२७ बैशाख २०८१, बिहिबार | Fri May 10 2024

ईश्वरवाद !



कमल पौड्याल, योगाचार्य ।
वैदिक ईश्वरवादको विश्लेषण गर्नको लागी हामी यस अन्तर्गत निम्न तत्वहरुलाई समावेश गर्न सक्छौँ- “(१) ईश्वर हाम्रो गोप्य कार्य तथा विचारलाई पनि जान्दछ, ऊ अत्यन्तै शक्तिशाली छ। (२) ईश्वर प्रसन्न भएमा भौतिक सुख- समृद्धि तथा परलोकमा स्वर्ग एवं मोक्ष दिन्छ। (३) ऊ रिसाएमा दैविक, दैहिक तथा भौतिक दुःख दिन्छ। (४) धर्माचारण तथा उपासनाबाट ऊ प्रसन्न हुन्छ, पापी तथा नास्तिकसंग अप्रसन्न रहन्छ।” अनेकौं मन्त्र, श्लोक, सूक्त यिनै चार धारणाहरुको वरिपरि चक्कर लगाउंदै अनेक प्रकारले यिनै चार कुराको प्रतिपादन, उपदेश गर्छ।

अब हामीले विचार गर्नु पर्छ कि कस्तो बुद्धिमतापूर्वक मानसिक शासन स्थापना गर्नको लागी यो व्यवस्था अपनाउने? ईश्वर सर्वव्यापक हुनाले हाम्रा सम्पूर्ण कामलाई देख्छ- यो शासनको अत्यन्त व्यापकताको लागी हो। देख्न सकिन्छ कि पुलिस थानामा त चोरले उपद्रो गर्दैन तर पुलिसको पहुँच कम तथा ढिलो हुने ठाउँमा चोरी-डकैति ज्यादा हुन्छ। भिडभाड चलेको सडकमा लुटपाट हुँदैन तर सुनसान स्थानमा लुटेराको डर ज्यादा हुन्छ।

उज्यालोको तुलनामा अँध्यारोमा अपराधिक गतिविधि बढि हुन्छ। यसबाट थाहा हुन्छ कि दुष्टता को तुलनामा न्यूनता यस कुरामा निर्भर हुन्छ कि चोरलाई कसैले देख्छ वा देख्दैन, देख्ने बलियो छ वा छैन। बाँदर कुनै सानो नानीलाई कमजोर सम्झेर उसको हातबाट रोटी खोस्छ तर ठूलो मान्छेको अगाडी जान पनि उसको हिम्मत हुँदैन, किनकी बाँदरले जान्दछ कि बलियो मानिसले सजिलै रोटी छोड्न दिँदैन साथै लट्ठीले ढाड भाँच्चिने गरी हान्छ। ईश्वर अनन्त बलवाला हुन्छ, सर्वव्यापक छ साथै पापकर्मबाट अप्रसन्न हुन्छ।

यसको अर्थ अर्को शब्दमा यो पनि हुन सक्छ कि कुनै हात्ती जस्तै बलवान् पुलिसको गुप्तचर सिपाहीं हातमा हतियार तथा हतकडी लिएर अदृश्य रुपले हाम्रो निगरानी को लागी हरबखत टाउको माथि घुमफिर गरिरहेको छ। यो विश्वास जति प्रश्ट, साँचो तथा बलवान हुन्छ त्यति नै मनुष्य धर्मप्रिय बन्दै जान्छ। उपर्युक्त विश्वास जति संशयात्मक, अस्पष्ट, कमजोर तथा धमिलो हुँदै जान्छ त्यति नै स्वच्छन्दता तथा दम्भपना बढ्दै जान्छ र आपराधिक गतिविधि पनि त्यसै मात्रामा बढ्दै जान्छ।

यदि ईश्वरीय शासन संदेहात्मक एवं निर्बल छ यस्तो मान्यता बढ्नाले अराजकता फैलिन्छ। जब राज्यमा सैनक विद्रोह हुन्छ तब अपराधिक मानसिकता भएका व्यक्तिहरु पूर्ण रुपले स्वार्थसाधन गर्छन् किनकी उनीहरुको विश्वास हुन्छ कि राज्यसत्ता कमजोर भएकोले दण्ड दिन सक्दैन। हामी देख्न सक्छौं कि आफुलाई ईश्वर-भक्त कहनेहरु ठूल-ठूला पाप कर्म गर्छन्।

