५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कोरोनाबाट थप ९ जनाको मृत्यु



काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले थप ९ जनाको मृत्यु भएको छ। चितवनमा ४, पर्सामा ३, धरान र काठमाडौंमा एक÷एक जनाको मृत्यु भएको हो।

काठमाडौंको गंगालाल अस्पतालमा उपचाररत पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। लामो समयदेखि मुटु रोगबाट ग्रसित ७० वर्षीय चालिसेको आज विहान ७ बजे मृत्यु भएको काठमाडौं महानगरपालिका ३ का वडा अध्यक्ष दीपक केसीले जानकारी दिए।

काठमाडौं महानगरपालिका ३ का निवासी उहाँ २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए। चितवनमा ३ जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ भने एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। हिजो दिउँसो अस्पताल चाहार्दाचाहार्दै भरतपुर अस्पताल पुगेका तीन जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुमा कडा निमोनिया देखिएकाले मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा गएराति अबेर कोरोना पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारीले जानकारी दिए। यसैबीच, चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको आज विहान मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारका क्रममा विहान २ बजेर ४० मिनेटमा मृत्यु भएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। भदौ १४ गते अस्पतालमा उपचारका लागि पुगेका पुरूषमा १५ गते कोरोना पुष्टि भएको थियो। पर्सामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका ५३ बर्षीय पुरुष, बारा कोहल्वीका ६० वर्षीय पुरुष र अर्का ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेशकुमार चौरसियाले बताए। यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमतिको मृत्यु भएको छ ।

सिराहाको मिर्चैया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी भदौ ९ गते कोरोना पुष्टि भएपछि १० गते प्रतिष्ठानमा भर्ना भएका थिए। मधुमेह र उच्च रक्तचापका बिरामी उनको हिजो बेलुकी पौने ९ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

प्रकाशित मिति : १६ भाद्र २०७७ मंगलबार ००:००  १२ : ४६ बजे