१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बदला वरिलैः बलात्कारी पुरुष समाजको दुरुह चित्रण, एक पूर्ण चलचित्र



चन्द्रकान्त न्यौपाने ।
नेपाली गीतसंगितको क्षेत्रमा प्रकाश सपुत आफैमा एक मूर्धन्य प्रतिभा हुन् । परिमाणात्मक गीतसंगितभन्दा पनि गुणात्मक सांगितिक कोशेली पस्केर दर्शकको मन मुटुमा बस्न सफल प्रकाश सपुतले जब ‘बोल माया’ र ‘गलबन्दी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरे त्यसपछि उनलाई नचिन्ने प्रायः कोही पनि भएन । गीतसंगितमा आफैमा नव प्रवर्तन चाहने सपुतले यी गीतसंगितबाट एक नयाँ खालको तरङ त मच्च्याए नै आगामी नयाँ पुस्तामाथि नै ठुलो चुनौति थपिदिने काम गरेका छन् । उनको उचाईमा पुग्न अहिलेका पुस्तामा सामान्य ज्ञान, दृष्टिकोण र कलाले पुग्दैन ।

बिभिन्न उच्छृङखल गीतसंगितले मौलिक तीज गीतसंगितको उमंङमाथि धावा बोलिरहेको बेला तिनीहरुमाथि नै ठाडो चुनौति दिने गरी प्रकाश सपुतले लिएर आएको बदला वरिलै शीर्षकको म्युजिक भिडियोको जति प्रसंसा गरे पनि कम हुन्न । सपुतकोे यसप्रकारको शब्द, संगित, मौलिकता, परिकल्पना, पटकथा निर्माण र निर्देशनमा देखिएको विशिष्टताको म मुक्तकण्ठले प्रसंसा गर्दछु ।
चकमन्न रातमा बुढाबुढीको संवादबाट सुरु हुन्छः बदला वरिलै
बुढीः हजुरको लामो आयुको लागि आज ब्रत बसेकी छु । हजुर यति रातिमा नगए हुन्न र ?फेरि हजुरलाई केही भइहाल्यो भने ?

बुढोः बढ्ता नहोओ ! के भाछ र मलाई ? (झोक्किँदै) । त्यत्रो त्यत्रो ठुलो मान्छेसंग संगत छ मेरो । कसैले केही गर्न सक्दैन मलाई ।

बुढीः तपाईका ठुला मान्छेले कानुनसंग त बचाउलान् । भगवान्संग बचाउन सक्छन् ? फेरि त्यो बाटोमा तर्साउँछ भन्छन् ।

बुढोः कुरा त ठुलठुला आउँछ तँलाई । तर तेरो त्यो पेटबाट एउटा छोरा चाहिँ किन आउँदैन । आइमाई भएर बढ्ता कुरा गर्छेस् । जा उता भित्र (बाइक स्टार्ट हुन्छ) के लाटाले पापा हेरेजस्तो गरेर हेरिरा । जा भित्र खुरुक्क । ऊ बाटो तताउँछ ।

बुढीः आफूलाई मर्न पर्दैन झैँ गर्छ पापी । (मनमनै गुनगुनाउँद, रुन्चे स्वरमा )

बुढोः बुढीलाई दम्काउँदै बुढोले मोटरसाइकलको साइरन बजाउँदै बाटो तताउँछ
त्यत्तिकैमा कुनै साथीको फोन आउँछ ।

बुढोः हेलो म आउँदै छु के । हिँँडिराख्या छु, अँ कति रुपैयाँ प्वाइन्ट खेल्ने होर ?

साथीः यहाँ आउनु न सल्लाहा गरौँला ।

बाटोमा टक्क उभिएर एक सुन्दर युवतीले बाटो कुरेर बसेकी हुन्छिन् । त्यत्तिकैमा बुढोको ध्यान त्यतै मोडिन्छ…..

बुढोः फोनमा गफिँदै…… ए एकछिन् एकछिन् । यहाँ एउटा च्वाँक केटी देखेँ के! एकछिन् एकछिन् ।

साथीः ए लल, केटी त देख्नै नहुने है सरलाई ।
मोटरसाइकल रोकिन्छ……..

