६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

संघीय संसदका पदाधिकारीलाई अद्यावधिक नक्सा अंकित लोगो हस्तान्तरण 



काठमाडौं ।
नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको छ । 

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका हुन् । 

सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आजैदेखि नयाँ लोगो लगाएका छन् । 
  
गत ११ जेठमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरूले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । 

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो  र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।  

२ लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३।५ सेन्टिमिटर व्यास छ । लोगो बागमती प्रदेश सरकारमातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । 

प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिए । संघीय संसदका सदस्यहरूलाई समेत नयाँ नक्सा अंकित लोगो आजैदेखि उपलब्ध गराइनेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  ५ : ५० बजे