२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

च्याम्पियन्स लिगमा सिटीविरुद्ध खेल्न नचाहेकाले बेल टिममा परेनन्ः जिदान



एजेन्सी ।

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फरवार्ड ग्यारेथ बेल च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा म्यान्चेष्टर सिटीबिरुद्ध खेल्न नचाहेको बताएका छन् ।शुक्रबार हुने खेल अगाडी सार्वजनीक गरिएको रियल मड्रिडको २४ सदस्यीय टिममा बेलको नाम समावेश छैन ।

३१ बर्षका फरवार्ड यस सिजन सबै प्रतियोगितामा मात्र १४ खेलमा मैदान उत्रन पाए । स्पेनमा फुटबल पुन सुरु भएपछि बेलले मात्र दुई खेल खेल्न पाएका छन् । ‘यो निकै ब्यक्तिगत कुराकानी थियो । उनले नखेल्ने बताए ।’ जिदानले भनेका छन् । ‘उनी र मेरो बीच बाँकी कुरा छन् । तर उनले आफु खेल्न नचाहेको बताएका थिए ।’ उनले भने ।

ईङ्लिस मिडियाका अनुसार बेलले म्यान्चेष्टर सिटीको मैदान ईतिहादमा भ्रमण गर्न चाहेका थिएनन् । किनकी उनलाई आफु मैदान उत्रन पाउदिन भन्ने थाहा थियो । स्पेनमा फेब्रुअरीमा भएको पहिलो लेगको खेल सिटीले २–१ ले जितेको थियो । कोरोना भाईरसको महामारीका कारण लगभग ५ महिना खेल प्रभावित बनेको थियो ।

खेलको विजेताले लियोन र युभेन्ट्सबीचको विजेतासंग क्वार्टरफाईनलमा खेल्नेछ ।बेल गत सिजन चीनियाँ क्लब जान लागेका थिए । तर अन्तिम समयमा आएर उनलाई अनुबन्धन गर्ने तयारीबाट चीनियाँ क्लबले हात झिकेको थियो ।

बेलको भविष्यको बिषयमा जिदानले भने, ‘मलाई थाहा छैन । अहिले उनी रियलका खेलाडी हुन् । त्यो कुरा परिवर्तन हुदैन । उनी हाम्रा खेलाडी हुन् ।’ जिदानले भने ।‘म त्यसलाई सम्मान गर्छु । म उनलाई सम्मान गर्छु । जसरी अरुलाई गर्छु ।’ उनले भने ।

‘उनले नखेल्ने चाहना राखे । त्यही कुरा मात्र म तपाईलाई भन्न सक्छु । उनी बाहेक सबै खेलाडी हामीसंग छन् । उनीहरु खेलको तयारी गरेका छन् । एउटा मात्र कुरा हामी खेलमा केन्द्रित रहेका छौ ।’ उनले भने ।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  ८ : ०९ बजे