युवतीः तलसम्म पुर्याइदिनु न(मधुर स्वरमा)

बुढोः भैहाल्छ नि, बसबस (खुसीले उत्तेजित हुँदै)

युवतीः एउटा गीत गाम् ? (डराईडराई)

बुढोः गायिका हो कि क्या हो ?

युवतीः गायिका बन्ने सपना थियो

बुढोः लल गाऊ

युवतीलाई बाइकमा चढाएर बुढो सररर हुँइकिन्छ…

अनि सुरु हुन्छ बदला वरिलैको वास्तविक कहानी

कहाँनी सुरु गरुँ मैले काँ बाट…

वरिलै भन्न पनि लाजै छ…

जिन्दगीमा मेरो घट्यो एउटा घटना…

वरिलै चोट अझै ताजा छ…

हो हो हो हो……..

मेरो पनि आँखामा थिए धेरै सपना

बरिलै जिन्दगीको बारेमा

संसार जित्छु भनेर गरेकिथी अठोट

बरिलै आँफैसँग हारे म ………

यी शब्दहरुले साँच्चिकै एक युवति (नारी) को अहिलेको पीडा, दर्द र दुखाइलाई देखाउँछ । यो भिडियो एक निर्दोश चेलीको जीवनचक्रमा रन्फनिएर नेपाली समाजको तीतो यथार्थ कडा ढंगबाट विष्फोट भएको छ । बदला वरिलैमा प्रयोग भएको संवाद र गीतमा प्रयोग भएका प्रत्येक शब्दहरुमा हाम्रो नेपाली समाजको यथार्थ चित्र उत्रनछन् । निर्मलाको बलात्कारपछि हत्यासंगै समाजमा सिर्जित बलात्कारका घटना, कारण र त्यसपछिको परिणतीलाई वडो सुक्ष्म गहिराइबाट बदलाले टपक्क टिप्न सफल भएको छ । सुनेर भन्दा हेरेर नै यसले दिन खोजेको सन्देश प्रष्ट रुपमा बुझ्न सकिन्छ ।

संभ्रात पुरुषप्रधान समाजले नारीमाथि गरेका बलात्कार, अन्याय, अत्याचार दमन, विभेद र थिचोमिचोको दुरुह चित्रण हो, बदला वरिलै । पात्रका प्रत्येक भाउभंगी र चालढालले पनि पनि यही समाजमा विद्यमान कुरालाई छर्लङ्ग पारेको छ ।

बालकृष्ण समले आफ्नो मुटुको ब्यथा भन्ने गद्यमा उल्लेख गरेजस्तै ‘पति भक्ति त मर्दैन पापी पति भए पनि’ भनेझैँ नारीहरु साँच्चिकै पतिव्रता हुन्छन् । पापी नै भए पनि उनले आफ्नो श्रीमानको कति सम्मान गर्छन्, कति रेखदेख गर्दछन् भन्ने कुराको प्रमाण सुरुमा बुढीको पात्रमा प्रस्तुत हुनुएकी नारी पात्रबाट निश्रित संबाले छर्लङ्ग पार्दछ ।

हजुरको लामो आयुको लागि आज ब्रत बसेकी छु । हजुर यति रातिमा नगए हुन्न र ? फेरि हजुरलाई केही भइहाल्यो भने ?

तर पुरुषहरु भने ती पतिव्रता नारीको संवेदना कत्ति बुझ्न सक्दैनन् । उनीहरुलाई घर परिवार र जहान छोडेर हिड्न रात दिन केही कुर्नु पर्दैन । उनीहरुलाई जता जे गरे पनि छुट हुन्छ भन्ने कुराको पुष्टि बुढो पात्रले प्रयोग गरेको संवादले प्रष्ट पारको छ ।
कुरा त ठुलठुला आउँछ तँलाई …….
घर परिवार सन्तान छोराछोरीसंगै रहेका नेपाली समाजका संभ्रान्त, हुनेखाने वर्गका पुरुष जाति कति स्त्रीलोलुप छन् ? उनीहरु कति स्त्रीलम्पट छन् ? कति परस्त्रीगमन् गर्छन् र आफ्नो यौन प्यास मेटाउन कतिसम्म हर्कत् गर्छन् भन्ने कुराको दुरुह चित्रण गर्न बदला वरिलै सफल भएको छ ।
बुढोः फोनमा गफिँदै, ए एकछिन् एकछिन् । यहाँ एउटा च्वाँक केटी देखेँ के! एकछिन् एकछिन् …..
साथीः ए लल, केटी त देख्नै नहुने है सरलाई

