूचिमा दोस्रो स्थानमा रहे । ३१ गोल गरेका उनलाई शनिबार रातिको यो सिजनको अन्तिम खेलमा भने आराम दिइएको थियो ।

युरोपका प्रमुख शीर्ष लिगमा सर्वाधिक गोल गर्ने व्यक्तिलाई प्रदान गरिने युरोपियन गोल्डेन बुट पनि चिरोले पाए । चिरो बुण्डेस लिगामा ३४ गोल गरेका रोबर्ड लेवान्डोस्की भन्दा दुई गोल अघि रहे । रोनाल्डो युरोपमा यो सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा रहे। चिरोले तेस्रो पटक सिरी ए गोल्डेन बुट जितेका हुन् । यसअघि उनले सन् २०१३–१४ को सिजनमा २२ गोल गरेर तथा सन् २०१७–१८ को सिजनमा २९ गोल गरेर माउरो आइकार्डीसँग संयुक्त रुपमा गोल्डेन बुट जितेका थिए ।

यस्तै सन् २००६–०७ को सिजन यता यो पहिलो पटक हो जुन सिजनमा ला लिगाका खेलाडीले एकल वा संयुक्त रुपमा युरोपियन गोल्डेन बुटमा आफ्नो नाम लेखाउन असफल भएका हुन् । यो सिजनको गोल्डेन बुट चिरोले जित्नु अघिका तीन सिजन बार्सिलोनाका मेस्सीले जितेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ६ : २४ बजे