३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

रैनाले यो सिजनको आईपीएलका सबै खेल गुमाउने



एजेन्सी ।
चेन्नाई सुपर किङ्सका सुरेश रैनाले युएईमा हुन लागेको यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का सबै खेल गुमाउने भएका छन्। आईपीएल खेल्न युएई पुगेका उनी व्यक्तिगत कारण देखाउँदै स्वदेश फिर्ता हुने भएपछि सबै खेल गुमाउने भएका हुन् ।

रैना यस सिजनमा उपलब्ध नहुने जानकारी शनिबार चेन्नाईले ट्वीटर मार्फत् जानकारी दिएको छ। ‘सुरेश रैना व्यक्तिगत समस्याका कारण भारत फर्किएका छन्’, ट्वीटरमा भनिएको छ, ‘उनी सिजनको सम्पूर्ण खेलमा उपलब्ध हुने छैनन् ।’

रैनाले हालै महेन्द्रसिंह धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले चेन्नाईबाट सबभन्दा बढी रन बनाएका छन् । उनले आईपीएलमा ५,३६८ रन बनाएका छन् । यो स्कोर विराट कोहलीपछि दोस्रो ठुलो हो । कोहलीले आईपीएलमा सबभन्दा बढी ५,४१२ रन बनाएका छन् ।

आईपीएलको यस सिजनाको खेल सेप्टेम्बर १९ देखि नाभेम्बर १० सम्म हुने आयोजकले जनाएको छ ।

यसअघि शुक्रबार मात्र चेन्नाईका १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको समाचार बाहिरिएको थियो । चेन्नाईको टोली अगस्ट २१ मा युएई पुगेर क्वारेन्टिनमा बसेको थियो ।

प्रकाशित मिति : १४ भदौ २०७७ आइतबार ००:००  ९ : ३४ बजे