गीतको सुरुको संवादले नेपाली समाजमा छोरा र छोरीवीच कति विभेद छ भन्ने कुरा पनि वडो सरल ढंगबाट प्रस्तुत भएको छ । ‘कुरा त ठुलठुला आउँछ तँलाई । तर तेरो त्यो पेटबाट एउटा छोरा चाहिँ किन आउँदैन ? आइमाई भएर बढ्ता कुरा गर्छेस् भन्ने संवादले यो कुरालाई पुष्टि गर्दछ । यस्तो अज्ञानतामा गाउँघरका सोझासाझा भन्दा समाजका शिक्षित, हुनेखाने र ठुलाठालु नै चुर्लम्म डुवेका छन् भन्ने कुराको प्रमाण पनि बदला वरिलै बनेको छ ।

यत्ति मात्र होइन शक्ति र पहुँचको आडमा रहेका ठुलाठालुहरुलाई सार्वजनिक कार्यक्रममा पनि जे गर्न पनि छुट छ । उनीहरु कानुनभन्दा माथि छन् । भिडियोमा गायिकाको रुपमा प्रस्तुत भएकी पात्र केकी अधिकारीले गीत गाउँदागाउँदै प्रमुख अतिथिको रुपमा आसन ग्रहण गरिरहेको (बुढो) को नजर केकीतिरै ढल्कन सुरु हुन्छ । ती युवतीमाथि उसको नजरिया गलत् ढंगबाट प्रस्तुत हुन्छ । उसले केकी अधिकारीलाई बक्र (यौन) दृष्टिले हेर्छ ।

गीत गाएपछि पुरस्कार र सम्मान वितरणमा बुढोको चरित्रमा प्रस्तुत भएका पात्रले देखाएको गतिविधिले यो कुराको पुष्टि गर्दछ कि, राज्य शक्ति र पहुँचवालहरुलाई इज्जतको कुनै ख्याल हुँदैन । केकीको त्यो कलिलो जवानी देखेर उसमा यौन आकांक्षा पलाउँछ ।

त्यसैको फलस्वरुप त्यस पुरुष पात्रको आँखा केकी अधिकारीको संवेदनशिल अंगमा जान्छ । नभन्दै नजानिँदो पारामा उसले केकीको हात, पिठ्यूँ र गर्धनममा सुम्सुम्याउँछ । यति हुँदा समेत गरिब, निमुखा गाउँका सोझासाझा चेली कुनै प्रतिक्रिया जनाउन सक्दैनन् । समाजले तिनलाई बाँधेको छ । केकी अधिकारीको मौन प्रतिक्रियाबाट त्यो बुझ्न सकिन्छ । केकी माथि त्यसरी सार्वजनिक स्थलमा हिंसा भएको अगाडी अतिथिको रुपमा बसेका कसैले पनि देख्दैनन् । यसले हाम्रो समाजका शिक्षित मानिस कस्ता छन् भन्ने कुराको फोटोकपी गरेको छ ।

पुरस्कार लिएर बेलामा घर फर्कन बस कुरेर बसेकी केकीको अगाडी फेरि त्यही पापी आउँछ । उनले नमान्दा नमान्दै जर्वजस्त मोटरसाइकलमा चढाएर जंगलतिर लैजान्छ । समग्रमा त्यो पाषाण हुदय भएको पापीहरुको पंजामा पर्छिन् केकी । बाबु समान रहेको त्यस पापीको पंजाबाट उनी फुत्किन पाउँदिनन् । उसले जर्वजस्त बलात्कार गर्छ । बलात्कार यतिसम्म गर्दछ कि केकीको श्वास नजाँदासम्म उसको यौन प्यास मेटिँदैन ।

