८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

तातो चिया छातिमा पोखिदा कपिलवस्तुमा नाबालिकाको ज्यान गयो



मायादेवी अनलाइन, तौलिहवा ।
आमाले पिईरहेको चिया छातिमा पोखिदा कपिलवस्तुमा एक नाबालिकाको ज्यान गएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी एक बर्षीया नाबालिकाको शनिवार दिउँसो ज्यान गएको हो ।

बालिकाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ । जिल्लाको शुद्धोदन गाउँपालिकाको लवनी घर भएका गुलाम मुसलमानले केही बर्ष देखि मैनिहवामा सोफिया आल्मुनियम पसल चलाएर बसेका थिए ।

त्यही पसलमा आमा खातुन निशाले चिया खाईरहेका बेला तान्दा छोरीको छातीमा चिया पोखिन पुगेको थियो । तातो चियाले पोले पछि गम्भीर घाइते भएकी सोफियालाई तत्कालै उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो ।

त्यही उपचार गर्दा गर्दै छोरीको केही बेरमै मृत्यु भएको बुबा गुलामले बताउनुभयो । उपचारमा अस्पतालको इमरजेन्सी फाँटका कर्मचारीले गम्भीर लापरवाही गरेको उहाले पनि आरोप लगाउनुभएको छ ।

स्वास्थ्यकर्मीको लापरबाहीले छोरीको ज्यान गएको भन्दै मृतक परिवार र छिमेकीहरुले प्रशासन कार्यालयमा साँझ बिरोध प्रर्दशन गरेका थिए । उनीहरुले लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कडा कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्तीको माग गरेका छन ।

उता अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट किशोर बन्जाडेले बालिकाको उपचारमा स्वास्थ्यकर्मीले लापरबाही नगरको दाबी गर्नुभयो । उहाले जलेको बालिका भन्दा गम्भीर अवस्थामा रहेका अरु बिरामीहरुको स्वास्थ्यकर्मीले उपचार गरीरहेको बेला घाईते बालिकालाई अस्पताल ल्याईएको थियो ।

घाईते बालिकालाई मलम लगाउने, औषधी दिईएको र उपचारको बेला बालिका सिरियस नभएको बन्जाडेले बताउनुभयो । उपचार गर्दा गर्दै बालिकाको एक्कासी मृत्यु भएको बन्जाडेले प्रष्टाउनुभयो ।

प्रकाशित मिति : २४ श्रावण २०७७ शनिबार ००:००  १० : १४ बजे