इनको मनोविज्ञान यस्तो हुन्छ कि पाखंडी जस्तै मानिसहरुलाई भट्खालोमा हाल्नको लागी, सस्तो वाहवाही कमाउनको लागी उनीहरु लामो-ठूलो चिलक गलाउँछन्, कण्ठी माला धारण गर्छन्, रामधुन लगाउँछन् तर मानसिक रुपमा ईश्वरको अत्यन्तै धमिलो सत्ता धारण गर्छन्। माथिका पंतिहरुमा अदृश्य रुपले चौकिदारी गर्दै टाउको माथि घुम्ने पुलिस समान जुन कल्पनाको उल्लेख गरिएको छ, सो चित्र त उनीहरुको मनमा अत्यन्तै कमजोर हुन्छ, यसैले मानसिक अराजकताको आधारमा उनको पाशविक प्रवृति मनोमानी गरिरहन्छ।

ईश्वरवादको पहिलो सिद्धान्त नै आधारभूत छ। सुई बिनाको घडीको केकाम? बेहोसीबाट फर्केको विचराले कसको तिर्खा मेटाउन सक्छ? वेदका जति मन्त्रमा ईश्वर सम्बन्धी वर्णन छ तिनको ज्यादा भागमा ईश्वरको महानता सूचकको गुंण गान छ। तीं गुंणमा पनि सर्वव्यापक तथा शक्तिशालीको उल्लेख अत्यधिक गरिएको छ।

यसको प्रयोजन यहि हो कि मानव मस्तिष्कमा यो चित्र अत्यन्त्र स्पश्ट तथा सुदृढ बनेर जाओस् र ऊ अनन्त शक्तिशाली, शंख, चक्र, गदा जस्ता कठोर दण्ड शास्त्रहरुमा उल्लेखित ईश्वर, पापबाट धेरै कुंढिन्छ र हाम्रो चौकिदारीको लागी अदृश्य रुपले हर घडि साथै रहन्छ। जसको मनमा यो कल्पना चित्र जति धेरै गहिरो तथा श्रद्धा विश्वासमय हुन्छ, ऊ त्यति नै धेरै आस्तिक हुन्छ। जसको अंतःकरणमा यो विश्वास जति निर्बल छ त्यति नै अंशमा ऊ नास्तिक हुन्छ।

माथि बताइएका चार सिद्धान्त मध्ये सर्वव्यापकताको सिद्धान्त प्रमुख हो। बाँकि तीन यसलाई पुरा गर्नको लागी हुन्। “प्रसन्न भएमा भौतिक सुख वा मोक्ष दिने” यस कुरामा प्रलोभन तत्व छ, जुन पशु स्वभावलाई आकर्शित गर्नको लागी आवश्यक हुन्छ। धर्मग्रन्थको अत्यन्त ठूलो अंश “माहात्म्य” को वर्णनमा लेखिएको छ।

गंगास्नानले पाप कट्छ, सत्यनारायणको कथा सुन्नाले धन प्राप्त हुन्छ, शंकरजी औघडदानी (जो माग्यो त्यो दिने व्यक्ति, अघोरी) हुनुन्छ, उहां खुशी भएमा मालामाल गरिदिनु हुन्छ, हनुमानले रोग तथा भूत-पिसाचलाई भगाइ दिन्छन्, तुलसी पूजनले कन्या-वरलाई मनले चाहे जस्तै वर मिल्छ, ब्रह्मकुण्डमा स्नान गर्नाले संतान प्राप्त हुन्छ। तीर्थ, व्रत-उपासनाको पुस्तक पढ्नाले, सुन्नाले, सत्संगको निदान सानादेखि ठूलासम्म सबै उत्तम कामका हिन्दू धर्म ग्रन्थमा अत्यन्तै बढाइ-चढाइका साथ माहात्म्यमा लेखिएको पाइन्छ।

त्यो सबै मनुष्य भित्रको पाशविक स्वभावलाई लोभ्याउनको लागी हो। सांडेलाई घाँस देखाउंदै लैजानुहोस्, ऊ तपाइँको पछिपछि आउँनेछ। सानो मानव चेतना भएकाहरुलाई प्रलोभन आवश्यक सम्झेर माहात्म्यमा उल्लेख गर्नु धर्माचार्यहरुको लागि अति आवश्यक थियो, यसो नगरी सो कार्य बिचैमा रोकिन्थ्यो। ईश्वरको सम्बन्धमा पनि उनीहरुलाई यही नीतिमको अवलंवन गर्नु पर्यो।