केकी रक्ताम्य हुन्छिन् । योनीबाट रगतको मूल फुट्छ । बलात्कारबाट केकीको फुल जस्तो जोवान त चुँडिन्छ चुँडिन्छ, असह्य पीडा र रक्तश्रावबाट उनको मृत्यु हुन्छ । उनीसंसारबाट सदाको लागि विदा हुन्छिन् । त्यसपछि त्यो बलात्कारी आत्तिन्छ । केकी मरेपछि उसलाई ग्लानी भएको जस्तो देखिन्छ । पसिना आउँछ । चिढ्चिढाउँछ । यताउता गर्छ । फेरि उसमा मनमा अर्को महापापको शुत्रपात हुन्छ । यो कालो कर्तुत पखाल्न अर्को नौटङकी मंचन गर्छ । उसले मरेकी केकीको लासलाई चुन्नीले बाँधेर झुण्याएर आत्महत्या गरेको सावित गर्न खोज्छ । अनि त्यहाँबाट ऊ भाग्छ ।
त्यसपछि
सम्हालेर राखेको फुल जस्तो जोवान
वरिलै चुँड्यो वरै पापीले
खुलेन कैल्यै न्याएको ढोका
वरिलै गरिबको जातिले
खेलौना जस्तै देख्दो रैछ हामीलाई
वरिलै समाजको दृष्टिले
छोरी भएर जन्मनु अभिषाप नै हो भने
वरिलै नजन्माइ देऊ श्रृष्टिले ।

यो गीतमा प्रयुक्त भएका शब्दशब्दले सबैलाई रुवाउँछ । नेपाली समाजबाट नारीहरु बाबु, अंकल, दाजु कोहीबाट पनि सुरक्षित छैनन् । उनीहरुलाई जसले, जहिले पनि जसरी आक्रमण गर्न सक्छ । बलात्कार गर्न सक्छ । नारीहरु भनेका खेलौना मात्रै हुन् । उनीहरुको यहाँ कुनै भूमिका छैन । उनीहरु पुरुषलाई आनन्द दिने साधन मात्रै हुन् । उनीहरु केवल सन्तान उत्पाद गर्ने मेसिन हुन् । नारी भएर जन्मनु अभिषाप हो । गरिब र निमुखाहरुको लागि कहिल्यै पनि न्याएको ढोका खुल्दैन । ‘सानालाई ऐन ठुलालाई चैन भने’झैँ अहिलेसम्मको नेपाली समाजले दुखी, गरिब, नारी र चेलीहरुलाई यही रुपमा परिभाषित गरेको छ भन्ने कुरा माथिको गीतले बताउँछ ।

बलात्कार गरेपछि पनि ती सम्भ्रान्त र पहुँचवाल शक्तिशाली पुरुषलाई कसैले केही गर्न सक्दैन । भीडियोको अन्त्यतिर मरेकी केकी अधिकारीको आत्म फर्केर आउँछ भूत र किचकिनीको स्वरुपमा, एक बदला बनेर । त्यत्रो जघन्य अपराध र बलात्कार गरेका अपराधीहरुलाई फेरि समाजमा शिर ठाडो बनाएर हिँड्न छुट भएपछि केकीजस्ता चेलीहरु बदला बनेर अर्को स्वरुपमा फर्केर आउनुको विकल्प छैन । केकी आगमनले यही कुराको सबुत हो ।

समाजले त्यस्ता बलात्कारीलाई दण्ड दिनु पर्ने हो । तर दिँदैन । त्यसपछि पनि उनीहरु यसैगरी नारी, युवति, बालिका आदिमाथि यसैगरी चरिरहेका हुन्छन् । यो केकीको आत्माले देख्न सक्दैन र उनी बदला बनी आउनु परेको हो । भिडियोमा यदि ती अपराधीले सजाय पाउँथे भने केकीहरु अर्को रुपमा प्रस्तुत हुनु पर्ने थिएन ।

हाम्रो कानुनले अपराधी र बलात्कारीलाई कुनै कारबाही गर्ने ल्याकत राख्न नसकेपछि न्याय मर्न नदिन र अपाराधीले कुनै हालतमा उन्मुक्ति पाउनु हुँदैन भनेर तिनै नारीहरु अर्कै रुप धारण गर्नु पर्ने बाध्यता र विवसतामा छन् । त्यसैको फलस्वरुप केहीको हत्याराको हालत पनि केकीको जस्तै हुन्छ । कानुनले अपराधीलार्ई उम्काए पनि एकदिन न एक दिन उसको हालत त्यस्तै हुन्छ भन्ने राम्रो सन्देश गीतले अन्तिममा दिएको छ ।

मैन वत्ती लिएको भूमिकामा देखिएका बालिकाहरुका तीघ्रा पनि रक्ताम्य छन् । उनीहरु पनि बलत्कृत भएका छन् । तर तिनका बलात्कारीहरुले छुट पाएका छन् । त्यसैले नयाएको खोजिमा उनीहरु अध्यारोमा मैनवत्ती लिएर हिँडिरहेका छन् । कानुनले न्याय नदिएपछि आफै न्यायको खोजीमा उनीहरु भौतारिरहेका छन् । केकीका आमा र बुबा पनि अन्त्यमा त्यो अपराधीको लास हेरेर चित्त बुझाउन बाध्य छन् । ती मैनवत्ती समातेका युवतिहरु त्यही मैनवत्ति लिएर नारीमाथिको अंध्यारोमा उज्यालो खोज्न हिडेको बुझ्न सकिन्छ ।

अन्तिममा समग्र गीतको सन्देश बोकेर मधुर ध्वनीमा निस्कन्छन्, सर्जक प्रकाश सपुत र दिन्छन् सन्देश पाप धुरीबाट कराउँछ । अर्थात् गलत गर्ने मान्छेले जसरी पनि एकदिन न एक दिन सजाय पाउँछ नै । भूत प्रेत कसैले पनि देखेसुनेको नभए पनि यस्ता अपराधीहरुलाई दण्ड दिन मानिस अर्को आत्मा बनी यस्तै गरी प्रस्तुत हुनु पर्ने बाध्यतामा नारी र नागरिक छन् भन्ने कुराको सवुत दिन सफल छन्, सर्जक सपुत ।

वरिष्ठ साहित्यकार गोपाल प्रसाद रिमालले आफ्नो गद्य मसानमा भनेजस्तै जुन घर, ब्यक्ति र समाजमा नारीमाथि अवहेलना हुन्छ, बलत्कार हुन्छ । हिँसा हुन्छ । अन्याय हुन्छ त्यो घर आँगन, समाज र ब्यक्ति मसान हो भन्ने सबैले बुझौँ । सार्वजनिक स्थलमा हुने हिँसा कसैले पनि नसहऔँ ।
त्यसैले उप्रान्त अब कोही कसैले पनि नारीमाथि बक्र दृष्टिले नहेरौँ । अन्याय, अत्याचार, बलात्कार नगरौँ । नारी र पुरुष दुवैको समान सहभागिताविना यो संसारको परिकल्पना गर्न सकिँदैन । नारीलाई सम्मान गरौँ ।

बदला वरिलै एक पूर्ण चलचित्र
एउटा १५ मिनेटको म्युजिक भिडियो भए पनि यो एक पूर्ण ठुलो पर्दाको चलचित्र रहेको मैले पाएको छु । गीतका शब्दमाभन्दा पनि सपुतको सन्देश दृश्यमा केन्द्रित छ । ‘एउटा तस्विरले हजार शब्द बोल्छ’ भनेझैँ बदलाको तस्विरले नेपाली समाजका हजारौँ मात्र होइन करोडौँ शब्द र यथार्थ भावना बोकेको छ । जति हेरे पनि धित मर्दैन । सुरु देखि नै करुण र भयानक रसमा चुर्लम्म डुबेको बदला वरिलैले एकैछिन पनि दर्शक श्रोतालाई उम्किएर अन्त जान दिँदैन । हेर्दासम्म एक छिन पनि दर्शकको ध्यान अन्त मोडिन्न ।