तार्किक व्यक्तिहरुले प्रायः यस्तो भन्ने गरेको सुनिन्छ-“भजनको कुनै महत्व छैन, भजन गर्नेहरुको कुनै यस्तो सम्पदा मिल्दैन जुन भजन नगर्नेलाई नमिलेको होस्। यदि मिल्थ्यो भने पनि उसको कर्तव्यको लागी मिल्छ, भजन मिल्दैन।” यस्ता व्यक्तिमा हाम्रो निवेदन यो छ कि हरेक कुरामा तर्क नगर्नुहोस्।

“दूध पिउनाले टुप्पी बढ्छ” यस्तो उपदेश माताले आफ्नो पुत्रलाई धेरै दूध पिलाउनको लागी गर्छिन्। “यस्तो काम गर्यौ भने तिमी ठूलो मान्छे बन्नेछौ”, यस्ता प्रलोभनहरुको माध्यमबाट आमा आफ्ना सन्तानलाई आज्ञाकारी बनाउँछिन्। यदि आमाले यो मार्गलाई छोडेर धेरै दूध पिलाउनको लागी बच्चालाई यस्तो मार्ग अपनाएमा –“दूधमा राम्रा-राम्रा भिटामिन, क्याल्सियम, फस्फोरस्, प्रोटिन आदि तत्व छन् जसले सेतो रक्तकणलाई वृद्धि गर्छ” यस्तो उपदेश सत्य भएपनि निरर्थक हुन्छ।

आज्ञाकारी बनाउनको लागी यदि “राजपुत्र हुने” प्रलोभन छोडेर मनुस्मृतिका श्लोक निकालेर धर्मोपदेश सुनाएमा अल्प मानसिकताका कारण बालकको मस्तिष्कले बुझ्न सक्दैन त्यसैले यस्तो उपदेश निरर्थक हुन्छ। तार्किकले तर्क गर्न सक्छन् कि माता झुट बोल्छिन्। टुप्पी बढ्ने तथा राजपुत्र हुने प्रलोभन असत्य हो। तर यति भन्नाले मात्र काम चल्दैन। उनलाई वास्तविकतासम्म पुर्याउनै पर्छ। साना नानीको अविकसित मस्तिष्कलाई लोभका अतिरिक्त अन्य कुनै तरिकाले प्रभावित गर्न सकिंदैन। यसै प्रकार धर्माचार्यले पनि धर्ममार्गमा बालबुद्धि, स्वल्प ज्ञान राख्नेका लागी नानाप्रकारका प्रलोभनयुक्त माहात्म्यको रचना गरे।

अन्य कुनै मार्ग पनि त उनीहरुसंग थिएन। यस प्रकार ईश्वरको कृपाले भौतिक सुख-सम्पती एवं स्वर्ग मोक्ष प्राप्त गर्ने प्रलोभन राखिएको हो भने कुन अनुचित होइन। कर्म गर्नाले नै सुख मिल्न सक्छ यस्तो मान्यता राख्नेसंग हाम्रो कुनै विरोध छैन। शास्त्रमा ईश्वर शब्दले बहुअर्थ दिन्छ। कहिं-कहिं उसको अर्थ कर्म पनि हुन्छ। कर्तव्यवादी यस स्थानमा ईश्वर शब्दको अर्थ कर्म लगाउंछन् भने कुनै आपत्ति छैन।

यसका अतिरिक्त भयको पालो आउंछ। अप्रसन्न भएमा ईश्वरले अनेक प्रकारका दण्ड दिन्छ। यो प्रलोभन उपर्युक्त भागको दोस्रो अंश हो। कुनै पनि कार्यका दुई पाटा हुन्छन्- एउटा उज्यालो र अर्को अँध्यारो। ब्रह्मचर्य राख्नाले बलवान बनिन्छ-यो वीर्य रक्षाको उज्यालो पाटो हो।

वीर्य नाश गर्नाले रोगी एवं कमजोर बनिन्छ-यो त्यसै सिद्धान्तको अँध्यारो पाटो हो। विद्या बढ्नाले कति सुख मिल्छ जब यस्तो बताइन्छ कि नपढ्नाले अत्यन्तै अभावग्रस्त एवं दुःखी जीवन विताउनु पर्नेछ। यसैप्रकार जहाँ ईश्वरको प्रशन्नताले सुख मिल्छ भनिन्छ त्यहाँ उसको अँध्यारो पाटो पनि बताइएको छ कि ईश्वर दुःखी भएमा दुःख तथा कष्ट मिल्नेछ।