जति लामो चलचित्र निर्माण गरे पनि पात्र चयन, दृश्य, संवाद, द्धन्द्ध संयोजना, संगितको उचित तालमेल भएन भने जति नै खर्च गरेर बनाए पनि त्यसले दर्शकलाई तान्दैन । साढे २ देखि ३ घण्टासम्म बनेका कतिपय चलचित्र पूर्ण नभएर फिक्का भइरहेका बेला प्रकाश सपुतले बजारमा ल्याएको बदला वरिलै म्युजिक भिडियो चलचित्र नै हो, मेरो विचारमा । यसमा एक मूल कथासंगै मस्तै उपकथा जोडिएका छन् । तर मुल कथा कतै लर्वराएको छैन । लुप्त छैन ।

ती उपकथाले पनि मूल कथालाई चरप्प समातेका कारण शशक्त बनेको छ म्युजिक भिडियो । बदला वरिलै ले मनोरञ्जनभन्दा बढी नेपाली समाजको सन्देश प्रवाह गरेको छ । यसको शब्द र संगित संयोजन, दृश्य निर्माण, पात्र चयन र निर्देशनमा प्रकाश सपुतको कहिँकतै यत्ति पनि खोट देखिन्न ।
जतिजति संवाद र दृश्य अघि बढ्छन् उतिउति हेर्ने र सुन्ने दर्शक श्रोताको मन जिरिङ्ग हुन्छ । सिरिङ्ग हुन्छ । भिडियोमा चरम कुतूहुलता छ । एक सफल चलचित्रमा कुतुहलता सुरुदेखि अन्त्यसम्म हुनै पर्दछ । सुरुमा त कुतुहुलता छ, नै । अन्त्यमा पनि कुतुहुलता छोडेर सकिएको छ भिडियो । अब ती केकीमा आमा बुबाले कसरी दिन विताउलान् ? त्यो पापीष्ठकी श्रीमती र दुई अबोध छोरी के गरे होलान् ? त्यो रमित समाजले कस्तो भूमिका खेल्ला ? भूत समाजमा छ कि छैन ? इत्यादि जिज्ञासा छोडेर भिडियो समाप्त हुन्छ ।

केकी अधिकारीको अभिनयमा जादु नै देखिएको छ । उनले यस गीतले दिन खोजेको सन्देशमा गरेको अभिनयले पूर्ण न्याय दिएको छ । केकी यस्ता भावनाका चलचित्र र म्युजिक भिडियोमा अन्तस्करणबाट अभिनय गरेकी हुन्छिन् । यस भिडियोबाट उनी चलचित्रबाटभन्दा पनि माथि उठ्ने मैले विश्वास लिएको छु । पुरुषप्रधान अपराधी र बलत्कारी पुरुष समाजको भूमिकामा रहेका धुुव कोइरालाले पनि त्यो भूमिका निकै शशक्त ढंगबाट निभाएका छन् ।

भिडियोको देश, काल, परिस्थिति पनि निकै सुहाउँदो छ विषयवस्तु अनुसार । सुहाएको छ । देवी घर्तीको स्वर नयाँ ढंगले उत्कट भएको छ । देवी घर्तिका सायौँ गीत सुने पनि यो गीतमा देखिएको स्वरको जादु अजम्बरी छ । गीत सुन्दै जाँदा यसमा अरु कलाकार जोकोही आए पनि फिक्का नै सावित हुने थिए ।

बोल माया र गलबन्दी बोलको गीतले कला क्षेत्रमा निकै माथि अग्लिएका प्रकाश सपुतको यस गीत र म्युपिजक भीडियोले थप उचाई प्रदान गर्नेमा विश्वास लिँदै यो उच्च कोटीको प्रस्तुतिको लागि मेरा आदरणीय गायक, सर्जक तथा कुशल संगितकार प्रकाश सपूतप्रति साधुबाद !

नोटः लेख्ने क्रममा सपुतको दृष्टिकोणभन्दा बाहिर गएको भए माफी चाहन्छु ।

पुरा भिडियो यसप्रकार छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  १० : ५० बजे