लोभलाई उज्यालो पाटो मानिन्छ भने भयलाई अँध्यारो। लोभको मार्गमा नहिंड्ने पशु स्वभावको लागी अन्तिम मार्ग भय पनि बचिरहन्छ। धर्म आज्ञामा नहिंडेमा ईश्वर नाना प्रकारका आंधि-व्याधिले दुःख दिनेछ- यस्तो भावनाले अधर्मतीर जानबाट रोक्नेछ। यदि गहिरो विश्वास जम्यो भने निशन्देह जीवनको सारा क्रिया त्यसै अनुकूल हुन थाल्छ। पानीमा डुब्नाले मृत्यु हुन्छ, यो विश्वासले सदा गहिरो पानीमा जानबाट साबधान गर्छ। प्रत्यक्ष रुपले डुबेर मरेको अनुभव आफ्नो जीवनभरी नभएको भएपनि विश्वास अनुभव भन्दा पनि बलियो हुन्छ।

अनुभवलाई भुल्न सकिन्छ तर विश्वासलाई कहिल्यै भुल्न सकिंदैन भूतको विश्वास अधिकांसमा कल्पित हुन्छ, तर त्यस अन्धविश्वासबाटै अगणित व्यक्ति सुख-दुःखको प्रत्यक्ष अनुभव गर्छन्, कति त त्यसैमा अल्झेर मर्छन्। निसन्देह विश्वास अत्यन्त ठूलो शक्ति हो। ईश्वर पापको दण्ड दिन्छ- यदि यो कुरा पूर्ण निश्चित भएमा हतियारको सहारामा हतकडी लगाएको कैदिले जसरी भलमनसाहत चल्नुपर्छ त्यस्तै आचरण ईश्वरवादीले पनि गर्नु पर्छ।

चौथो तत्व यो हो कि- “धर्माचरण तथा उपासनाले ईश्वर प्रसन्न हुन्छन् र यसको विपरीत भएमा अप्रसन्न” धर्माचरणको कुरा हामीले माथिल्ला पंक्तिहरुमा विस्तारपूर्वक गरिसक्यौं कि तुच्छ स्वार्थ, पशुवृद्धि, सामाजिक जीवनतीर बढ्नको लागि धर्मको सारा विधान छ तथा त्यस विधानको रक्षाको लागी ईश्वरीय शासनको स्थापना भएको हो तर उपासनाले प्रसन्न र निन्दाले अप्रसन्न हुने कुरा अगाडी आएमा ठूलो शंका उठेको छ, किनकी यसले त ईश्वर पनि चापलूसी मनपराउने, पक्षपाती, नवाब प्रकृतिको सिद्ध हुन्छ।

उसको अलिप्तता, समदर्शीपन, निस्पृहतामा स्पष्ट आक्षेप आउंछ र ऊ पनि साधारण मनोविकारी मनुष्यको सीमामा आउंछ। यस संकाको समाधान गर्नको लागी केवल सुख्खा वादविवादले हुँदैन, बरु हामी गहिराइमा उत्रेर त्यसको कारण पत्ता लगाउनु पर्छ जसको कारण ईश्वरलाई उपासनाप्रिय स्वभावको मानियो। डाक्टर हंटरले आफ्नो अनुसन्धानको आधारमा यस्तो प्रमाणित गरे –“मूल वृत्तिको विरुद्धमा यदि कुनै नयाँ मार्ग निकाल्नु छ भने त्यसको लागी पटक-पटक कयौं पटक प्रयत्न गर्नाले नयाँ स्वभाव बनाउनु पर्छ।

यसमा पनि त्यो आदत यति कमजोर हुन्छ कि यदि केहि दिन त्यसतर्फ उदासीनता धारण गर्नाले त्यो मेटिन्छ। त्यसैले यस्ता आदतलाई सुरक्षीत राख्नको लागी निरन्तर प्रयत्न गरिरहनु पर्छ।” यो अनादि सत्य वैदिक ऋषिहरुलाई पनि ज्ञात थियो। उनीहरुले सोचे कि ईश्वरीय सत्ताको सर्वांगीण व्यवस्था बनाइदिए पस्चात पनि यो पशु-प्रवृतिको मुकाबलामा हल्का नै गरिदिन्छ तथा थोरैमात्र पनि उदार हुनाले कठिनाई बढेर जान्छ। यसैले नित्य कयौं-कयौं पटक विशेष प्रेम एवं भक्तिको साथ मूर्तिपूजाको सहयोगले ध्यानमग्न भएर नित्य नैमित्तिक कर्मकाण्डबाट ईश्वरको पूजा-उपासना गरिरहनेको आदेश गरियो।

चंगा बनाउने, त्यसमा डोरी बाध्ने, हावामा उडाउने, पुनः डोरीलाई हातबाट छोडिदिएमा सारा प्रयत्न निरर्थक बन्नेछ। जबसम्म चंगालाई हावामा उडाउनु छ तबसम्म डोरीलाई हातमा राखिरहनु पर्छ, त्यसको गतिविधिलाई संचालन गर्नु पर्छ। फौजी सिपाईलाई नित्य परेड गर्नु पर्छ ताकि उसले त्यस शिक्षालाई नभुलोस् बरु त्यसमा अभ्यस्त बनिरहोस्। धर्म रक्षाको लागि ईश्वरको शासन बनाइयो, तर नियमितता बिना त्यो शासन विधान कसरी चल्ला? किनकी ईश्वरवाद नयां शिक्षण हो, स्वार्थलाई जीव जान्दछ, तर ईश्वरको बारेमा उसलाई मनुष्य योनिमा नै ज्ञान मिल्छ। पुरानो आदतको तुलनामा नयां पक्कै कमजोर हुन्छ।

जंगली सुंगा बेल-जामुन खानेगर्छ तर सुनको पिंजडामा दाख-अंगूर खाएर नयाँ सुख प्राप्त गर्नको लागी पक्रिएर थुनिन मन पराउंदैन। पिंजडामा उत्तम् रहनसहन मिले पनि ऊ पुनः उड्ने प्रयत्न गर्छ, पिंजडाबाट भाग्ने उसको प्रयत्न नित्य रहन्छ। यदि पिंजडा कमजोर भएमा सम्भवत नयाँ सुव्यवस्थालाई त्यागेर जान्छ चाहे जंगलमा उसलाई जतिसुकै कष्ट होस्! यहि देवासुर संग्राम मनुष्यको मनमा पनि नित्य भइरहन्छ। अगाडि बढ्ने तथा पछाडि हट्ने रस्सा कस्सी चलिरहन्छ। केहि सुस्त हुने वित्तिकै सक्खर गोबर बन्न सक्छ।

यसैले ईश्वरवादका आचार्यहरुले यस कुरामा अत्यन्तै जोड दिए कि ईश्वरको नित्य उपासना गर्नु पर्छ। यसो नगरेमा ईश्वरीय शासनमा विश्वास गर्नेहरुलाई लाभ प्राप्त हुन सक्दैन। यहि लाभ प्राप्त गर्न प्रसन्नता एवं उसलाई प्राप्त नगर्नु अप्रसन्नताको अर्थमा लिइन्छ।

हामी मान्छौं कि ईश्वर निस्पृह छ, उसलाई निन्दा-स्तुतिको आवश्यकता छैन। तर यो पनि मान्नु पर्छ कि नित्य उपासना नगरी ईश्वरीय शासनप्रतिको विश्वास मनमा बनाइ रहन कठिन छ। प्रसन्नता-अप्रसन्नताको आलंकारिक शब्दमा यहाँ यस्तै प्रयोजनमा गरिएको छ। प्रसन्न हुनु सुख दिनु, अप्रसन्न हुनु दुःख दिनु ईश्वरको यस कार्यक्रलाई हाम्रो सानो बुद्धिले वाद-विवाद गरेर सहि निश्कर्षमा पुग्न सकिंदैन।

यदि हामीले आज यसको भावार्थ यसरी सम्झिमा “ईश्वरको उपासनाले मनुष्य आफ्नो पशु स्वभावलाई दबाएर सुख शान्तिमय जीवन बिताइ रहन सक्छ।” यासद यो अर्थ शास्त्रकारको आन्तरिक इच्छाको अनुकूल होला। माहात्म्यको वर्णन गर्ने समय प्रलोभनको समावेश जुन दृष्टिले भएको थियो, त्यसै दृष्टिको उपासनाले ईश्वर प्रसन्न हुने तथा सुख दिने वर्णन छ।

मूल तात्पर्य यति हो कि ईश्वरीय विश्वासलाई दृढ राख्न का लागी निरन्तको अभ्यास आवश्यक छ जसले धर्माचरणको लागी हाम्रा पूर्वजले जुन गुण मानसिक रहस्यको आधारमा ईश्वरवादको महत्वपूर्ण व्यवस्था भनाए त्यो दृढ तथा सुव्यवस्थित बनिरहोस्।

प्रकाशित मिति : ५ भाद्र २०७७ शुक्रबार ००:००  ९ : ४७ बजे